लकडाउनमा ‘लक भएको मन’!

प्रिय मन,
मिठो सम्झना ..!

मलाई थाहा छ, त निकै चुलबुले छस् । सायद त्यसैको कारणले होला तँ आज ‘लक’ भएको छस। लकडाउनपछि घरबन्दी हुँदा तँलाई धेरै कुराको तलतलले कति सताइरहेको होला ? लकडाउनअघि जस्तो माहोल थियो, जस्तो जीवन थियो, अहिले त्यस्तो महसुस गरी राखेको छैनस होला । कोरोना भाइरसको संक्रमणको संत्रासले विश्वलाई सताइरहेको बेला तँ पनि बेचैन छस। अब केहि समय तैँले धैर्य गर्नैपर्छ । यदी तैले धैर्य गर्दिनस भने, मेरो कारणले कसैलाई सँक्रमण फैलिन सक्छ, म सँक्रमणको माध्यम बन्न सक्छु वा म आफै पनि सँक्रमित हुनसक्छु । त्यसमा तँ पक्कै पनि खुशी हुँदैनस होला । त्यसकारण अहिले तँ ‘लक’ भएर बस्नु बाहेकको अरु बिकल्प केहि छैन । माहोल सहज भएपछि फेरि उस्तै होलास । ।’

जसरी जसरी समय बित्दै जान्छ त्यसरी त्यसरी मनको चाहना र धैर्यता प्रस्फुटन हुँदै जाँदो रहेछ । भनिन्छ नि जिवनमा पढेको भन्दा परेकोमा थुप्रै कुरा सिकिन्छ । हो मैले पनि थुप्रै कुरा सिकेँ यो १८ औँ दिनसम्मको लकडाउनमा । प्रिय मन, मलाई थाहा छ तेरो चुलबुल– चुलबुलले कुनै दिन नमिठ्ठो घटना घटाउन सक्छ ! त्यसैले पनि तलाई अहिले नै सतर्क बनाउन यो चिठ्ठि लेखेको हुँ । थुप्रै खालका भावनाहरूले तेरो मन र मस्तिष्कमा डेरा बसाएको हुनसक्छन् । अहिले यसरि बन्दी भएर बस्दा यस्तो हुनु स्वाभाविक पनि हो तर विडम्बना अहिले जलमा, थलमा, नभमा सबैतिर कोरोना मात्रै छ । कोरोनाको आगमनले अहिले समुन्द्रमा जहाज चल्दैनन्, आकाशमा विमान उड्दैनन्, धर्तीमा गाडी गुड्दैनन्, घुमन्ते प्राणी भनेर चिनिएको मानिस घरभित्रै थन्किएको छ । कोरोनाको आगमनले हिजोका सबकुरा थोत्रा भइसकेका छन् । जीवन जगतको परिभाषा नै बदलिएको छ, बानी व्यवहार बदलिएका छन्, चलन र संस्कारहरु उल्टिएका छन् ।

हिजोआज एक्लाएक्लै रहनु सामुहिक शक्ति प्रदर्शन हो । एकान्तमा बस्नु एक्यवद्धता हो । कसैलाई नभेट्नु नै गाढा मित्रता हो । तिरस्कृत भएर बुढेसकालमा बिताउन बाध्य पारिने एक्लो जीवन नै अहिले जीवन जीउनुको सौभाग्य हो ।यहाँ अहिले माया भन्ने कुरा फेसबुकको प्रोफाइल पिक्चरमा बेचिन्छ । म्यासेन्जरको गफमा समेटिन्छ । टिकटकको भिडियोमा अड्किन्छ । त्यसैले मायाको त्यो जालझेलमा पनि नपर्नु तँ! यसले जति तँलाई तताउँछ त्यतिनै यसको सामिप्यतामा जोडिएका क्षणहरुले सताउँछ ।

