रानीपोखरीमा मल्लकालीन शैली अस्वीकृत !

रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न विज्ञ समूहले गरेको सिफारिस पुरातत्व विभागले अस्वीकृत गरेको छ । यसैसाथ १२ वैशाख २०७२ को भूकम्पले भत्कनु अघिकै अवस्थामा फर्काउने विभागको निर्णय छ ।

रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिकाले विज्ञ समूह बनाएको थियो, जसले मल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको थियो । तर, पुरातत्व विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको छ ।

नगरपालिका विज्ञ समूहको सुझाव अनुसार पोखरी निर्माण गर्न भन्दै पुरातत्व विभागसँग डिजाइन मागेको छ । तर, विभाग भने मन्दिरमात्र होइन पोखरीमा पनि मल्लकालीन शैली अबलम्बन गर्ने पक्षमा छैन । महानगरले आफ्नो स्वीकृती बेगेर निर्माण गरेको कंक्रिट संरचना हटाइने पुरातत्वले बताएको छ ।

सुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर पुरातत्व आफैंले बनाउँदैछ । पुरातत्त्वले भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ निर्माण गरिरहेको छ । मन्दिर पुनर्निर्माणका लागि विभागले एक करोड ५० लाखमा ठेक्का लगाएर काम गरिरहेको छ ।