सूचना प्रविधिको कुम्भमेला सुरु

नेपालको सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक २००८ आज मंगलवारदेखि काठमाण्डौको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । कम्प्यूटर एशोसिएसन नेपालले वर्षेनि गर्दै आइरहेको यस प्रदर्शनी यस पटक चौधौंपटक आयोजना भइरहेको छ ।

यस पटकको प्रदर्शनीमा स्कूल, कलेज, कम्प्यूटर इन्ष्टिच्यूट, इन्टरनेट सेवा प्रदायक कम्पनी, कम्प्यूटर सम्वद्ध सामग्री उत्पादक र वितरक आदि समेत गरी २५० स्टलका प्रदर्शनीका साथै सूचना प्रविधिको वृहत सम्मेलन हुने जानकारी आयोजक संस्थाले दिएको छ । यसपटकको प्रदर्शनीमा नेपाल लगायत जापान, कोरिया, भारत आदि देशका सहभागी संस्थाहरुको विशेष आकर्षण रहने पनि बताइएको छ।

हरेक वर्ष झैं यसपटक पनि क्यानले आफ्नो प्रदर्शनी विगतका वर्षहरुभन्दा पृथक हुने दावी गरेको छ, तर यसपटकको प्रदर्शनीले दर्शकका मानसपटलमा के छाप छोड्ने हो त्यो भने हेर्न बाँकी नै छ।