म थाहा पाउँदै छु– शक्ति पाखुरामा होइन, तँ भित्र हुँदो रहेछ । इच्छा मनको शक्ति रहेछ । अब मेरो वशमा केही छैन, सबै कुरा तैँले कब्जा गरिसकेको छस। बाँच्ने इच्छा र आकाक्षांले मलाई चलाइरहेछन् । त्यसैले म अहिले यस्तो चालढाल देखाउन बाध्य छु जसले लकडाउनसंग साच्चै प्रेम बसेको देखाओस् । यस्तो माया देखाओस्, जुन आजसम्म मैले कसैलाई गरेकै थिँइन । तँ जे भन– म त लकडाउनलाई औधी माया गर्न थालेको छु । मानिसले भन्थे प्रेममा कुनै शर्त हुँदैन तर आज म आशा गरेर लकडाउनलाई प्रेम गर्दैछु, किनभने इच्छा टुटेपछि नै त बुद्धि पलाउँदो रहेछ । कोरोनाको आगमनले मेरा जीवनका रुपरेखा नै सरल बनेका छन् । जसले जे भन्छ लुरुक्क मान्ने, जे भेटियो त्यही खाने, चुपचाप घरमा बस्ने । मेरा यी मलिन अनुहार र हाउभाउहरु मृत्यूसंग डराएका चिनो हुन । आजकल मौनता नै मलाई स्वादिलो लाग्न थालेको छ । यो समयमा तँ पनि लकडाउनलाई प्रेम गरेर मलाई साथ दे है ।

विकास भनेको आधुनिक उत्तेजना होइन रहेछ । आफ्नै कर्मबाट प्राप्त अनिश्चय र असुरक्षा नै आज मानिसको दिनचर्या भएको छ । त्यसैले अबका दिनमा म भविश्यको निर्माण गर्ने होइन चरित्रको निर्माण गर्नपट्टि लाग्नेछु । मृत्यूलाई छलेर जीवन निर्वाह गर्नपट्टि नलागी मृत्यूको सामना गर्न सिक्नेछु । त्यसैले तँ जती चुलबुले भए पनि अबका दिनहरुमा मलाई यि कुराहरुमा साथ दे ।

मलाई विश्वास छ आज लेखिएको यो शब्दहरुमा त्यत्ति धेरै तागत त छैन ! बस सन्देह गर यसको भाव प्रति ? सन्देह गर प्रेममा , मायामा ? अन्ततः इच्छा, चाहना, विश्वास कायमै राख्नु मर्न नदिनु…!

म तँलाई कती धेरै माया गर्छु, कती धेरै प्रेम गर्छु, त्यो त तँलाई थाहा नै छ नि । तँ नि मलाई त्यती नै धेरै माया प्रेम गर्दे न है मन ! तँलाई फकाउन यो माया,प्रेमको परिभाषा पनि लेखेको छु पढ है ।


प्रेम र माया शब्द आफैँमा एक सिक्काका दुई पाटा हुन् । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । त्यसको जमर्को म गर्दिन पनि । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

तर यो भनिरहँदा माया के हो त त्यसो भए ? माया पनि प्रेम सरह अदृश्य शक्ति हो । माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । हृदयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया ।

जे जे भए पनि अहिले मेरो एक मात्र प्रेमी तँ नै होस । यो लकडाउनमा जती ‘लक’ भए पनि मलाई साथ दे । तँ नै होस अहिलेको मेरो एक मात्र साथी । तँ नै होस अहिलेको मेरो सबै कुरा । तेरो नियन्त्रणमा छु म , तसर्थ मलाई सँयमित र धैर्य बनाउने काम तेरो नै हो । जती चुलबुले भए पनि “जिवन रहे न जगत देख्न पाइन्छ” भनेर मलाई सिकाउने तैं त होस नि । ल फेरी फेरी पनि पत्र लेख्दै गरौँला । सँगै सँयमित र धैर्य बनेर यो परीस्थिती लाई सामना गरौँ ।

उहि तँ (मन) लाई बोक्ने साथी,
दिबस खनिया

( लेखक खनिया सामाजिक अभियान्ता साथै टेलिभिजन कार्यक्रम निर्माता हुन ।)