मेस्सीको करिअर जोखिममा

विश्वकप फुटबलको ग्रुप खेलको साठी वर्षको इतिहासमा अर्जेन्टिनाको हालसम्मकै नराम्रो प्रदर्शनपछि प्रसिद्ध खेलाडी लियोनेल मेस्सीको अन्तरराष्ट्रिय फुटबल खेलको करिअर जोखिममा परेको छ । मेस्सीको करिअर अब छिट्टै अन्त हुन सक्ने भनी विश्लेषण गर्न थालिएको छ ।

नेपालको समयअनुसार बिहिवार राति भएको क्रोयसिया र अर्जेन्टिनाको खेलमा अर्जेन्टिनाले ३-० को गोल अन्तरमा लज्जास्पद पराजय भोगे । यस लगत्तै क्रोयसिया नकआउट चरणमा पुग्न सफल भए भने अर्जेन्टिना यस पटकको विश्वकपबाट अर्को चरणमा पुग्न हम्मेहम्मे भएको देखिन्छ । यस खेलमा मेस्सीको प्रस्तुति निकै फिक्का रह्यो । बार्सिलोनाबाट एक दशकको करिअरमा पाँचपटक वर्षको सर्वोकृष्ट खेलाडी उपाधि जितेका मेस्सीले हालसम्म अर्जेन्टिनाको टिमबाट अन्तरराष्ट्रिय खेलमा कुनैपनि मुख्य उपाधि जित्न सकेको छैन । यस वर्षको विश्वकपको आइसल्याण्डसँगको खेलमा पेनाल्टि किकको अवसर गुमाएर मेस्सी आलोचनाका सिकार भएका थिए । उक्त खेलमा अर्जेन्टिनाले १-१ को बराबरीमा चित्त बुझाउनु परेको थियो ।