झमकको संघर्षको कथा

समयले मलाई संघर्ष गर्न भन्यो। म संघर्ष गर्न तयार भएँ। संघर्षले मलाई प्रयोग हुन भन्यो त्यो पनि तयार भएँ। तर म के हुँ को हुँ कसैलाई थाहा थिएन, थाहा दिनु पनि जरुरत ठानिनँ मैले। किनभने त्यहीँ संघर्ष र प्रयोगबाटै झमक हुनु थियो। अनि एक प्रकारको निषेधबाट पनि आफूलाई निखार्न थियो। त्यही प्रयोग, संघर्ष र निषेधको सिंगो रुप हो झमक। यी कुराहरुलाई उल्टोसँग घुमाउन जन्मेकी हुँ म !

किनभने म स्पष्ट रुपमा भन्दा त्यस्तो परिवारमा जन्मेँ जुन परिवार अति नै पछाडिएको हो। त्यसमाथि अन्धविश्वास, अशिक्षा, गरिबीबाहेक केही थिएन जसलाई मैले प्रत्यक्ष रुपमा भोगेँ र त्यसको अनुभूति गरेँ। एकातिर अशक्त हुनुको पीडा मैले भोगे। जे जस्तो भएपनि मलाई मान्छे हुनु थियो अर्थात् मान्छे भएर बाँच्नु थियो। यसका लागि मान्छेका जतिसुकै क्रुर व्यवहार पनि सहेर त्यससँग लडेर बाँच्नु थियो। बाँचे, आखिर त्यहाँ पनि संघर्ष गर्नु थियो गरेँ। कहिलेकाहीँ मनमा लाग्थ्यो 'शारीरिक दुर्वलता लिएर जन्मिनु मेरो के दोष हो?' हो, प्रश्न थियो त्यो समय र समाजलाई बुझाउनका लागि र यसको जवाफ पाउनका लागि मैले शिक्षित र सचेत हुन आवश्यक थियो। यसको लागि पनि लामो संघर्ष नै गर्नुपर्‍यो।

मैले नेपाली साहित्यमा त्यसै पाइला हालेकी होइन, नेपाली समाज अझै अन्धकार र अन्धविश्वासभित्र छ। त्यसलाई चिर्नका लागि मैले कलम बोकेँ। त्यसमार्फत चेतना बोकेँ। किनभने मान्छेको विचार परिवर्तनका लागि चेतना र शिक्षा आवश्यक थियो। बौद्धिक अश्त्र आवश्यक थियो। जब मैले मलाई जन्माएर त्यो अचेतन समाजले दिएको मानसिक यातनाका कारण असह्य भएर मेरी आमाले आँशु झारेको देखे। तब सोचेँ यो वर्षौंदेखि जकडिएर बसेको अचेतना अन्धविश्वासलाई चेतनाको उज्यालोले परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ म अगाडि बढेँ। अर्थात् कलम बोकेँ। जब हामी रुपान्तरणको कुरा गर्छौं, हिजो पनि वैचारिक संघर्ष गर्न आवश्यक थियो र आज पनि आवश्यक छ, त्यसैले त कलमको शक्ति बलियो छ, चेतनाको शक्ति बलियो छ। यद्यपि मैले कलम बोकेर के के न गरेँ भन्ने पक्षमा म छैन। तर अलिकति समाजमा चेतनाको बत्ती बलिरहेको मैले महसुस गरिरहेको छु। त्यो आत्मबोध छ।

हो, मसँग एक कक्षाको पनि सर्टिफिकेट छैन र मैले एक कक्षा पनि पढ्न पाइनँ। तर मैले माटो पढेँ, ढुंगा पढेँ, समय पढेँ समाज पढेँ नेपाल र नेपाल आमालाई पढेँ। म त्यस्तो विद्यार्थी हुँ जसले यहाँको कुना काप्चा पाखा पखेरा ढुंगामाटो खोलानाला पढेर त्यसको मर्म बुझेको छ। अहिले मेरा मनमा ती सबै सबैप्रति प्रेम छ त्यसैले त मलाई ती सबैले मलाई माया गर्छन्।

