काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा माक:जु नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ माक:जु नियुक्त भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री एवम् विश्वविद्यालयको कुलपति प्रचण्डले माक:जुलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । सिफारिसमा माकाजुसहित जनार्दन लामिछाने, रजिष्ट्रार भोला थापा, मनप्रसाद वाग्ले, भद्रमान तुलाधर परेका थिए ।

माक:जु यसअघि पनि काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । उनको चार वर्षे कार्यकाल गत मंसिर अन्तिम साता सकिएको थियो । माकाजुको कार्यकाल विवादित भएको भन्दै उनलाई फेरि पनि उपकुलपति नबनाउन प्राध्यापकहरुले दबाव दिँदै आएका थिए । अख्तियार दुरुपयोगको आरोप लागेका माक:जुलाई उपकुलपति नबनाउन डा. गोविन्द केसीले पनि माग गर्दै आएका थिए । सर्च कमिटीका सदस्यद्वय दमननाथ ढुंगाना र सुरेशराज शर्माले भने माक:जुलाई नै पुनः उपकुलपति बनाउन दबाव दिँदै आएका थिए ।