दुर्घटनाग्रस्त हेलिकोप्टर जंगलको बीचमा, नवजात शिशुसहित ७ को मृत्यु

गोरखाबाट काठमाडौं उडेको फिस्टेल एअरको दुर्घटनाग्रस्त हेलिकोप्टर नुवाकोटको सदरमुकाम विदुरबाट ४० किलोमिटर पूर्व जंगलको बीचमा भेटिएको छ। दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार भएको दुर्घटनामा हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको नुवाकोटका डिएसपी ऋषिराम पौडेलले पुष्टि गरे।

दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जना एकै परिवारका हुन्। बिरामी नवजात शिशुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदै थियो। दुर्घटनामा क्याप्टेन रञ्जन लिम्बुसहित ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा गोरखाको सिर्दीवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनका ५ दिनको नवजात शिशुको मृत्यु भएको हो। यस्तै गोरखाकै उहिया गाविस खोर्लाकी लक्ष्मी गुरुङ र गैरसरकारी संस्था फेज नेपालमा कार्यरत निशा तामाङको मृत्यु भएको हो।

(तश्वीर: क्याप्टेन रञ्जन लिम्बु)