आफ्नै भाषा गुम्दाको पीडा

डा. कविताराम श्रेष्ठ

पहिले म २०१६ सालमा १२ वर्षको उमेरमा काठमान्डू ल्याइएथें । त्यो बेला नेवार बाहुल्यता भएको क्षत्रमा बजार, अड्डा, अदालत, स्कूल जताततै नेपाल भाषाको प्रचलन थियो । नेवारबाहेक अरूले पनि सक्दासम्म यही भाषा बोल्थे र आफ्ना दैनिकी सजिलोसंग चलाउँथे ।

नेपाल भाषा टिब्बेटो बर्मनभाषा हो । यो नेपालमा १४ औंदेखि १८औं शताब्दीसम्म नेपाल मण्डलको सरकारी भाषा थियो (Lienhard, Siegfried (1992). Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns. New Delhi: Motilal Banarsidas. ISBN 81-208-0963-7. Page 3)

नेपाल भाषाको प्रयोग नेपाल मण्डलबाहिर गोर्खा राज्यमा पनि हुन्थ्यो । पृथ्वीनारायण शाहको नेपाल विजयभन्दा १८५ वर्ष पूर्वनै उनका पूर्खाले गोर्खाको भैरव मन्दिरमा ने.स. ७०४ (सन् १५८४) मा नेपाल भाषामा शीलालेख लेखाएका देखिन्छ. त्यस्तै पलान्चोक भगवती मन्दिरमा ने.स. ८६१ (सन् १७४१) को, भोजपुरमा बिद्यधारी अजिमा मन्दिरमा ने.स. १०११ (सन् १८९१) को र बन्दिपुरको बिन्ध्यबासिनी मन्दिरमा ने.स. ९५० (सन् १८३०) को र नेपाल बाहिर पनि छ्वास्कमिनी अजिमा मन्दिर तिब्बतमा ने स ७८१ (सन् १६६१) को नेपाल भाषामा लेखिएको शीलालेख/ताम्रपत्र पाइएको छ ।(Hridaya, Chittadhar (ed.) (1971). Nepal Bhasa Sahityaya Jatah. Kathmandu: Nepal Bhasa Parisad. Page 47.) पृथ्वीनारायण पछिका शाह राजाहरू रणबहादुर र राजेन्द्रबिक्रमले नेपाल भाषामा कविता नै लेखेका पाइएको छ । (http://en.wikipedia.org/wiki/Newar_language#cite_noteLienhard.2C_Siegfried_1992_Page_3-20Inline image’,)

अरू त अरू बिस १८३२ को तिब्बतसंगको सम्झौतामा समेत नेपाल भाषाको प्रयोग भएको थियो । (Lienhard, Siegfried (1992). Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns. New Delhi: Motilal Banarsidas. ISBN 81-208-0963-7. Page 3)

यी हुन् नेपाल भाषाको व्यप्तिका कुरा ।म परें पहाडे नेवार । आफ्नै भाषा नजान्ने । त्यसै पनि काठमाडौँका नेवारहरूले बाहिरका मान्छेलाई हियाएर “खैं” भन्थे। नेवारै भएर पनि नेवार भाषा नजान्नेहरूलाई उनीहरूको हेपाइको ठेगानै हुन्नथ्यो । नेवार त के यतै बसोबास गरी नेवारी बोल्न जान्ने अरू जातिका मान्छेहरू समेतको गिज्याइमा म पर्थें । त्यसमाथि म अलि लज्जालु स्वभावको परें । उखरमाउलो गर्थे नेपाल भाषामा । काठमाडौँ त्यस्तै ६ महीना बसेथें ।अलिअलि सिकियो भाषा । ओखल्दुङ्गा पुग्दा त्यताका धुलिखेले केटाकेटीहरू साथ यसो अरू बढी सिक्न खोजियो तर उनीहरूलाई पनि मसंग खसभाषा नै सिक्न सजिलो पर्थ्यो । मलाई घाँस हालेनन् । मलाई मात्र त्यत्रो खाँचो कहाँ थियो र ? जति काठमान्डूमा सिकियो त्यसमा किञ्चित बढोत्तरी भएन। बिर्सिइयो बरू ।

