Miss Newa 1141 Training

नेवार संस्कृतिसँग नजिकिंदै मिस नेवाःका प्रतियोगीहरु

यस वर्षको मिस नेवाः प्रतियोगिता यही फागुन ७ गते सम्पन्न हुँदैछ । नेवार समुदायको कला, संस्कृति र भाषालाई जीवन्त राख्ने उद्देश्यले नेप्लीज फेसन होमले गत १५ वर्षदेखि आयोजना गर्दै आइ रहेको यो प्रतियोगिताका प्रतियोगीहरु अहिले नेवार संस्कृतिसँग नजिकिने अवसर पाएका छन् ।

प्रतियोगिहरुलाई हाल नेवार भाषा र संस्कृतिको प्रशिक्षण भइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले संचार नेपाललाई जानकारी गराइन् । फेसन होमको कार्यालय डिल्ली बजारमा अहिले दैनिक रुपमा भाषा, संस्कृति र ब्यूटि प्याजेन्ट सम्बन्धी तालिम भइरहेको छ र यस तालिमलाई निरन्तरता दिंदै छन् कोरियोग्राफर रोजेन श्रेष्ठ र मिस नेवाः २०११ सुनिता डंगोलले । नेपालभाषा र रञ्जना लिपि सम्बन्धी विभिन्न कार्यक्रमहरुमा अगुवाइ गरीरहेकी सुनिता डंगोलकै नेतृत्वमा मिस केही समय अघि नेवाःका प्रतियोगिताहरुलाई रञ्जना लिपि सम्बन्धी तालिम पनि दिइएको थियो ।

Miss Newa

यसै क्रममा प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै काठमाडौंको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रवार महाँकाल मन्दिरमा लाख बत्ती बालेका हुन् ।

यस वर्षको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी प्रतिस्पर्धारत छन् ।