सन् २०१४ का बिजेता जर्मनी विश्वकपबाट बाहिरियो

सन् २०१४ का विश्वकप फुटबल बिजेता जर्मनी यसपटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० बाट हराएको हो ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २-१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो । तर जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो । कोरियाले आफूसाथसाथै २०१४ का विजेतालाई बाहिर पठाए । मेक्सिको भने हारका बाबजुद पनि उपविजेता बनेको छ ।