म ओखलढुंगाको नेवार । त्यता नेवारहरू नेपाल भाषा बोल्दैनन् ।जान्दै जान्दैनौं । त्यहाँस्थित धुलिखेल बनेपाका व्यापारी नेवारहरू भने आफ्नो भाषा बोल्थे । हामीले त पुस्तौं पहिले नै यो बोलीको भाषा गुमाएका थियौं । मेरै परिवारका कुरा गर्ने हो भने मेरा बाजे भक्तपूरबाट १९४५ सालतिर हुलाकी जागीरे भई आउनुभएको हो । तर यता आई बसोबास गर्न लाग्दा नेपाल भाषाको उपयोग हुन सकेन । पहिलेदेखि नै आएका यहाँका नेवारहरूले पनि नेपाल भाषाको उपयोग नगरेका हुँदा आफ्ना भाषा खाइसकेका थिए ।बाजेलाई खसभाषा नै बोल्न वाध्यता भयो ।

व्यापारका लागि नेवारहरू यता धेरै पहिले देखिनै आउने जाने गरेका हुन् । ओखलढुंगा भनेर यस स्थानको नामकारण हुनुमै कान्तिपुरका राजा प्रताप मल्लका काजी भीम मल्लको नामसंग जोडिएको इतिहास छ । भनिन्छ, काजि भिममल्लले ने स. ७६१ (वि. सं. १६९७) मा दोलखा, कुति र केरुङ्गसम्मको राज्य बिस्तार गरी भोटतिरको व्यापार बाटो खुलाएका थिए । त्यसै बेला राज्यविस्तारकै क्रममा यता पस्दा उनका फौजले यो ओखल जस्तो खाल्टो परेको ढुंगामा धान कुटेर भात खाएका हुनाले यसलाई ओखलढुंगा भनेको भन्ने उक्ति छ । नेवारहरू भूगोलको राजनीति भन्दा आर्थिक राजनीति गर्थे । त्यसैले उ बेला मलाई लाग्छ नेवारहरू यता बसेनन् । व्यापारको लागि आउने जानेसम्म गरे होलान् ।

कहिंका होस् नेवारहरूले आफ्नो स्थान छोडी बाहिर स्थाई बसोबास गर्न लागेको त पृथ्वीनारायण शाहले सन् १७६९ पछि नेपालमा राज्य गर्न लागे पछि हो । शाहवंशमा कलाकृतिको चाख थिएन । लडाकु थिए र सिर्फ राज्य बिस्तार मात्र गर्न लागे । यसरी युगौंदेखि नेवारी समुदायले जुन मठ मन्दीर मूर्तिकला र अन्य नेवारी कलाकृतिलाई निरन्तरित गर्दै आएका थिए, उनमा राज्यको संरक्षण नहुँदा प्रवर्द्धन कार्यमा ह्रास आयो । नयाँ निर्माण तथा प्रवर्द्धनको त के कुरा, भएकाहरूको पनि संरक्षण र सम्भारणमा समेत ध्यान रहेको थिएन । यसले गर्दा त्यसै कलाकौसलमा जीविका चलाई आएका समुहलाई बाँच्न धौधौ पर्न लाग्यो र अरू जीविका रोज्नै पर्ने अवस्था आयो ।

नयाँ स्थितिमा राज्य विस्तारित थियो र शिक्षित जनशक्तिको राज्यलाई आवश्यकता थियो । शिक्षितहरू धेरैले माल, अदालत, गोश्वारा, हुलाक, आदिमा बडाहाकिम, डिट्ठा, बिचारी, मुखिया, बहिदार, राइटार, हुलाकी आदि प्रशासनिक पदमा सरकारी जागिर खाए र छरिए देशको गौंडागौंडामा । साथै बांकिहरूले व्यापारको पेशा अपनाए । नेपाल राज्यकै विभिन्न गौंडाहरू लगायत तिब्बत र भारतका समेत विभिन्न स्थानहरूमा नेवारहरू छरिएर विस्तारित भए ।

कहीं पनि पुग्दा उनीहरूले बोल्ने भाषा त्यता चलेन । सबै ठाउँका जनसमुदायका आफ्नै भाषा थियो र राज्यले साझा बनाएको खसभाषा सबैलाई प्रयोग गर्न परिहाल्यो ।विशेषगरी प्रारम्भदेखि नै ठूलो समुदायको रूपमा बसोबास गर्न नपाएको वा अलि पायक नपरेका ओखलढुंगा, भोजपुर, सोलु, दिक्तेल, आदि जस्ता ठाउँका नेवारहरूले पत्तै नपाई आफ्ना भाषा गुमाए । अहिले यताका नेवारहरूले अंग्रेजी र हिन्दि बोल्लान् वा अरू स्थानीय जातीय भाषा पनि बोल्लान् तर नेपाल भाषा बोल्न सक्दैनन् ।

