जातप्रथाको कहर, कारण र निराकरण

शिवराम सुलु

गत जेठ १० गते पश्चिम रुकुममा कथित सानो जातकोले कथित ठूलो जातकोसँग प्रेम गरेको नाममा नवराज बिकलगायत ६ जनाको निर्ममतापूर्वक हत्या गरियो । यसवाट जातप्रथा या वर्णवादी भेदभाव नेपाली समाजमा अझै अत्यन्तै गहिरो रुपमा गढेर बसेको प्रस्ट भयो । 'मल्ल ठकुरीको सम्धी बन्ने सपना छ ?', 'फेरी डुमहरु आए, त्यसलाई लखेट', 'यो दलितलाई अस्तिको चोटले पुगेन, आज नमारी छोड्दिन' जस्ता अभिव्यक्तिले घटनाको मूल कारण जातप्रथा नै भएको र अरु त केवल सहायक कारण मात्र भएको स्पष्ट छ । रुकुम हत्याकाण्डले एकातिर समाजमा विद्यमान जातिय भेदभाव र शोषणलाई उजागर गरेको छ भने अर्कोतिर उक्त घटनापछि प्रहरी, प्रशासन, शक्ति केन्द्र र मिडियाहरुको झुठा प्रचार र चलखेलले कमजोरलाई झन् थिच्नुपर्छ भन्ने मानसिकता मान्छेको मनमनमा डरलाग्दो किसिमले जकडी रहेको छर्लङ भएको छ ।

(१) जातप्रथा लगभग ३५०० वर्ष पुरानो
हामी सवै मानवजाति होमोसियापिन्सवाट आएको भए पनि वा हामी सवैको पूर्खा एउटै भए पनि समयको विकास सँगसँगै एक मानव समुदायले अर्कोलाई आक्रमण गर्ने र जित्नेले हार्नेलाई तल्लो दर्जाको ठान्ने या व्यवहार गर्ने चलन चल्यो । चेतनाको विकास सँगसंगै धर्म सँस्कृतिको पनि विकास भयो । धर्म सँस्कृतिको विकास राम्रै उद्देश्यका लागि भएको भए पनि पछि शासक वर्गले आफ्नो शासन टिकाई राख्न धर्म सँस्कृतिको पनि आफू अनुकुल व्याख्या र प्रयोग गर्न थाले । सुरुमा श्रम विभाजन भनिए पनि पछि वर्ण व्यवस्था आफै शोषणको आधार या हतियार बन्यो । जातप्रथा जन्मको आधारमा हुने र उल्लंघन गर्नै नपाइने बनाइयो । वर्ण व्यवस्था शोषणको व्यवस्था भयो ।
त्रेता युगमा रामले शुद्र भएर पनि तपस्या गरेको आरोपमा शम्बुक ॠषिलाई हत्या गरेको बाल्मिकी रामायणमा उल्लेख छ । लगभग ३५०० वर्ष पहिले अन्तिम चोटी लेखिएको भनिएको ॠग्वेदको १० औं मन्डल या परिच्छेदमा लेखियो- एउटा विराट पुरुषको मुखवाट ब्राह्मण, छातिवाट छेत्री, घुँडावाट वैश्य, र खुट्टावाट शुद्रको जन्म भयो । यसरी वाहुन सवभन्दा माथिल्लो र शुद्रहरु सवभन्दा तल्लो जात भनियो । वेदको कुरा भगवानको वचन झै प्रचार गरियो । उत्पीडक त जातप्रथाको पक्षमा लाग्ने नै भयो । उत्पीडितलाई पनि जातप्रथा साँच्चै नै पूर्व जन्मको फल पो हो कि, म तल्लो जात नै हो कि, शास्त्रको कुरा भगवान कै वचन हो कि, शास्त्रको कुरा उल्लंघन गरे पाप पो लाग्छ कि भन्ने भ्रममा पारी मानसिक र मनोवैज्ञानिक रुपमा समेत प्रभाव पारियो । धर्मको नाममा विचार, मनोविज्ञान, मानसिकता र सोच्ने तरिकामा समेत प्रभाव पारी शोषण गरियो । भगवान गौतम बुद्धले नि कथित तल्लो जातको केटीको हातवाट पानी खाएकोले समाजमा विरोध भएको भनी जातकमा उल्लेख छ । जातप्रथा र भेदभाव धेरै पुरानो भएकोले यसलाई हटाउन केही समय लाग्न सक्ने देखिन्छ ।

