क्रोएसियाले रच्यो इतिहास, फाइनलमा फ्रान्ससँग भिड्ने

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै यो इतिहास रचेको हो। यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो ।

निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको खेलको १ सय ९ मिनेट क्रोएसिया भाग्यशाली सावित भएको थियो । क्रोएसियाकालागि इभान पेरिसिचले उपलब्ध गराइदिएको बलमा मान्डजुकिचले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकप फाइनल सम्मको यात्रा तय गराएका थिए । आइतवार हुने विश्वकप फुटबलको फाइनल खेलमा क्रोएसियाले फ्रान्ससँग भिड्ने भएको छ ।