मुर्दा को मूल्य कति? (कविता)

केशव दाहाल
बाबू,
जब म थलिन्छु
हठात लैजानु
अनकन्टार गुफाभित्र
जहाँ कुनै दिन कोरि बस्थे
थाहा नदिइ हावालाइ
पत्तो नदिइ कौवा गिद्ध लाई
नत्र उठाउनेछन कर
म थला परेको सट्टा।।
जब म ढल्नेछु गर्ल्याम्म
त्यो आवाज कसरी हुन्छ दबाउनु
कसैको कान नढकढक्याओस
ता कि आखाको समाहा नचलोस
अनि दबियोस आवाज भित्र भित्रै
सुँक्क पनि नगर्नु
फेरि तिमी रोएको कर उठाउन
कारिन्दाहरु तछाडमछाड गर्छन
कोहि भन्लान आधा घन्टा रोयो
कोहि भन्लान एक दिन
अनि १५ मिनेटको कबुल गराइ
बिल पेसलान एक दिनको।।
सबै पोल थोपरी
म छटपटाएको
फुस्रा आखामा चिप्रा बसेको
म ननिदाएको सबै सबै
तिमिसग असुल्नेछन।।
अनि बाबू,धर्तिको
कुन खास्टोले ढाक्छौ मेरो शरीर?
कोहि छिमेक सङ्गी नबोलाइ
कहाँ गर्छौ क्रीयाकर्म?
तिमी भोकै बसेको
कोरा पसेको
सबै सबै असुल्नेछन
आजिबन रिणको भारी बोकाइ
पुच्छर निमोठिरहनेछ तिम्रो
त्यसैले भो बाबू,
अब म मर्दिन
म मर्दै मर्दिन।।।