(२) जातप्रथाले श्रोत, साधन, शक्ति र इज्जत कथित माथिल्लो जातमा संकेन्दृत : उत्पीडक र उत्पीडित जातको जन्म
जातप्रथाले गर्दा ब्राह्मणले आरक्षण पायो, पढ्ने आरक्षण । वेद पढ्ने, पुराण पढ्ने । शिक्षा-दिक्षा लिने –दिने, शासन प्रशासनमा निर्देशन दिने र मान्छेलाई स्वर्ग पुर्याइ दिने सम्मको अधिकार ब्राह्मणले पाए । हिन्दू धर्ममा एक ॠषिले इच्छावाकु राजालाई जिउँदै स्वर्ग पठाएको समेत उल्लेख छ ! ब्राह्मण वाहेक जातकाको जति तीक्ष्ण वुद्धि, विवेक, स्मरण शक्ति भए पनि पढ्न र शिक्षा- दिक्षा लिन-दिनवाट उ बन्चित भयो । त्यस्तै छेत्रीले राजकाज चलाउने, वैश्यले बन्द व्यापार गर्ने र शुद्रले प्राविधिक र सेवाको काम गर्नु पर्ने भयो । श्रोत, साधन, इज्जत र पहुँच हुने काम जति कथित माथिल्लो जातले र दु:ख - पीडा हुने, पैसा नहुने, इज्जत नहुने काम जति कथित तल्लो जातले गर्नेपर्ने व्यवस्था भयो । कथित माथिल्लो जात उत्पीडक र कथित तल्लो जात उत्पीडित बन्यो ।

(२) जातप्रथा वर्गीय समस्या मात्र होइन बरु सामाजिक - साँस्कृतिक समस्या
कतिपय मानिसहरु जातप्रथा अनुसार कथित तल्लो जातलाई भेदभाव गर्नुको कारण तिनीहरु गरीब भएकोले मात्र हो भन्ठान्छन् । या यसलाई वर्गीय समस्या मात्र हो भन्ठान्छन् । उत्पीडित जातकाहरु आर्थिक हिसावले पनि उत्पीडित नै छन् । तर कुरा यती मात्र होइन । यो वर्गीय समस्या मात्र भएको भए, सार्की भोजनालय वा परियार खाजा घर अहिलेसम्म किन खुल्न सकेन? क्वारेन्टाइनमा बसेको बाहुनले दलितले पकाएको खाना खान परे मर्छु भन्नु वर्गीय समस्या भएर भनेको होइन । गरिवै भए पनि बाहुनले पकाएको खान्न त कसैले भन्दैन । जेष्ठ पाको दलितले नि भर्खरको ठिटो बाहुनलाई नमस्ते जधौ गरी मान सम्मान गरेको गाउँ ठाउँमा देख्न पाइन्छ । त्यसैले यो समाजिक र सांस्कृतिक समस्या हो । जातप्रथाको शोषण छुटै प्रकारको शोषण हो ।

(३) जातप्रथाले गर्दा कथित माथिल्लो जात विना प्रतिस्पर्धा विजयी : कथित तल्लो जातलाई प्रतिस्पर्धामा प्रवेश निषेध
जातप्रथा कथित ठूलो या माथिल्लो जात को ठूलो बेइमानी हो- विना प्रतिस्पर्धा आफ्नो सन्तानले श्रोत-साधन हात पार्ने, पैसा, शक्ति र इज्जत हुने काममा अरुलाई प्रवेश निषेध गर्ने । जस्तै कुनै गाउँमा १० लाख मानिस बस्छन् । ती मध्य १ लाख बाहुन, २ लाख छेत्री, ५ लाख वैश्य, २ लाख शुद्र छन् भने शिक्षा-दिक्षा लिने दिने, इज्जतदार, श्रोत साधनमा पहुँच हुने काम ती बाहुन १ लाखले बाहेक अरुले गर्नै पाउँदैन, त्यसमा भागै लिन पाउँदैन । ९ लाख त प्रतिस्पर्धैवाट पहिले नै बाहिरी सक्यो । यसरी जातप्रथाले कथित माथिल्लो जातले विना प्रतिस्पर्धा श्रोत साधन हात पार्यो । वास्तवमा बाहुन वाहेकलाई प्रतिस्पर्धावाट बाहिर राख्नु भनेको बहुसंख्यक जनतालाई विकासको मूल धारवाट वाहिर राख्नु हो । बहुसंख्यक जनतालाई विकासको मूलधारवाट वाहिर पार्दा समाज र देश नै पछाडी पर्‍यो ।

