कोरोनाको चेन रियाक्सन

सुरेन्द्र कार्की

(कोरोना नियन्त्रणका लागि चाहिने समयको आँकलन कोरोनालाई मत्थर पार्न कति समय लाग्छ भन्ने आधारमा गर्ने कि हामीकहाँ सञ्चित स्रोतसाधनले परनिर्भर रुपमा कति समय धान्न सक्छ भन्ने तथ्यको आधारमा)

चेन रियाक्सन यानकि शृंखला अभिक्रिया, रसायन र भौतिक शास्त्रको सु-परिचित शिर्षक हो। यो बुझ्नका लागि तपाइले सुन्दै आउनुभएको आणविक बमलाई कल्पना गर्न सक्नुहुन्छ। यसमा कुनै एउटा परमाणुको अभिक्रियाले उस्तै प्रकृतिका एक वा एक भन्दा ज्यादा अन्य परमाणु अभिक्रियालाई सघन पुर्याउँछ। परिणामस्वरुप यसको नतिजा भयावह हुनजान्छ। हिरोसिमा र नागासाकीको तितो इतिहास यसकै मूर्त उदाहरण हो। यसलाई अझै सरलीकरण एउटा आगोको झिल्काले क्रमशः पुरै जंगलमा कसरी आगजनी गराइदिन सक्छ भन्ने कुराले गर्न सक्छ। अक्सर यी प्रकृतिका रियाक्सन मानवीय व्यवस्थापन र नियन्त्रण भन्दा बाहिर हुने गरेको इतिहास छ। यस्तै आगोको झिल्का, यस्तै आणविक बमझैँ अहिले अर्को नयाँ र भयावह चेन रियाक्सनको क्षति मानव जगतले भोगी रहेको छ- कोरोना सङ्क्रमणको।

कोरोनाको फैलावटले क्रमशः मानिसको जीवनशैली, देशको अर्थतन्त्र, कुटनिति आदिलाई लहरै प्रभावित पार्दै गइरहेको हुनाले यो चेन रियाक्सनको अर्को उदाहरण बनिसकेको कुरामा दुविधै रहेन। अनेकन नैराशयताका बीच यसमा खुसी हुनुपर्ने कुरा चाहिँ के छ भने- यसको अभिक्रिया दर परमाणु बम पड्किनका लागि हुने दर भन्दा लाखोँ गुणा सुस्त छ। मतलब एकपल्ट यी बम पड्किए मात्रै भने पनि स्थिती नियन्त्रणमा ल्याउन सक्ने विज्ञान मानव जगतमा छैन। तर कोरोनारुपी बमको ब्लास्ट भइसकेको अवस्थामा जंगल आगजनीलाई झैँ तत्कालै नभए नि विस्तारै नियन्त्रणमा ल्याउन भने जरुर सकिन्छ।

तथापि, हामीले नजरअन्दाज गरिरहेको तर मूल प्रशनचिन्ह यहीँ आएर खडा हुन्छ, विस्तारै मतलब कति समय?
एक हप्ता, एक महिना, एक वर्ष, कति?
समयको आँकलन कोरोनालाई मत्थर पार्न कति समय लाग्छ भन्ने आधारमा गर्ने कि हामीकहाँ सञ्चित स्रोतसाधनले परनिर्भर रुपमा कति समय धान्न सक्छ भन्ने तथ्यको आधारमा?
निश्चय पनि हामीकहाँ संचित स्रोतसाधनले परनिर्भर रुपमा जति समय धान्न सक्छ, त्यो समयसिमा भित्रै कोरोना सङ्क्रमण नियन्त्रण र निदान गरिसक्नु बुध्दिमतापूर्ण हुन्छ। यो बाध्यात्मक स्थितिको महसुस हाम्रो परिपाटीले गरेको छ कि छैन? कुरा यता मोडोँ।

