केको शुभकामना ?

- तीर्थराज जाेशी
नाम मात्रै सबथोक हुनेभए
गरिब धनकुमारलाई
पैसाको अभावले पिरोल्ने थिएन
निरक्षर ज्ञानबहादुर
अशिक्षितको नामावलीमा पर्ने थिएन
नामैमात्र चाहिने भए
फूललाई पात,पातलाई फूल
ढुङ्गालाई हिरा हिरालाई ढुङ्गा भने हुन्छ
राणातन्त्र फालियो
पञ्चायत बालियो
गणतन्त्र भन्दै
नयाँ युगको यात्रा थालियो
तर
भ्रष्ट,निर्लज्ज,नराधमहरुले
पापी,नीच र देशद्रोहीहरुले
सत्ताको लगाम हातमा लिए
झोले,झुन्ड र गुन्डाको साथ लिए
यसलाई के तन्त्र भनौँ ?
भारी बोक्न नपाएर
पेट छाम्दै हिँडेका बिर्खे काइँलाहरुलाई
अस्पतालमा अक्सिजन नपाएर
छटपटाइरहेका बिरामीहरुलाई
डन,गुन्डाहरुबाट पिटिने स्वास्थ्यकर्मीलाई
बलात्कृत भएर न्याय माग्न
अदालतको ढोका चहार्दाचहार्दै
लखतरान परेका अनुहारहरुलाई
कुन तन्त्रको शुभकामना दिऊँ ?