(४) समाज विकासमा अवरोधक भयो जातप्रथा
एउटा शुद्रको छोरा अति तीक्ष्ण बुद्धि, विवेक, स्मरण शक्ति भएको भए पनि उसले पढ्न पाउँदैन, शिक्षा –दिक्षा लिन दिन पाउँदैन भने त्यो प्रतिभा खेर गयो । उसको क्षमताले समाजको सेवा गर्न पाएन । त्यस्तै कोही बाहुनको छोराछोरीको स्वर मिठो छ, संगितमा रुची छ भने नि उसले गाउन पाएन । अहिले जस्तो हजारौं अन्जु पन्त, नबिन भट्टराईहरुको प्रतिभा गर्भमै टुहियो जातप्रथाले गर्दा । त्यसैले जातप्रथाले समाज विकासमा अवरोध पुर्यायो । यसले व्यक्ति या समुदायलाई मात्र पछाडी पारेन अपितु समाज र देशलाई नै पछाडी पार्यो । त्यसैले जातप्रथा समाज विकासमा अवरोधक सिद्ध भयो ।

(५) वर्ण आफै सत्ताको स्वरुप
वर्ण आफै सत्ताको स्वरुप हो । वाहुन आफैमा सत्ता हो । वाहुन भन्ने वित्तिकै मान-सम्मान, इज्जत हुन्छ जवकी दलित भन्ने बितिकै हेयको दृस्टिले हेरिन्छ । बजारमा शर्मा भोजनालय हुनु तर अहिलेसम्म सार्की भोजनालय वा परियार खाजाघर नहुनुमा यही वर्णको सत्ताले काम गरेको छ । दलितको पानी पनि चल्दैन भनी हेप्ने चलन छ । दलित भएकै कारण कोठा नपाउने र हेपिने धेरै घटना छ । वर्ण व्यवस्थाको यो धार्मिक या इज्जतको सत्ताले हो, वाहुनलाई काम पाउन, काम गराउन, या व्यापर गर्न सजिलो भएको । सदियौं देखिको राज्यको ब्रह्मलुट मच्चाउने पनि कथित माथिल्लो जात नै हो । यी सवै हिसावले कथित माथिल्लो वर्ण आफै इज्जत र अर्थको सत्ता वनेको छ ।

(६) वर्ण भनेको जमेको वर्ग
वर्ग र वर्णवीच अन्योन्याशृत सम्बन्ध छ, केही अपवादलाई छोडेर । सामान्तवादमा वर्ण भनेको जमेको वर्ग बनाइयो । उत्पीडक जातले धन, इज्जत, पहुँच हुने काम गर्ने र उत्पीडित जातले त्यो गर्नै नपाइने भएपछि उत्पीडित वर्ण उत्पीडित वर्गमा परिणत भयो । पूँजिवादमा भए गरीबले पनि मेहनत गरेर धनी हुने झिनो भएनी आशा रहन्छ । तर सामन्ती वर्ण व्यवस्थामा एक वर्णको काम अर्कोले गर्न पाइँदैन । अनि उत्पीडक जात सधं माथिको माथि । उत्पीडित जात त सधैं पिँधको पिँधमै भयो ।

(७) व्यक्तिगत जीवन रेखा र समाजको जीवन रेखा फरक
व्यक्तिगत मेहनतले या कसैको सहयोगले व्यक्तिगत रुपमा सफल भई भेदभावमा केही कमी भए जस्तो हुनु र पूरै समाजमा भेदभाव अन्त्य हुनु फरक कुरा हो । व्यक्तिको आफ्नै जीवन रेखा भए जस्तै समाजको पनि आफ्नै जीवन रेखा हुन्छ । समाजमा सबै वरावर भन्ने चेतनाले काम गरे पछि मात्र सामाजिक जीवनमा परिवर्तन आउन्छ । ३५०० वर्ष पुरानो चलन एकै छिनमा मेटाउन गार्हो हुन्छ । त्यसैले केही व्यक्तिको मनोगत चाहनाले वस्तुगत अवस्था परिवर्तन हुन्न । यसका लागि त अतुत संघर्ष चाहिन्छ ।