प्रशङ्गानुकुल अब समयको मात्र होइन, हामीकहाँ भएका स्रोतको आँकलन पनि गरिनु अत्यावश्यक छ। यसका लागि सुरुमा त कतिजना सङ्क्रमित छन्, ती सबलाई पहिचान गरेर तिनको पूर्ण निदान गर्न कति समय लाग्छ भन्ने थाहा पाउन जरुरत हुन्छ। पहिलो कुरा त, हालसम्मको सङ्क्रमित सङ्ख्या पत्तो लगाउनै नेपालको लागि ज्यादै सकसपूर्ण बन्दै गएको तथ्य हामीले देखिरहेका छोँ। सङ्क्रमित मानिस देखिरहेका छैनै। नभएरै पो नदेखिएको हो कि, यो पाटो पनि जिवितै छ र यसलाई केलाउन जरुरत पनि। राष्ट्र-राष्ट्रको जनसङ्ख्या आकार (पपुलेसन स्याम्पल साइज)मा आधारित सङ्क्रमित सङ्ख्या हेर्ने हो भने हामी ढुक्क हुने स्थिती पक्कै पनि छैन। जहाँ धेरै जनसङ्ख्या, त्यहाँ नै धेरै सङ्क्रमित? आँकडा बिल्कुलै यस्तो छैन। विशवको आधा भन्दा ज्यादा जनसङ्ख्या भएको चिन भन्दा यसको २३ गुणा कम जनसङ्ख्या भएको इटालीको सङ्क्रमित सङ्ख्यामा खासै अन्तर छैन। स्मरण रहोस्, विशवकै उत्कृष्ट स्वास्थ्य सेवा दिने राष्ट्रहरुमा फ्रान्सपछि इटाली दोश्रो नम्बरमा पर्छ। अझ साडे पाँच गुणा ज्यादा जनसङ्ख्या भएको अमेरिकामा भन्दा त इटालीमै ज्यादा सङ्क्रमित छन्। सबैभन्दा मार परेको इटालीलाई केन्द्रविन्दुमा राखेर हेर्ने हो भने इटालीसँगै भु र जलमार्गबाट जोडिएका युरोपका अधिकांश मुलुकमा कोरोनाको सङ्क्रमण ज्यादा देखिन्छ। विशवजगत जमिन, जल र हवाइमार्गले जोडिसकेको अवस्थामा सङ्क्रमणको फैलावट आयतन पपुलेसन स्याम्पल साइजको आधारमा भन्दा पनि यीनै अन्तरदेशिय कनेक्टिभिटी माध्यमका आधारमा हुने गरेको तथ्य आँकडाबाट बुझ्न सकिन्छ। इटाली नजिकका स्पेन, फ्रान्स लगायतका राष्ट्रमा देखिएका उच्च सङ्क्रमण सङ्ख्या यसैका प्रमाण हुन्।

