Shree Krishna Sulu

कारण (कविता)

शान्तिको नाममा
तिमी दीप बाल, यज्ञ हाल, परेवा छाड या वार्ताको अनेक 'उपाय' गर
तर शान्ति आउने छैन, किनभने
शोषणमा आधारित समाजमा अशान्तिको बीउ हुन्छ
जनताको सचेततासँगै त्यो पटक पटक प्रकट हुन्छ ।

स्वतन्त्रताको नाममा
तिमी भाषण छाँट, कानुन लाद या संबिधान बाँड
तर स्वतन्त्रता देखाउने दात मात्र हुनेछ,
किनभने
भेदभावको सिक्रीले बाँधिएका हातहरुले
तिम्रो स्वतन्त्रताको उपयोग गर्न सक्ने छैनन्
बाध्यताको टाँका लगाएका मुखहरुले
तिम्रो स्वतन्त्रताको उपयोग गर्न पाउने छैनन् ।

गणतन्त्रको नाममा
तिमी गगन थर्काउ , धर्ती चर्काउ या नारा घन्काउ
तर तिम्रो गणतन्त्रले मुक्ति मिल्ने छैन
किनभने तिम्रो गणतन्त्र शोसक फेरिने तर शोषण नफेरिने नयाँ संयन्त्र हो,
मुकुट लाउने राजा नरहने तर मुकुण्डो लाउने 'राजा' रहने षड्यन्त्र हो ।

लोकतन्त्रको नाममा
तिमी घाँटी सुकाउ, मसी सिध्याउ या साक्षी बकाउ
तर तिम्रो लोकतन्त्रले बहुसंख्यक लोकको कल्याण हुने छैन
किनभने तिम्रो लोकतन्त्र
सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई जे पनि गर्न पाउने छुटतन्त्र हो, लुटतन्त्र हो ।

त्यसैले, तिमी साँची नै शान्ति, स्वतन्त्रता, गणतन्त्र र लोकतन्त्र चाहन्छौ भने
खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने,
बाघ र बाख्रालाई एउटै खोरमा थुन्ने,
पुरानो गलत 'परम्परा' र व्यवस्था त्याग,
शोषण छोड, भेदभाव तोड, मानवता जोड,
तिम्रो आचार र बिचार न्यायिक बाटोमा मोड
तिमीले कोलाहल मचाउनै पर्दैन,
कानको जाली फुट्ने गरी चिच्याउनै पर्दैन
तिमी पुकार या नपुकार
तिमी स्वीकार या नस्वीकार
शान्ति, स्वतन्त्रता, गणतन्त्र र लोकतन्त्रको साथ
सुन्दर समाज उदाउँछ
कारण
शान्ति, स्वतन्त्रता, गणतन्त्र र लोकतन्त्र समानतासँगै मुस्कुराउँछ ।