(८) टोकनाइजेसनको विरोध गरौं :
कतिपय मानिसहरु केही धनी या पहुँचवाला दलितलाई देखाएर अब सबै वरावर भैसके भन्छन् । तर यो सही होइन । कोही नेपालीको नाम फोब्स पत्रीकामा अरवपतिको सूचिमा आयो भन्दैमा सबै नेपाली अरबपती हुन्न । कोही महिला राष्ट्रपती हुँदैमा सबै महिलाले अधिकार पाएको हुँदैन । केही व्यक्ती सम्पन्न हुनु र पुरै समुदायले अधिकार पाउनु गुणात्मक रुपमा फरक हो । त्यसैले मुठिभरलाई देखाएर सवै वरावर भन्ने टोकनाइजेसनको विरोध गरौं ।

(९) उत्पीडित वर्ण नै उत्पीडित वर्ग
उत्पीडित वर्ण वा जात उत्पीडित वर्ग पनि हो भन्ने कुरा सरकारी तथ्यांकले पनि प्रस्ट पारेको छ । सरकारी तथ्यांक अनुसारै पनि लगभग बाहुन ३४%, छेत्री ४५% जनजाती ६०% दलित ७०% गरीब देखिन्छ । वर्ण व्यवस्था र सामन्ती सत्ताको दुरुपयोगवाट फाइदा लिने र विर्ता पाउने उत्पीडिक वर्ण गरिव हुन्न । गरिव हुने भनेको त वर्ण व्यवस्थाको उत्पीडित वर्ण त हुन् नि ।

(१०) ढोंगी समाज
विहे गर्न जात, धर्म, थर, गोत्र सब हेर्छन् अनि फेरि भनिन्छ जोडी त भगवानले स्वर्गमै बनाएको हुन्छ । भनाइ एक थोक गराइ अर्को थोक । यसको अर्थ हो समाज ढोंगी छ । भनाइ र गराइमा आकाश जमिन फरक हुनु नै ढोंगी हो । मुखले वर्ण केही होइन भन्नेहरु नै व्यवहारले वर्णवादी भइदिनाले नै वर्ण व्यवस्था र भेदभाव अन्त नभएको हो ।

(११) धर्मशास्त्र वा कानुनमा भेदभाव छ कि छैन भन्दा नि व्यवहारमा के छ त्यो महत्वपूर्ण
कोही कोही मानिसहरु धर्म वा कानुनमा जातको आधारमा भेदभाव गर्न लेखिएको छैन भन्छन् । हुन त रामायण मात्र पनि ३०० भन्दा बढी किसिमको छ, कुनलाई सही मान्ने! समस्या त्यसमा पनि छ । कानुनमा पनि कहिले जातको आधारमै सजाय हुन्थ्यो त अहिले विभेद गर्न पाइन्न लेखिएको छ । तर त्यो भन्दा नि महत्वपूर्ण कुरा समाज वा व्यवहारमा भेदभाव छ कि छैन भन्ने हो । व्यवहारमा भेदभाव छ भने अरु सवै हवाला वेकार हुन् ।

(१२) सामन्ती सोच: सब भन्दा उत्पीडित जातले पनि सोच्छ मैले कसलाई थिच्ने होला!
मानिसमा सामन्ती सोच हावी हुनाले पनि जातप्रथा अन्त नभएको हो । मानिसमा अरुलाई हेप्ने प्रवृती हावी छ । सत्य होइन शक्तिको पछि लाग्ने बानी छ, दलित होस य नहोस । उत्पीडकले त अरुलाई थिच्ने भैहाल्यो, सबभन्दा उत्पीडनमा पारिएको दलितले पनि भन्छ- मैले कसलाई थिच्ने होला । सब भन्दा तल्ल पारिएकोले पनि उत्पीडनको विरोध गर्नु को सट्टा मैले कसलाई उत्पीडन गर्ने होला भनेर सोच्छ भने भेदभाव कसरी अन्त्य हुन्छ? सामन्ती सोचले पनि जातप्रथा वलियो भएको हो ।

(१३) सम्पन्नता खोज्नु नै असमानता
सम्पन्न भए दलित भए नि हुन्छ भन्नु नै समानताको प्रतीक झै कुरा गर्नेहरु नि छन् । अरु सवै हुन्छ, तर दलित त हुन्न भन्नु भन्दा यो प्रगतिशील त हो । तर समानता चाही होइन । दलित भएको नकरात्मकताको क्षतिपूर्ती स्वरुप सम्पन्नता खोजेको न हो । उही शिक्षा, उही अवस्था, उही पहुँचको दलित र वाहुन वरावर नभएसम्म समानता कसरी हुन्छ र !

