मातृभाषा शिक्षाका लागि ध्यानाकर्षणपत्र

२२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार मातृभाषाको माध्यमबाट शिक्षामा आदिवासी अधिकार स्थापित गराउन ललितपुरस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ । पत्र बुझाउन मांभाय् शिक्षा चेतना र्‍याली पुचःको आयोजनामा नेवाः बस्ती नेवाः स्कुलको संयोजनमा पाटनढोकाबाट सुरु भएको र्‍याली मिखाबहाल, पिम्बहाल, गाःबहाल, पुल्चोक हुँदै हरिहर भवनस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

र्‍यालीमा शताब्दी पुरुष सत्यमोहन जोशी, अधिकारकर्मी मल्लके सुन्दर, डा. महेशमान श्रेष्ठलगायत विभिन्न भाषिक अधिकारमा क्रियाशील संघ–संस्था, विद्यार्थी, शिक्षक, अभिभावक तथा नेपालभाषाको माध्यमबाट अध्यापन गराउँदै आएका विद्यालयहरुको सहभागिता रहेको थियो ।