बाहिर स्थापित भएका सबै नेवारहरूलाई हामीलाई परेको त्यो विवशता थिएन । काठमाडौँ, भक्तपुर, पाटन, धुलेखेल, बनेपा, भीमफेदी, पनौती, टिसटुंग, पालुङ्ग आदि नेवारहरूका मौलिक स्थानबाट बाहिर स्थापित भएका स्थानहरू जस्तै भोजपुर, धरान, धनकुटा, तेह्रथुम, चैनपुर, पोखरा, बाग्लुङ्ग, तानसेन, गोर्खा, बन्दीपुर, त्रिशुली, नुवाकोट, दोलखा, सिक्किम (भारत) र ल्हासा (तिब्बत) आदि ठाउँहरूमा त्यो विवशता आइपरेन किनभने उनीहरूमा नेपाल भाषाको चलनबाट जीवनयापन सजिलै हुन्थ्यो । उनीहरूले पहिले नै ठूलो समुदायसाथ स्थापित हुन पाए र पछि आउनेहरू थपिंदा हामीतिरको जस्तो भाषा लुप्त हुने अवस्था आएन । तथापि हरेक ठाउँले आआफ्नै किसिमको शव्द, विशेषता र लवजहरू भने उन्नत गरे । स्मरणीय छ त्यही एऊटै उपत्यकामा रहेका पाटन, भक्तपुर र कान्तिपुरसमेतकै नेपाल भाषामा पूर्ण सामिप्यता छैन । तथापि भाषागत केही भिन्न विशेषताका साथै किन नहोस कमसेकम उपरोक्त बाहिर छरिएका स्थानका नेवारहरूले हामीहरूले जस्तो आफ्नो भाषा पोली खान परेन ।

सुनिन्थ्यो राजाको दरबारभित्र पनि बढीमा बोलीचालीको भाषा नेपाल भाषा नै थियो । विशेष चाकर वा सेवकहरू अशिक्षित हुने हुँदा राजाखालेहरू समेतले उनीहरूसँग नेपाल भाषा नै बोल्न सजिलो पर्थ्यो रे । शिक्षक र स्वकीय सचिबदेखि पिउन, ड्राइबर वा फूल गोड्ने मालीसम्म पनि नेवार समुदायकै हुने कुरा यहाँ स्मरणीय छ । त्रिभुवनका व्यायाम शिक्षक धर्मभक्त माथेमा थिए । तत्कालिन युवा कवि सिद्धिचरण श्रेष्ठ उनका अभिन्न मित्र थिए । महेन्द्रकै स्वकीय सचिव मधुसुदन राजभण्डारी थिए । विरेन्द्रका शिक्षक नायरायण सिंह थिए । उनका अंगरक्षक युवराज हुँदैदेखि नै शान्तबहादुर मल्ल थिए । तर महेन्द्रको सत्रसाले नीतिले भने बिरेन्द्रको साथमा नेवारहरू अन्तरंगी भएपनि नेपाल भाषा प्रचलनमा केही असर पर्यो होला भन्ने म सोच्दछु । त्यस्तै रानीहरू राणाखानदानबाट आउने हुँदा उनीहरूका बढी झुकाउ खसभाषामूलक दरबारिया भाषामा थियो रे तर उनीहरू नगन्य हुँदा त्यतैको रीतिमा ढल्न परिहाल्यो । पछिल्ला पुस्ताका राजकुमारहरूमा भने विदेश पढ़न जाने व्यवस्था हुन लाग्दा अंग्रेजी हावी हुन गयो । होइन भने उनीहरूका लागि नेपाल भाषा र दरबारिया खसभाषामा कुनै अन्तर थिएन । बिरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्रले समेत कुनै पनि नेवार भेट्दा नेपालभाषामै भलाकुसारी गर्थे भनिन्छ । ज्ञानेन्द्र राजा भैसकेपछिको कुरा हो केशव स्थापितलाई राजाले भेट दिंदा “हाल खबर के छ” भनेर पहिले उनैले नेपाल भाषामा सोधेका थिए रे ! अनपेक्षित नेपाल भाषाको प्रयोग राजाबाट हुँदा केशव स्थापित त ट्वाँ परेका थिए रे ! उनले एउटा अन्तार्वर्तामा यसो भनेका छन् ।