(१४) जातप्रथाको दुर्गुण : श्रमप्रति हेय भाव र समाजको अवनति
दलितहरुको पेशा प्राविधिक र सेवाको पेशा हो । दलितहरु अत्यन्तै मेहनती श्रमजीवी र बुद्धिजीवी दुवै हुन् । तर दलितलाई नै हेपिन्छ । यसको अर्थ हो जातप्रथामा श्रमप्रति श्रद्दा भाव छैन । विकसित देशहरु विकास हुनुको मुख्य कारण भनेकै श्रमप्रतिको श्रद्दा भाव भएर हो । तर जातप्रथा भएको समाजमा यसको उल्टो भयो र समाजको पनि अवनती भयो ।

(१५)विदेशीप्रति दास मनोवृती र नेपालीप्रति नै हेपाहा प्रवृति
हिन्दू नै भए नि दलित नहुने तर विदेशी भए जात, धर्म, सँस्कृती केही नमिले पनि, गाई खाने नै भए नि हुने । यस्तो छ हाम्रो समाज । यसैले जातप्रथा दास मनोवृती र हेपाहा प्रवृति हो ।

(१६) वाहुनवाद भनेको प्रवृति हो जो उत्पीडक वाहुनहरुले स्थापित गरे
वाहुनवाद भनेको वाहुन जात होइन कि वरु सबैलाई समान अधिकार दिनु हुन्न भन्ने, कमजोरलाई थिच्ने, शक्तिको भक्ती गर्ने, अरुलाई हेप्ने, शोषण, अन्याय, अत्याचार गर्ने, आफ्नो विकास गर्न अरुलाई मार्नै पर्छ भन्ने सोच राख्ने सामन्ती संस्कार या प्रवृति हो । यस्तो प्रवृति शास्त्र लेखनदेखि नै वाहुनमा हावी भएकोले वाहुनवाद भनिएको हो । प्रवृति अनुसार कोही जनजाती भएर नि वाहुनवादी हुन सक्छ । कोही वाहुन भएर पनि वाहुनवादी नहुन सक्छ ।
सवै आफ्नो अधीनमा हुनुपर्छ भन्नु पनि वाहुनवाद हो । वर्ण व्यवस्था अनुसार सर्वेसर्वा वाहुन हुन्छ । गोपाल गुरुङ भन्छन्- धर्मशास्त्रअनुसार सँसार देउटाको अधीनमा हुन्छ । देउटा पनि मन्त्रको अधीनमा हुन्छ । अनि मन्त्र वाहुनको अधीनमा छ । भने पछि सँसार वाहुनको नियन्त्रणमा छ भन्न खोजिएको हो । सबै आफ्नो अधीनमा छ वा हुनुपर्छ भन्नु पनि वाहुनवाद हो ।

(१७) भ्रमको खेती
उत्पीडितलाई पनि जातप्रथा साँच्चै नै पूर्व जन्मको फल पो हो कि, म तल्लो जात नै हो कि, शास्त्रको कुरा भगवान कै वचन हो कि, शास्त्रको कुरा उल्लंघन गरे पाप पो लाग्छ कि भन्ने भ्रममा पारी मानसिक र मनोवैज्ञानिक रुपमा समेत प्रभाव पारेर जातप्रथा चलाएको देखिन्छ । धर्मको नाममा विचार, मनोविज्ञान, मानसिकता र सोच्ने तरिकामा समेत प्रभाव पारी भ्रमको खेती मार्फत जातप्रथा लागू गरिएको हो ।

(१८) कोही कसै सँग वरावर होइन, कि त सानो कि त ठूलो हुने गलत अवधारणा जातप्रथा

जातप्रथाले कोही मानिस अरु कोही मानिससँग वरावर होइन कि कि त ठूलो कि त सानो हुने मनो विज्ञान पैदा गर्‍यो । यो सामन्ती विचार हो ।

(१९) पुरानो सबै राम्रो र नयाँ सबै नराम्रो हुन्न
नेपालको संविधान नै पुरातन धर्म सँस्कृती बचाउने भनेको छ । यसको अर्थ पुरानो विभेदकारी चलन पनि बचाउने भन्ने हुन्न । पुरानो सबै राम्रो हुन्न नयाँ सबै नराम्रो हुन्न । मुख्य कुरा भेदभाव हुनु भएन । समानता हुनु पर्यो ।

