सिथिनखः मनाइँदै

काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथि नखः पर्व आज मंगलवार मनाइँदैछ । विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यस पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास रहेको छ ।

आजको दिन महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन भएकाले पनि यसको धार्मिक महत्व रहेको छ । त्यसकारण आजको दिन कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ ।

आजको दिन नेवार समुदायले मास, मुगी, केराउबाट बनेका विशेष वः (बारा), चतांमरि, मालपुवा, गहुँको म्हुचामरि लगायतका परिकारहरु खाने चलन छ । यस दिन यी परिकारहरु खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहँदै आएको छ।

सिथि नखःलाई नेवार समुदायले वर्षको अन्तिम चाडको रुपमा लिने गर्दछन्। यस पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्हाज्या (धान रापाई) शुरु हुने भएकाले यस पर्वलाई वर्षको अन्तिम चाडको रुपमा लिने गरेको हो । रोपाइँ कार्य सकेपछि मनाइने गथांमुगःलाई वर्षको पहिलो पर्वको रुपमा मनाउने चलन रहेको छ ।