मेरो भनाइ हो राजाको दर्बारभित्र पनि नेपाल भाषा हावी थियो र यो २०२०/२५ सालमा मात्र होइन पृथ्वीनारायण शाहको पालादेखि हो । पृथ्वीनारायण शाहले युवाकालमा भक्तपुरको दरबारमा बसेर ५ वर्षसम्म विद्या अध्ययन गरेको इतिहास छ । उनि कुनैपनि नेवारसरह नेपाल भाषा बोल्थे । राजा रण बहादुर शाह र राजेन्द्र विक्रम शाहले त नेपाल भाषामा कवितानै लेखेका कुरा माथि नै लेखें । यता शाह राजाहरूको दरबारमा महेन्द्रको पालामा आइपुगेर मात्र सत्रसाले एक भाषाको नीतिले यसलाई अंकुश लाग्यो ।

नेपाल भाषाले विशेष राणाहरूको समय (बि स. १९००३- २००८) मा अति दमन व्यहोर्न पर्यो । (Singh, Phatte Bahadur (September 1979). “Nepali Biharya Aitihasik Pristabhumi (“Historical Background of Nepali Bihar”)”. Jaa (Kathmandu: Nepal Bhasa Sahitya Pala, Tri-Chandra Campus). Page 186)

बिस १९६३ मा अड्डा अदालतमा नेपाल भाषाको प्रयोग निषेध भयो र यो भाषामा लेखिएको कुनै पनि लिखत प्रमाण नमानिने भयो । (Hutt, Michael (December 1986). “Diversity and Change in the Languages”. CNAS Journal (Tribhuvan University). Retrieved 20 March 2011. Page 10). यति सम्म कि १९९७ मा नेपालभाषामा कविता संग्रह निकालेको निहुँमा चित्तधर हृदयलाई छ वर्ष कैद र नेपालभाषामै ‘वर्षा’ शीर्षक आपत्तिजनक कविता लेखेको भन्दै सिद्धिचरण श्रेष्ठलाई १२ वर्ष कैद सजाय सुनाइयो। फत्तेबहादुर सिंहलाइ त नेपालभाषामा कविता संकलन निकालेकालेकै कारणमा जन्मकैद र सर्वस्वहरणको सजाय भएथ्यो ।. (Lienhard, Siegfried (1992). Songs of Nepal: An Anthology of Nevar Folksongs and Hymns. New Delhi: Motilal Banarsidas. ISBN 81-208-0963-7. Page 4.) साथै, बिस २००१ मा ४ जना बौद्ध भिक्षुहरूलाई यो भाषा प्रयोग गरेको अभियोगमा देश निकाला नै गरियो । (LeVine, Sarah and Gellner, David N. (2005). Rebuilding Buddhism: The Theravada Movement in Twentieth-Century Nepal. Harvard University Press. ISBN 0674019083, 9780674019089. Pages 47-49र Hridaya, Chittadhar (1982, third ed.) Jheegu Sahitya (“Our Literature”). Kathmandu: Nepal Bhasa Parisad. Page 8)

म पच्चीससालतिर काठमाडौँमै स्थाई रूपमा बस्ने गरी आएँ । महेन्द्रले सत्रसाले पंचायती शासन सुरु गरेपछि ‘एक भाषा एक भेष’ को नीति लागु भइसकेको थियो । ०२६–०२७ सालतिर रेडियो नेपालमा नेवारी र मैथिली भाषाका विज्ञापनहरू प्रसारण गर्नै बन्द गरियो । जबकि हिन्दि, जापानी अंग्रेजीको लागि त्यो निषेध थिएन । लोकसेवा आयोगका राजपत्रांकित कर्मचारीहरूको पदोन्नतिको लागि नेपाली, संस्कृत, हिन्दी, अंग्रेजी वा कुनै पनि अरू विषयमा एमए र पीएचडी गर्नेलाई थप अंकको सुबिधा थियो जबकि यो सुविधाबाट नेपालभाषा र मैथिलीमा एम र पीएचडी गर्नेलाई थिएन ।

