जेष्ठ नागरिकहरूको स्वास्थ्य स्थितिका बारेमा सङ्कलित तथ्याङ्क प्रस्तुत

कीर्तिपुर नगरपालिका वडा नंं ३ का जेष्ठ नागरिकहरूको स्वास्थ्य स्थितिको बारेमा सङ्कलित तथ्याङ्क शुक्रबार एक कार्यक्रम गरी प्रस्तुत गरिएको छ ।

मनमोहन मेमोरियल ईन्ष्टिच्यूट अफ हेल्थ साइन्स, सोल्टीमोडमा स्नातकोत्तर (मास्टर्स इन नर्सिङ, एम.एन.)प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो पाठ्यक्रममा समावेश भएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको हो । करीब चारसय जेष्ठ नागरिकहरू भएको यस वडामा जम्मा १०० जना जेष्ठ नागरिकहरूको घरघरमा पुगी तथ्याङ्क सङ्लकन गरिएको थियो । यही माघ ३ गतेदेखि सङ्कलित तथ्याङ्कलाई हितिगाःस्थित शहीद कीर्ति भवन (भ्वयछेँ) मा सो तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

तथ्याङ्क प्रस्तुत गर्दै विद्यार्थी गीता श्रेष्ठले समग्र कीर्तिपुरका साथै वडा नं.३ को जेष्ठ नागरिकहरूको सामान्य जीवनशैलीका साथै भौगोलिक, साँस्कृतिक, ऐतिहासिकता बारे प्रस्ट्याउनु भएको थियो भने विद्यार्थी रविना प्रजापतिले वैवाहिक जीवन, स्वास्थ्य व्यवहार र मेडिकल तथा शल्यक्रिया सम्बन्धी जानकारी गराउनु भएको थियो । त्यस्तै अर्का विद्यार्थी सरिता श्रेष्ठले पौष्टिक आहार, बाटोमा लड्न सक्ने सम्भावना र मानसिक स्वास्थ्यको बारेमा सङ्कलित तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी विद्या खनालले जेष्ठ नागरिकको प्रमुख स्वास्थ्य समस्या र त्यसको निराकरणका लागि तथ्याङ्क सङ्कलनकै दौरानमा गरेको जनचेतनामुलक कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा नं. ३ स्थित पालिफल स्वास्थ्य चौकीका ईन्चार्ज युवराज आचार्यले प्रस्तुत तथ्याङ्क सही नै आएको र यस तथ्याङ्क सङ्कलन गर्न आफूले पनि सहयोग गरेको उल्लेख गर्नुहुँदै राम्रो तथ्याङ्क सङ्कलन गरेकोमा विद्यार्थीहरूलाई धन्यवाद् दिनुभयो । जेष्ठ नागरिकहरू आफ्नो स्वास्थ्य चौकीमा आई सेवा लिइरहको र आवश्यकतानुसार आफूले पनि सेवा दिइरहको बताउनुहुँदै ईन्चार्ज आचार्यले स्वास्थ्य क्षेत्रको कुनै पनि काम गर्न सहयोग र सहकार्य गर्न सधैं तयार रहेको बताउनुभयो ।

