शंखधरको कथाको संगीत सार्वजनिक

निर्माणाधीन नेपालको पहिलो एनिमेशन चलचित्र शंखधरको कथा’ (दि लिजेन्ड अफ शंखधर) को संगीत सार्वजनिक भएको छ । पासा पुचः गुथिका लन्डन शाखा अध्यक्ष कपिल श्रेष्ठ, पूर्वाध्यक्ष तथा सल्लाहकार डा. सचेतन तुलाधर, गुथिका दक्षिणपूर्व शाखाका अध्यक्ष चुत्र बहादुर श्रेष्ठ, गुथिका बोर्ड अफ् ट्रस्टीज उपाध्यक्ष कुमार श्रेष्ठ र महासचिव शिवजी श्रेष्ठद्वारा उक्त गीत संगीत संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा योजना प्रमुख र गुथिका उपाध्यक्ष ओजेश सिंहले चलचित्रको परिचय दिंदै नेपाली संस्कृति र सम्पदालाई यसले अगाडि लानसक्ने बताए । चलचित्रको पछिल्ला उपलब्धिबारे बताउंदै निर्माता र निर्देशक संयुक्त श्रेष्ठले अमेरिकामा आयोजित दोश्रो विश्व नेवाः सम्मेलनमा यसको टीजरले प्रशंसा पाएको र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको तर्फबाट यस वर्षको राष्ट्रिय कला प्रदर्शनीमा सिर्जनात्मक कलातर्फ विशेष पुरस्कार प्राप्त गरेको अवगत गराए ।

निर्देशक संयुक्त श्रेष्ठद्वारा रचिएको यस चलचित्तको गीतमा विश्व शाही र गंगा थापाको संगीत र निशा देशारको स्वर रहेको छ । अंग्रेजी सबटाइटलका साथ नेपालभाषा र नेपाली भाषामा निर्माण भईरहेको यस चलचित्र संयुक्त अधिराज्यमा आउंदो नेपाल संवत् नयां वर्ष ११३७ मा सार्वजनिक गर्ने योजना बनाएको छ ।