आज नेपालमा पहिलो पटक इन्टरनेट हड्ताल

आज अगस्ट १ तारिख नेपालमा पहिलो पटक इन्टरनेट हड्ताल हुँदैछ। विश्वका कतिपय मुलुकहरूमा यो सामान्य भएतापनि नेपालमा भने यो एउटा नयाँ र फरक पाइला हो। एकपटक अमेरिकामा एउटा कानुनको विरोध गर्न विभिन्न वेबसाइटहरू केही निश्चित समयका लागि वेबसाइट मालिकले नै हटाएका थिए। यसपछि उनीहरू सडकमा उर्लिए। नेपालमा भने पहिलो इन्ट्नेट हड्ताल नयाँ ढङ्गले हुँदैछ। सेभ नेपा भ्याली अभियानको नेतृत्वमा यो हड्ताल हुन लागेको हो ।

के हो यो इन्टरनेट हड्ताल ?
नेपालमा इन्टरनेट हड्ताल नयाँ कन्सेप्ट हो। हुन त अन्य देशहरूमा यो भैसकेको छ। तर अन्य देशहरूमा भन्दा फरक ढङ्गले नेपालमा हुन गैरहेको छ। यो कुनै वेबसाइट नै ह्याक गर्न खोजेको होइन तर आफ्नै व्यक्तिगत सामाजिक संजालको खाता मार्फत विभिन्न मुद्दाहरूलाई राष्ट्रिय स्तर र सम्बन्धित निकायको नजर बिन्दुमा ल्याउने प्रयास हो। यो खबरदारीको पनि प्रयास हो। यस अन्तर्गत फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा #SaveNepaValley ह्यासट्याग सहित समर्थकहरुले फोटो पोष्ट गर्नेछन् । यसबाट जनमानसमा कौतुहलता जगाउने र विभिन्न संचार माध्यम तथा विभिन्न निकायका व्यक्तिहरुको ध्यान आकर्षण गर्ने लक्ष्य लिइएको छ । यसको लगतै अगस्ट २ का दिन सेभ नेपा भ्याली बारे अझ विस्तृत विवरण पोष्ट गर्ने भनिएको छ ।

आयोजकहरुका अनुसार यी कारणले इन्टरनेट हड्ताल गर्नुपरेको हो
– एकदमै केन्द्रित विकास। हामी नेपालका अन्य क्षेत्रहरूमा पनि विकास पुगेको हेर्न चाहन्छौँ।
– विकासको नाममा विनाश। विकासको सही परिभाषा लागु गर्न आवश्यक छ। निर्माणका कार्यबाट हुने सकरात्मक र नकरात्मक प्रभावको अनुसन्धान नगरी नै निर्माण हुँदैछ। हामीले विकासलाई निर्माणका कार्य सँग मात्र जोडेर हुँदैन, तर दिगो विकास र मानवतामा सकरात्मक प्रभाव सँग पनि हेर्नुपर्छ।
– हाल भएकै बस्तीहरूमा धेरै समस्या छ। विकासका कार्यहरूमा यो प्राथमिकता हो, न कि थप बस्ती बढाउने। हालकै बस्तीहरूका व्यक्तिहरूको जीवन स्तर र आर्थिक उन्नतिमा सोच्नुपर्छ। बाटोका खाल्डा खुल्डी पुर्ने, पीच गर्ने, ट्राफिक व्यवस्थापन गर्ने, पैदल यात्रु मात्र क्षेत्र देखि आवश्यकता र स्थानको प्रकृति अनुसार सवारी साधनको व्यवस्थापन गर्ने। खानेपानी, स्वास्थ्य र रोजगारमा ध्यान दिने।
– वातावरण र प्रकृति मावन जीवनका लागि अत्यावश्क छ, तर हामी सबैलाई उपत्यकाको प्रदुषण स्थिति बारे अवगतै छ। यहाँको हावा, पानी र माटो हानिकारक मात्र होइन विषजन्य पनि भैसक्यो। वातावरण संरक्षण र स्वस्थ हावा पानी हुनुपर्छ। यसमा उर्वरा भूमीको संरक्षण, हरियालीको स्थापना समावेश हुन्छ।
– हामी सबैलाई उपत्यकाको उर्वरा भूमी शक्तिको बारे ज्ञान छ। यस्तो उर्वरा भूमी र अधिकांश कृषि पेशामा लागेका व्यक्ति भएको देशले अर्बौँ रूपियाँको खाद्यान्न आयात गर्छ। कुन भूमी खेतीको लागि हो कुन आवास क्षेत्रका लागि, कुन अस्पताल क्षेत्रका लागि आदि निश्चय गर्नुपर्छ। यो हाम्रो देशको खाद्यान्न साम्प्रभुत्व सँग सम्बन्धित छ। हाम्रो जमिनको सदुपयोग होस र “भू-उपयोग ऐन” बनाउन आवश्यक छ।
– रियल स्टेट र भूमाफियाहरू द्वारा निर्मित अव्यवस्थित र अनियन्त्रित रूपमा बढ्दै गएको नयाँ बस्तीहरू माथि अब देखि रोक लगाइनु पर्छ, जसका कारण उपत्यका अस्तव्यस्त र स्प्रल हुँदै छ। यो भन्दा देशका अन्य क्षेत्रमा शहर निर्माण तर्फ ध्यान दिनुपर्छ।
– यस उपत्यकाको पुरानो र प्राचिन सभ्यताको संरक्षण, संवर्दन र विकास हुनु आवश्यक छ। सम्पदा सँग सँगै सम्पदा बस्ती पनि संरक्षित हुनुपर्छ। इन्डिजिनस ज्ञानको प्रयोग हुनुपर्छ।
हामी बाहिरी चक्रपथ र स्याटलाइट सहरको निर्माणको विरोध गर्छौँ। हामीलाई सडक विस्तार र विस्थापनको आवश्यकता छैन। हामी द्रुतमार्गको अलाइन्मेन्टको विपक्षमा छौँ। स्प्रल र अव्यवस्थिततालाई बढाउने परियोजनाको विरोध गर्छौँ। हामी अहिलेको काठमाडौँका क्षेत्रहरूकै स्तरोन्नती गर्ने र अन्य देशका अन्य क्षेत्रमा नयाँ शहर बनाउने पक्षमा छौँ।

हड्ताल बारे अयोजकहरु के भन्छन् त? हेर्नुहोस् यो भिडियो -