यस्तो अवस्था भएपनि त्यस बेलासम्म नेपालमा नेपाल भाषाको स्थिति आजको जस्तो कम्जोर थिएन । भक्तपुर र पाटनको त कुरै भएन केही फरक परेको भनेको काठमान्डूमा थियो । तथापी काठमान्डूमा बाहिरबाट आउनेहरूले दैनिकी चालाउन सजिलो पर्ने भनी अझै टाक्क टुक्क नेपाल भाषा बोल्न सिक्थे । छोटो समयको लागि आउनेहरूको त कुरै भएन तर महिनौ बस्नेहरूले त नेपालभाषा निक्कै सिक्थे नै । वर्षौं बस्नेहरू स्थानीय नेवारहरूसंग पूरै दोहोरो सम्बाद गर्न सक्षम देखिन्थे । जिब्रोको लवजमा भने फरक हुन्थे र नेवारहरूकै लवजमा कुरा गर्न त्यसबेला पनि बाहिरकाहरू पुरै प्रयत्नरत देखिन्थे ।

काठमान्डू आउन अघि मैले दोलखामा डेढ वर्ष मास्टर भएर काम गरेको थिएँ । त्यता बस्दा दोलखे नेपाल भाषा सिकेको थिएँ । दोलखे नेपाल भाषा अरूतिरको भन्दा पूर्णरूपले अलग रहेछ । अरुतिर “छु?” भन्दा दोलखेहरू “हाति?” भन्दा रहेछन । “दु” भन्दा “दम” भन्दा रहेछन । “दुला?” भन्दा “दमरा?” भन्दा रहेछन । र “मखुला?” भन्दा “मखेरा?” भन्दा रहेछन । दुइ वा तीन कहिंका नेवारहरू पनि एक ठाउँ आउँदा एक अर्कालाई सजिलै बुझछन । तर दोलखे नेवार मिसिंदा त्यसरी बुझ्न सम्भव हुन्न। धेरै पहिलेदेखिनै यसले आफ्नै खाले विशेषताहरू विकाश गरेको बुझें । मूल एकै थियो भने पनि धेरै पहिलेदेखि नै अलग भएकोले निक्कै अन्तरका बिशेषताहरू विकास गर्दै स्थापित भएको रहेछ. मैले यस बारेमा पनि एक अनुसन्धानमूलक लेख लेखेको छु र मेरो “के किन भनियो ?” भन्ने पुस्तकमा प्रकाशित गरेको छु । (यस लेखलाई http://aswikrit.com/index.php?linkId=473 Inline image’, मा हेर्न सकिन्छ)

यसरी दोलखाको नेपाल भाषा सिक्दा मैले पहिले सिकेको नेपाल भाषा पूरै छोपिन गयो । अब काठमान्डू आएर नेपाल भाषा बोल्न खोज्दा दोलखे भाषा नै अगाडी आउंथ्यो । जे होस् बिस्तारै पहिलेको मेरो नेपाल भाषाको ज्ञान फिर्ता त भयो तर अब अगाडी बढ्न भने सकेन। त्यो यस कारणले पनि कि सत्रसाले महेन्द्रको नीतिले अवश्यकता बोध हुन दिएन। आफ्नो पढाइ अरू बढाउन थियो र कुनै पनि व्यवसाय गर्दै परिवार पनि पाल्नु थियो । कर नपरे पछि त्यो भाषा सिक्ने कुरो रहरमै सिमित हुन पुग्यो र रहरको लागि मलाई समय उपलव्ध भएन।

