प्रहरीमा उजुरी परेपछि "रातो आर्य रेणु"ले परिचय बदले

सामाजिक सञ्जाल ट्विटरमा रातो आर्य रेणु नाम राखी नेवार समुदायमाथि जथाभावी अभिव्यक्ति दिने व्यक्तिमाथि प्रहरीमा उजुरी परेपछि त्यस छद्म व्यक्तिले ट्विटरमा आफ्नो परिचय बदलेका छन् । पहिले रातो आर्य रेणु नाम र आइडी @RedRenu राखी ट्विट गर्ने यी व्यक्तिले अहिले नाम बदलेर सावित्री बस्नेत र आइडी @Re9nu बनाएका हुन् । यसको साथै उक्त व्यक्तिले आफ्नो प्रोफाइल फोटो र कभर फोटो पनि बदलेका छन् ।

नेवार समुदायमाथि असहिष्णु र सामाजिक सद्भाव भड्कने खालका ट्विट गरिरहने यी व्यक्तिलाई कारबाहीको माग गर्दै शुक्रवार नेवार संगठनका प्रतिनिधिमण्डलले महानगरीय अपराध महाशाखा प्रमुखलाई निवेदन दिएको थियो । निवेदनमा उक्त व्यक्तिलाई साइबर अपराधअन्तर्गत कडा कारबाही गरी सामाजिक सद्भाव कायम गराउन पनि अनुरोध गरिएको थियो । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, ज्यापु महागुथि र्कीितपुरका अध्यक्ष नजरराम महर्जन, महिला सशक्तीकरण नेपालका अध्यक्ष रश्मिला प्रजापति, नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति का पवित्र कसाः, नेपालभाषा टाइम्सका पत्रकार तेज नारायण मानन्धर, राप्रपा नेपालका गीता खड्गी, ज्यापु महागुथि येँ महानगर समितिका श्रीकृष्ण महर्जन, लहना साप्ताहिकका नृपेन्द्रलाल श्रेष्ठ, नेवाः फिल्म सोसाइटीका महासचिव विराजकाजी राजोपाध्याय आदि समूहद्वारा सामाजिक सदभाव संरक्षणको लागि हस्ताक्षरसहित संयुक्त निवेदन दिएका थिए ।

पहिले रातो आर्य रेणु राखी ट्विट गर्ने व्यक्तिले पुरानो आइडी परिवर्तन गरेपछि उक्त व्यक्तिबारे प्रहरी अनुसन्धानमा सहयोग गर्न र सामाजिक सदभावका लागि त्यही पुरानो आइडी राखी एक अर्को व्यक्तिले नयाँ अकाउन्ट बनाएका छन् ।