चलचित्र कलाकार संघले दिए एक लाख एक हजार सहयोग

नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार सङ्घले एक लाख एक हजार रूपैया प्रदान गर्ने निर्णय गरेको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक वक्तव्य जारी गर्दै यस कुराको जानकारी गराएका हुन् ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष श्री रबिन्द्र खड्काज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई एक लाख एक हजार रुपैया प्रदान गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ । देशमा आई परेको हरेक विषम परिस्थितिमा नेपाल चलचित्र कलाकार सङ्घ देश र जनताका लागि विगतमा पनि योगदान र सहयोग गर्दै आईरहेकोछ, वर्तमान अवस्थामा पनि सहयोगी भूमिका निर्वाह गर्नु सङ्घको धर्म एवं कर्तव्य हुन आउँछ, वक्तव्यमा भनिएको छ ।

लकडाउनको अवधिमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाइ दिदीबहिनीहरू का साथै श्रमिक चलचित्र कर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा संघले सम्बन्धित निकायको ध्यान आकर्षण समेत गरेको छ ।