वडा नं. ३ का सल्लाहकार रोशन महर्जनले जेष्ठ नागरिकहरूको सम्मानमा पहिले आफ्नो संस्थाले सम्मान कार्यक्रम गरेको स्मरण गर्नुहँदै त्यसैको अनुसरण गर्दै कीर्तिपुर नगरका सबैजसो वडाहरूले जेष्ठ नागरिकहरूको सम्मानमा देश दर्शन कार्यक्रमअन्तर्गत विभिन्न धार्मिक तथा साँस्कृतिक स्थलहरूमा भ्रमण गराउँदै आइरहेको बताउनुभयो । जेष्ठ नागरिकहरूका साथै समग्र स्वास्थ्यसँग सम्बन्धित कुनै पनि काम गर्न वडा कार्यालय इच्छुक रहेको र त्यसका लागि मनमोहन मेमोरियल ईन्ष्टिच्यूट अफ हेल्थ साईन्ससँग सहकार्य गरी निरन्तर काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष सुविन्द्र महर्जनले जेष्ठ नागरिकहरूको स्वास्थ्य स्थितिका बारेमा वडा नं. ३ लाई छनौट गरेकोमा ईन्ष्टिच्यूटलाई धन्यवाद दिनुहुँदै सकेसम्म वडाका सम्पूर्ण जेष्ठ नागरिकहरूकै स्वास्थ्य स्थितिको बारेमा तथ्याङ्क लिन समेत अनुरोध गर्नुभयो । अध्यक्ष महर्जनले जेष्ठ नागरिकहरूका लागि विभिन्न स्थानमा खोलिने वृद्धाश्रमको विरोध गर्नुहुँदै जेष्ठ नागरिकहरूलाई वृद्धाश्रममा होइन, परिवारमै सम्मानका साथ राखिनु पर्ने बताउनुभयो । अध्यक्ष महर्जनले समाजमा आमाबुबाहरू फलानो छोरासँग बसिरहेको भन्ने चलनलाई हटाई आमाबुबासँग फलानो छोरा बसिरहेको भन्ने अवस्था बनाउनु पर्ने औल्याउनुभयो । सम्पत्तिकै लागि अझ नेपाल सरकारले दिइरहेको जेष्ठ नागरिक भत्ता प्राप्तिकै लागि करबलले आमाबुबा पाल्नु पर्ने जस्तो देखिरहेको समाजलाई रुपान्तरण गरी आमाबुबालाई सम्मानका साथ राख्नुपर्ने तर्फ चेतना जगाउनु पर्ने बताउनुभयो । ईन्टिच्यूटसँग आगामी दिनहरूमा पनि विभिन्न तवरले सहकार्य गर्न आवश्यक रहेको र वडाको तर्फबाट पनि सकेको सहयोग गरी विभिन्न कार्यक्रमहरू गर्ने वडा अध्यक्ष महर्जनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ईन्ष्टिच्यूटका को–अर्डिनेटर तथा भूतपूर्व सहायक डिन प्रो. मन्दिरा वन्तले कीर्तिपुर नगरपालिका वडा नंं ३ का जेष्ठ नागरिकहरूको स्वास्थ्य स्थितिका बारेमा तथ्याङ्क सङ्कलन गर्न आफै पनि आएको अनुभव सुनाउनुहुँदै जेष्ठ नागरिकहरू स्फूर्त र चलायनमा भैरहेकोले आफू प्रभावित भएको बताउनुभयो । आफ्ना विद्यार्थीहरूले निकै मिहेनत गरेको पाइएको र थप जेष्ठ नागरिकहरूको स्वास्थ्यको बारेमा सहयोग गर्न पनि निर्देशन दिनुहुँदै वडाले गरेको सहयोग प्रति पनि हार्दिक धन्यवाद् दिनुभयो । त्यस्तै ईन्ष्टिच्यूटका नर्सिङ विभाग प्रमुख विनु विष्टले वडाको सहयोग प्रति आभारी प्रकट गर्नुहुँदै ईन्ष्टिच्यूटका अर्काे विद्यार्थी समूहहरूलाई स्थलगत अध्ययनका लागि यसै वडामा ल्याउने बताउनुभयो साथै यस वडाका कुनै पनि व्यक्ति विरामी वा स्वास्थ्यसँग सम्बन्धित अन्य केही गर्नु परेमा ईन्ष्टिच्यूटसँग आबद्ध मनमोहन हस्पिटलसँग पनि सहकार्य गर्न सकिने बताउनुभयो ।

तथ्याङ्क प्रस्तुत कार्यक्रममा वडा नंं ३ का सम्पूर्ण जनप्रतिनिधिहरू र स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो । विद्यार्थी अनिता सुवेदी अर्यालले धन्यवाद् दिनुभएको थियो भने विद्यार्थी पविता राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।