यीनै तथ्यहरुलाई आधार मान्ने हो भने पनि चिन र भारतबाट घेरिएको नेपाल पक्कै पनि सुरक्षित छैन। मतलब, नेपालमा कोरोना सङ्क्रमित नभएरै नदेखिएको हो भन्न सक्ने अवस्था विल्कुलै छैन। त्यहीमाथि कोरोना सङ्क्रमणले विशवव्यापी रुपमा थला पार्न थालेपछि नै, लकडाउन अगावै मात्र विभिन्न देशमा रहेका नेपालीहरु नेपाल भित्रिएका हुन्। मतलब पशुपतीनाथको कृपाले मात्रै ढुक्क हुने स्थितिमा हामी बिल्कुलै छैनोँ। तर अब हामी एउटा के महत्वपूर्ण निष्कर्षमा पुग्न सक्छोँ भने- राष्ट्रराष्ट्र भन्दा पनि जमिन, जल वा हवाइ कनेक्टिभीटीले विशवजगत नै जोडिसकेको अवस्थामा कोरोना सङ्क्रमणका लागि सिङ्गो पृथ्वीनै फैलावटको साझा मैदान भइसकेको छ। तसर्थ नेपालको हकमा संभावित कोरोना सङ्क्रमित सङ्ख्या कति होलान् भन्नका लागि विशवलाई एक मानेर त्यसैको औसत सुचाङ्क प्रयोग गरिनु अनियोचित नहोला।
अहिलेसम्म विश्वब्यापी रुपमा लगभग साडे पाँच लाख मानिस सङ्क्रमित भइसकेको अवस्थामा सङ्क्रमणको गणित १ लाखमा ६ जनालाई भएको भन्ने अर्थ लाग्छ। सबैभन्दा भयानक स्थितिमा रहेको इटालीको गणितलाई मात्रै छुट्टै लिने हो भने त यो १ लाखमा ११५ जनालाई सङ्क्रमण भएको भन्ने अर्थ लाग्छ। मतलब ३ करोड जनसङ्ख्या भएको नेपाल न्युनतम गणितिय द्रिष्ठिकोण बाट पनि सुरक्षित छैन।

यी तथ्य सँगसँगै कोरोना सङ्क्रमितको पहिचान गर्ने हाम्रो सरकारी संयन्त्र र स्वास्थ्य क्षेत्रको परिपाटी सबैलाई एकैठाउँ राखेर मनन गर्ने हो भने, हामीले सङ्क्रमित जनताहरु पहिचान गर्न सकिरहेका छैनोँ नै। यो ज्यादै गम्भिर समस्या हो। सानो अर्थतन्त्र भएको हाम्रो मुलुक सङ्क्रमितको द्रुत पहिचान गर्ने कुरामा चुक्नै हुँदैन। किनभने हामीकहाँ खाधान्न लगायत दैनिक उपभोग्य वस्तुको सञ्चय सीमित मात्रामा रहेको छ। त्यसमा पनि हामी प्रायः वस्तुमा भारत लगायत अन्य मुलुकसँग निर्भर छोँ। कोरोनाको विशवब्यापी सन्त्रासका बीच भारत लगायत धेरै मुलुक सुरुमा आफ्नो दुनो सोझ्याउन लागि परिसकेका छन्। निर्यात बन्द गरिरहेका छन्। भुकम्प लगायत विगतमा नेपालमा आइपरेका विभिन्न जोखिमको सामना नेपाल एक्लैले गर्नुपरेको थिएन; जापान, ब्रिटेन, जर्मनी लगायतका दात्री राष्ट्रहरु थिए। अहिले यो अवस्था नि छैन, कोरोनाको जन्जिरमा यी सब झनै नराम्ररी फसिरहेका छन्। हात फिँजाउन विवेकले दिने अवस्था छैन। नेपाली श्रमिकहरु लामो समय कोठाभित्र मात्रै बसिराख्ने अवस्था पनि छैन। जनताका खल्ती रित्तिमात्रै रहेका छन्। यी सबै कुराहरु एकैपल्ट भइरहेका छन् र कोरोनाको चेन रियाक्सन यसरी दिनको दुइ गुणा र रातको चार गुणा बढिरहेको छ। तसर्थ हाम्रो अर्थतन्त्र र समग्र परिपाटीले ३ करोड जनतालाई कतिन्जेल कोठाभित्रै राख्ने हैसियत राख्छ, सो तथ्यको निर्कयोल गरेर यसै समयसिमा भित्र कोरोना सङ्क्रमणलाई मत्थर पार्नै पर्ने हुन्छ। अन्यथा , सुखी नेपाली र समृद्ध नेपालको अभिलाषा लिएर हिँडिरहेका हामी नेपालीलाई कोरोनाको चेन रियाक्सनले वर्षोँसम्म उठ्न नसक्नेगरी गरिबी र अन्योलताको खाडलमा पुर्ने कुरा निशचित छ।