(२०) धर्मसँस्कृती भनेको त्यो वेलाको उच्चतम चेतना होला तर अहिले हिसावले पिछडिएको चेतना नि हुनसक्छ
राम्रै उद्देश्यले लेखिएको भए पनि धर्मसँस्कृती भनेको तत्कालिन समयको उच्चतम चेतना हो । तर अहिले ज्ञान विज्ञानको नवीनतम खोज र आविस्कारले त्यो वेलाको उच्चतम चेतना अहिलेको हिसावले पिछडिएको चेतना नि हुनसक्छ । त्यसैले पुरानो सबै सही हुन्न ।

(२१) गलत सोच हटाउनुका साथै दलित वा उत्पीडित जातलाई आर्थिक रुपमा समृद्द वनाउनु पर्छ
दलित समस्या वा जातप्रथाको समस्यामा आर्थिक, समाजिक, धार्मिक साँस्कृतिक, वैचारिक, मनोवैज्ञानीक प्रभाव समेत छ । यसमा मुख्यत: दुइटा कुरा पुरातन सोच र आर्थिक पक्षले काम गरेको छ । त्यसैले पुरानो भेदभावपूर्ण, गलत र अवैज्ञानिक सोच हटाउनुका साथै दलित वा उत्पीडित जातलाई आर्थिक रुपमा समृद्द वनाउनु पर्छ ।
दलित भनेको पूर्व जन्मको फल, अयोग्यता र फोहरका कारण भएको होइन । पूर्व जन्म र पुनर्जन्म कुनै प्रमाणिक र वैज्ञानिक छैन । जातप्रथा मानिसले कल्पना मात्र हो, भगवानले बनाएको होइन । दलितहरु अयोग्य होइन प्राविधिक र शिल्पी हुन् । असलमा दलितहरु श्रमजिवी र बुद्धिजिवी दुवै हुन् । किनभने दलितहरु प्राविधिक, शिल्पी र सेवामूलक काम गर्छन् । राज्य संचालनमा त सदियौंदेखि अवसरवाट बन्चित गरेकोले मात्र पछाडि परेको हो । कथित माथिल्लो जातले योग्यताले नै देश चलाएको भए मल्ल कालमा युरोप जतिकै विकसित देश आज विश्वकै गरिव देश बन्ने थिएन ।

पुराना गलत विचार र व्यवहार हटाउन राजनीतिक नेतृत्व र समाजिक अभियन्ता मनै देखी नै लाग्नु पर्छ । मानिसलाई स्वार्थी बनाउने को नबनाउने जिम्मा नेताको हो । समाजको लागी ज्यान दिने मानिस तयार गर्न सक्ने राजनितिक नेतृत्वले समाजको विभेद हटाउन नसक्ने होइन तर चाहना हुनु पर्‍यो । आफु पनि पुरानो विचारवाट मुक्त हुनु पर्‍यो ।
कानुन बनाएर मात्र हुन्न कार्यन्वयन पनि हुनु पर्छ । कार्यान्वयन गर्ने काम समाजको हो । वैचारिक शक्ति भौतिक शक्तिमा रुपान्तरण गर्ने काम समाजको हो ।
सामन्ती सोच, शक्तिको भक्ति गर्ने दास मनोवृती नभत्काएसम्म दलित मुक्ति सम्भव छैन । यस निम्ति दलित हरुलाई आर्थिक हैसियत, व्यक्तित्व विकासमा अवसरको व्यवस्था, इतिहासको क्षतिपूर्ती सहित भेदभावको अन्त्य, जस्तो समाज त्यस्तै सत्ताको बनोटले मात्र समस्याको हल गर्न सक्छ ।

राज्यका महत्वपूर्ण अंगहरु न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र निकायहरु पुलिस, प्र्शासन, अड्डा अदालतमा समानुपातिक प्रतिनिधित्व नभएसम्म बिभेद अन्त हुन गाह्रो छ । किनभने सत्तामा निश्चित जातको मात्र हालिमुहाली भयो भने हरेक काम कार्वाही एक पक्षीय हुनु स्वभाविक हो । र शक्तिको आडमा नै भेदभाव गर्न उत्साहित भैरहने स्वत: स्पस्ट छ । त्यसैले समाज जस्तो छ, सत्ताको बनोट पनि त्यस्तै हुनुपर्छ । जुत्ता लाउनेलाई मात्र थाहा हुन्छ कहाँ नेर दुख्छ भने जस्तै उत्पीडितलाई मात्र उत्पीडन कहाँ र कसरी हुन्छ थाहा हुन्छ । त्यसैले जातप्रथाको भेदभाव र शोषण अन्त गर्न उत्पीडितलाई नै अधिकार दिनुपर्छ ।