जेहोस म आएको साल अर्थात पच्चीस सालसम्म पनि उपत्यकामा नेपाल भाषा उच्च प्रयोगको स्थितिमा थियो । शिक्षा, पहुँच र सुवीधाहरूका कारणले अरू जाति भन्दा नेवारहरू नै बजार स्कूल र कार्यालयहरूमा छाएका थिए । अनि त उनीहरूले आफ्ना भाषा त प्रयोग गर्ने नै भए । हाम्रा केटाकेटीहरू स्कूल गएर फर्कंदा हामीले जानेका भन्दा धेरै बढी शव्दावलीहरू नेपाल भाषाको प्रयोग गर्थे । साथीहरूसंग त उनीहरू नेपाल भाषामै सम्बाद गर्थे । अरू त अरू हामीले घरपट्टीसंग कुरा गर्दा कैयुँ अप्ठेरो अवस्थामा आफ्ना बालबच्चाहरूलाई दोभाषेको रूपमा प्रयोग गर्ने गर्थ्यौं । तर सत्रसाले एक भाषाको नीतिले स्कूलले पठन पाठनको भाषा अब खस भाषा मात्र हुन लागेको थियो । अरू भाषालाई वर्जीत गरिएको थियो । यसरी स्कूलहरूबाटै नेपाल भाषा त्यत्तिकै सेलाउँदै गयो । पछि हामीले आफ्ना बच्चाहरूलाई नेपाल भाषा बोल्न उत्साहित गर्दा ‘यो भाषाले त हाम्रो बोलीको लवजै बिग्रन्छ. काठमान्डूको नेवारहरूको जस्तै टट मट हुन्छ । साथीहरू सबैले गिज्याउँछन्, सरहरूले पनि गिज्याउँछन्’ भन्न लागे । काठमान्डूकै नेवार बालबच्चाहरूले पनि अब नेवारी बोल्न चाहन्नथे । सबै बालबच्चाहरूको मनमस्तिष्कमा आफ्नै भाषा अब बिग्रौल भाषा भन्ने भयो । जुन भाषा एकदसक अघिसम्म प्रमूख भाषा सरह गनिन्थ्यो र बाहिरीहरूको सिक्नै पर्ने भाषाको रूपमा इज्जत थियो त्यो बिस्तारै स्कूलदेखि बर्जीत भयो र अपहेलित भयो।

उबेला मेरा पुस्ताका बाहिरी नेवारहरूलाई स्वयंका पढ्ने वा स्थापित हुने संघर्षमा लाग्न पर्दा यो भाषा मर्दनको स्थितिप्रति चिन्ता लिने समय कत्ति भएन नै । यही भाषा बोल्दै गरेका उपत्यकाका बहुदा नेवारी समुदायमा पनि यसको चिन्ता भएन । धेरैमा आफ्ना बालबच्चालाई टट मटहीन खसभाषानै सिकाउन सही लाग्यो ताकी उनका सन्तानले पछि भाषागत हेला बेहोर्न नपरोस । यसै दौरानमा जताततै महंगा अंग्रेजी माध्यमका स्कूलमा पढाउने चलन आयो । यसले राष्ट्रभरका सबै नेवारहरूका सन्तानलाई पहिलो असर गर्यो । किनभने त्यो अंग्रेजी पढाउने प्रतिष्पर्धामा नेवारहरू नै अघि परे । उनीहरूसंग पैसा थियो र स्कूलहरू पनि उनीहरूले नै बसाएका शहर बजारमै पहिले खुलेकाले सुगम पनि थियो । बालबच्चामा अब अंग्रेजी भाषा प्रथम भाषाको रूपमा पस्किइएको थियो । समस्त समुदायले त्यही अनुरूपमा आफ्ना बालबच्चाहरूलाई शिक्षा दीक्षा दिन लागे । यसरी अंग्रेजी भाषाको प्रवर्द्धनले नेपाल भाषालाई अरू क्षति पुर्यायो ।

केही वर्षमै उनै बच्चाहरूले नेपाल भाषा बोल्न छाडे । मेरै लागि घरपट्टिसंग सम्बाद हुँदा दोभाषे बन्ने गरेका बच्चाहरू अब नेपाल भाषा नजान्ने बने । अचम्म अर्को के पनि भने अब घरपट्टीका बच्चाहरू उनका मातापितालाई खसभाषा बुझाउन हामीबीच दोभाषे बन्न लागे । कालान्तरमा उनै बच्चाहरू (हामी पछिका दोस्रो पुस्ता ) मातापिता हुँदाको स्थिति के बन्यो होला? उनीहरूले पनि आफ्ना बालबच्चा (अर्थात हाम्रा नातिनातेनाहरू) को शिक्षाको लागि अंग्रेजीलाई प्रथम प्राथमिकता दिए र दोश्रोमा नेपाल भाषाको प्रयोगले शुद्ध खसभाषा बोल्न लेख्न व्यवधान हुन्छ भन्ने सोचका साथ नेपाल भाषालाई त्यस्तै हेला गर्न सिकाए । आफूले त बोलेनन् बोलेनन् बच्चाहरूलाई समेत बोल्नबाट बन्चित गराए । अंग्रेजी भाषा चाहिं अंग्रेज सरह बोलुन् तर नेपाल भाषा नबोलुन् भन्ने मानसिकता साथ उनीहरूले आफ्ना सन्तान हुर्काए । अब आज त्यसरी हुर्केका उनै बच्चाहरू (अर्थात हाम्रा नातिनतेना अर्थात तेस्रो पुस्ता) को पालो आएको छ ।