अब म यो मानार्थ विद्यावारिधिको सन्दर्भमा पनि केही कुरो उठाउन चाहान्छु। म आफ्नो धुन र तालमा काम गर्न मन पराउने मान्छे। त्यही धुन र तालमा काम पनि गरिरहेकी थिएँ। अचानक गोपाल सरले मेरै नम्बरमा फोन गरेर सुनाउनु भयो, फोन राख्नुभयो। त्यसपछि यो विद्यावारिधि दिनु पर्ने मैले त्यस्तो काम गरेकी छु र? प्रश्न आफैलाई आफैले गरेँ। योग्य देखिनँ र गोपालसरलाई यहीँ कुरा भनिदिएँ एसएमएसबाट। फेरि फोन गर्नुभयो, कानमा हाँस्नुभयो र भन्नुभयो- के कति गरेकी छौ कि छैनौं समयले बताउने हो तिमीले होइन। त्यसपछि म मौन बसेँ। यस कुरामा चासो लिइनँ। अनावश्यक चासो लिनुपर्ने कुरा पनि थिएन। मलाई विश्वासै थिएन यो कुरामा योग्य छु। खोइ के कुराले योग्य देख्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मलाई थाहा छैन। जब उपकुलपति प्रा. डा. उपेन्द्र कोइरालाज्यू र रजिस्टार डा. महेन्द्र मल्लज्यू सूर्खेतदेखि धनकुटासम्मको लामो यात्रा मोलेर औपचारिक लिखित पत्र र औपचारिक जानकारी दिन आउनु भयो वहाँहरुसँगको संवादपछि मलाई चेत भयो, 'मैले पनि देशको लागि केही योगदान गरेकी रहिछु।'
यो उपाधिले सम्मानित भइरहदा मेरा आँखा अगाडि हिजोका ती संघर्षलाई देखिरहेकी छु- जुन संघर्ष म हुनुको लागि गरिएका थिए। र कुनै विश्वविद्यालयमा अध्ययन गरेको मान्छेमात्र यसको हकदार रहेनछ मजस्ता खुल्ला पृथ्वी र खुल्ला आकाश पढ्ने र लेख्ने मान्छेहरु पनि यसको लागि योग्य हुँदा रहेछन्। यसैले हकदार पनि हुँदा रहेछन् यसले मलाई हौसला मिलेको छ नै, यस मध्यमाञ्चल विश्वविद्यालयले सांकेतिक रुपमा भनिरहेको छ- 'तिमीले अरुले पढिरहेको किताब पढिरहेकै छौ अरुले नपढेका किताब पनि संसारमा धेरै छन् तीनलाई पल्टाएर पढ। पढ्नुको मजा त्यहाँ छ।'

आज प्राप्त गरेको जिन्दगीकै ठूलो उपलब्धीलाई पनि देश र जनताको हितमा प्रयोग गर्दछु। अहिले मैले पूरा राज्य यहाँ देखिरहेकी छु, यसलाई साक्षी राखेर भन्छु- राज्यले शिक्षा त दियो तर कस्तो खालको शिक्षा दियो? दिनानु दिन शिक्षित युवा जनशक्ति बेरोजगार बनेर लाखौंको संख्यामा बाहिरिनु पर्ने? एकपटक सोचोस् राज्यले उनीहरुले खाडीका मुलुकहरुमा बगाउने पसिना, रगत र गर्ने श्रम यहीँ मुलुकको लागि खर्चिने वातावरण बनाइदिए कति जाति हुन्थ्यो? यो देश छोडेर रंगिन सपना बुन्दै बाहिरिएका युवाहरुको सपनाको घर भत्किने मात्र होइन सग्लो ज्यानजिउ साथ बाहिरिएको घर फर्किदा सास खोसिएको लास बाकसमा बोकिएर फर्किदा नेपाल आमाको छाती कति रुन्छ भन्ने कुरा मैले प्रत्यक्ष देखिरहेकी छु, भोगिरहेकी छु। अनि सबै विश्वविद्यालयहरुलाई के आग्रह गर्दछु भने 'तिम्रो शिक्षाले मान्छेलाई शिक्षित बेरोजगार नबनाओस्, सिर्जनशील बनाओस्।'

यो विद्याबारिधि पाउनुमा मेरी आमाको धेरै ठूलो हात र साथ छ। उनी अक्षर बुझ्दिनन् तर मेरा मनले कोरिएका भावलाई सजिलै बुझ्छिन्। हो आमा तपाईँको संघर्षको प्रतिफल हो यो। अनि धन्य छु म जसले तपाईँजस्ती ममतामयी आमा पाएकी छु। त्यो कोखलाई सलाम गर्छु। यो देशका सबै विश्वविद्यालयलाई म के आग्रह गर्छ भने- तपाईँहरुले भीरफूलको वासना र त्यसको सुगन्धलाई चिन्नुहोस्, त्यसको सुगन्धको मज्जा लिनुहोस्, उ कति सुन्दर हुन्छ त्यसको सौन्दर्यको आनन्द लिनुहोस्।

अन्त्यमा, सम्माननीय राष्ट्रपितज्यूप्रति हार्दिक धन्यवाद। कुलपति तथा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति विशेष बधाई सहित धन्यवाद,वहाँको कार्यकाल सफल रहोस्! माननीय सहकुलपतिज्यू, उपकुलपति ज्यू, विश्वविद्यालयसभाका सभासदहरु तथा वैदेशिक कुटनीतिक नियोगका प्रमुख प्रतिनिधिज्युहरुप्रति धन्यवाद अनि विशेष आभार सहित धन्यवाद मध्यपश्चिमाञ्चल विश्विद्यालय र परिवारप्रति।

(मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानार्थ विद्यावारिधि ग्रहण गर्दै साहित्यकार झमक घिमिरेले दिएको मन्तव्यको पूर्ण पाठ)