सन् बिस २००९ मा यो भाषा बोल्नेको संख्या नेपाल उपत्यकामा ७४.९५ % थियो र २०४८ मा झरेर ४३.९३%. देखियो । (Malla, Kamal P. “The Occupation of the Kathmandu Valley and its Fallout”. p. 3) । अब यो २३ वर्ष पछिको स्थिति के भएको होला ? यो नेपाल भाषा र संस्कृति जति नै उन्नत भएपनि अहिले लुप्त हुने स्थितिमा पुगेको विदेशी विद्वान पर्यबेक्षकहरूको चिन्ता छ (Grandin, Ingemar. “Between the market and Comrade Mao: Newar cultural activism and ethnic/political movements (Nepal)”. युनेस्कोले समेत नेपाल भाषा लुप्त हुने सूचीमा परेको उल्लेख गरेको छ । (“UNESCO Atlas of the World’s Languages in Danger”.)

तर अब देशमा परिवर्तन भएको छ र एकभाषी महेन्द्रबादी नीतिको अवसान भएको छ । हरेक जाति आआफ्नो पहिचानका शूत्रहरूलाई एकवद्ध गरी आफ्ना जातिय पहिचानलाई उच्च देखाउन लागि परेका छन् । यसका लागि आफ्ना भाषालाई आफूसम्बद्ध संघिय राज्यमा राजकीय भाषाको रूपमा स्थापना गर्ने अभिष्ट पनि उनीहरूले राखेका छन्। नेवार जातिको नेवा राज्यको लागि एक मात्र राजकीय भाषा भनेको नेपाल भाषानै हुनेछ । यही स्थितिमा बल्ल बुझिएको छ महेन्द्रको एक भाषाको नीतिले नेपाल भाषालाई कतिसम्म असर पारेको रहेछ र हामी स्वयमले कतिसम्म मूर्खता गरेर उनका अभीष्टलाई साथ दियौं । साथै अंग्रेजीको फेशनमा झुमेर हामीले कतिसम्म आफनै पहिचानको गरिमालाई बिगार गरेका रहेछौं त्यो कुरा पनि आफ्नै ठाउँमा उत्तिकै जब्बर रहेको छ । अंग्रेजी सिक्दासिक्दै पनि किन हामी आफ्नो भाषालाई संरक्षण र संवर्द्धन गर्ने बुद्धि आएन ? आज हामी अंग्रेजी अंग्रेज सरह बोल्छौँ, खस बाहुन सरह खस भाषा बोल्छौँ र भारतीयसरह हिन्दि बोल्छौँ तर आफ्नै नेपाल भाषा बोल्न सक्दैनौं बुझ्न सक्दैनौं । यस अवस्थामा भोलिको आफ्नै राज्यमा हामीहरूको हविगत के हुने हो ?

मलाई नै दोभाषे चाहिन्छ । समस्त बाहिरी साना समुदायका नेवार मात्र होइन अंग्रेजी भाषाको फेशनपीडित उपत्यकाकै नेवारहरूको लागि पनि समस्या उत्पन्न हुनेछ । यस्तोमा सजिलोको लागि खसभाषा वा अंग्रेजी भाषाको लागि वकालत गर्ने पनि हामी मध्येबाटै निस्केलान् । तर त्यसरी होइन आफ्नै गल्तीहरूको पश्चाताप स्वरूप पनि नेपाल भाषा प्रवर्द्धनको लागि आजैदेखि टोलटोलमा सिकाउने कार्यक्रमहरू गर्न मेरो सुझाब छ । हामीले देख्यौं अर्को पुस्ता आउने साथ एक भाषाको अवसान र अर्को भाषाको उत्थान सजिलै हुने रहेछ । मसमेत यो छोराछोरी र नातिपुस्ताले त अब जसोतसो दुख गरेरै काट्न पर्ने भयो । तर आफ्ना बालबच्चाको कलिलो दिमागमा आफ्नो भाषाप्रति गर्व राख्ने संस्कार हुर्काउन सक्यौं भने बाँकी अर्को पुस्तासंगै अर्थात आठदस वर्षभित्रै गुमेको त्यो भाषिक वर्चश्व कायम हुनेमा म पक्का छु । धैर्यता साथ लागि परौं ।