Nepal Sambat Bhintuna Rally

सांस्कृतिक बहुलता न्हूदँया भिंतुना

मल्ल के. सुन्दर

नेपाल संवत् न्हूदँया भिंतुना
नेपाल संवत् नयाँ वर्षको शुभकामना

नयाँ वर्ष संवत्सरको अवसरमा शुभेच्छाहरुको आदानप्रदान समाजको एउटा सभ्य संस्कृति । पाश्चात्यजगत ‘न्यू एअर इभ्स’ स्वर्णिम बनाउनमा खप्पिस छन् । डिसेम्बरको अन्तिम साँझ नेपालीहरु पनि नगरकोटको शीताम्य वातावरणमा मदिराको झोलमा चुस्की मारेर वा केहीले टुँडिखेलको चौरभित्रको कठघरामा ‘उत्सव’ को लेबल लगाएर पसेको व्यापारिक रमझम मध्येबाट ‘न्यू एअर इभ्स’ को रस निचोर्दै रमाउन थालेका छन् ।

‘बसन्त महोत्सव’ को रुपमा यिन–याङ्ग लीअनुसार चिनियाँहरु झण्डै एक सातासम्म नववर्ष पर्वमा रमाउँछन् । तिब्बतीहरु ‘तासी देलेक’ को आदानप्रदानसहित ‘ल्होसार’ लाई दुई सातासम्म खेप्छन् । हाम्रा हिमाली भेगका गुरुङ, शेर्पा र तामाङहरु पनि रमाउँछन् आफ्नै मौलिकताभित्र यस ‘ल्होसार’ मा । मुसलमानहरुको ईदमा देखिने रौनक यिनै वर्षको उल्लासमय प्रतिक्षाको बोध गराउँछ । पञ्जाबीहरुको वैशाखीको हर्षोल्लासभित्रको रौनकले नववर्ष आगमनको बेग्लै सन्देश दिने गर्छन् । आपूmभित्रका खुशीका संवेगलाई आपसी साटासाट गर्ने मानवीय स्वभावका रुपहरु हुन् यस्ता उत्सव । मानिसलाई पशुवत् अवस्थाबाट पृथक राख्ने आधारभूत पक्षहरु हुन् अभ्यन्तरका चेतना उद्बोधन गर्ने यस्ता संस्कृति र संस्कारहरु ।

संवत् आफैंमा काल गणनाको पद्धतिभन्दा अरु केही होइन । तर, समाज र व्यक्तिका जीवन पर्यन्तका उतारचढावहरुसँग प्रवाहित यस्ता संवत्हरुमा संप्रेषण हुने सांस्कृतिक सुवासहरु भने प्रतिव्यक्तिको नीजात्मक संवेदनालाई प्रभावित पार्ने महत्वपूर्ण पक्षहरु हुन् । सायद, त्यसैले मानिसका लागि एउटा भित्तेपात्रोको कागजी खोस्टोमा कोरिएका दिनगन्ती पनि मनोवैज्ञानिक असरका कारण बन्छ । हरेक मानिसभित्र विद्यमान सांस्कृतिक चेतनाले अनुवाद गर्ने एउटा व्यावहारिक यथार्थ हो ।

केही वर्ष यतादेखि ‘भिंतुना’ को भाखाका नेपाल संवत्को संवत्सरलाई सार्वजनिक रुपमा मनाउने जनस्तरीय अभियान चलेको छ । उपत्यकाबाट सुरु गरिएको यस अभियान अहिले नेपाल अधिराज्यको अनेकन सहर–बजारसम्म पुगेको छ । नयाँ वर्ष आरम्भको पर्व मनाउने एउटा आफ्नो शैलीमा । शैलीमा भिन्नता होला तर, शुभकामनाको सन्देश पस्किने सार्वकालीन मानवीय संस्कार र प्रवृत्तिमा भिन्नता छैन, ‘भिन्तुना’ अभियानमा पनि । मादल घन्किँदा कहिले पनि यो त मगरले ठटाउने बाजाको ताल हो भनेर नेपाली गोडाले बिझाउनु पर्दैन । न्यातपोलको कलात्मक उचाइका लागि उभिँदा नेवारको मात्र कलाकृति हो भनेर अरुको शिर झुक्दैन । सगरमाथामाथि पासाङ ल्हामूको पाइला टेकाइमा शेर्पाहरुकै मात्र पदचिन्ह रहेछन् भनेर कुनै तराईबासीको छाती खुम्चिन्न । मारुनी वा सोरठी होस् झाँगढ वा होरिया ती पदचाप नेपाली नै हुन् । नेपाली राष्ट्रियताको उद्बोधन त भैलोको समवेत स्वरसँगै छठको भावपूर्ण अनुष्ठान र म्हपूजाको मण्डपमा गरिने आत्मचिन्तनमा रमाउन सक्नुमा निहीत छ । समाविष्ट यी सांस्कृतिक बहुलतामा खडा भएको छ हाम्रो राष्ट्रिय धरोहर यद्यपि वर्तमान संविधान पनि नेपाली समाजको यस यथार्थमा मौन छैन । सांस्कृतिक र सामाजिक बहुलताको शाब्दिक पंक्तिको आवश्यकता यस संविधानको ‘प्रजातान्त्रिक’ पहिचान निर्माणका लागि पनि आवश्यक थिए, सायद ।

अन्यथा, प्रजातन्त्रको नालीबेली बहुलताको स्वीकारोक्तिबिना रेखांकित हुन सक्ने कुरा नै थिएन । तर पनि अहिलेसम्मको हाम्रो बुझाइ के भइदिएको छ भने ‘बहुलवादको प्रयोजन राजनीतिक आस्थाका सन्दर्भभन्दा पर आवश्यक छैन । दलीय बहुलतामात्र प्रजातान्त्रिक प्रणालीमा ग्रहण गरिनुपर्ने गुण हुन्’ । प्रजातन्त्रको अर्थमा, बहुलवादको अर्थमा वर्तमानमा देखिएका व्यवहारको वृत्त योभन्दा खुकुलो छैन । अनि आजसम्मको निरन्तरता के रहेको छ भने सांस्कृतिक बहुलताको निकासमा आग्लो लगाएर मजबुत राष्ट्रियताको दिवास्वप्नमा विचरण गर्ने प्रवृत्तिको । त्यसैले मैच्याङको डम्फु होस् वा ज्यापुको धिमे होस् सांस्कृतिक पहिचानका खोजमा कहीँ कतै मुलुकभित्र घन्किन थालेपछि त्यो एकोहोरो शंख फुकाइ नै हो कि भनेर झस्कने संस्कार छ । होला, राजनीति र राज्यशक्ति माथिको पकडका लागि बहुमत र बाहुबलको सदर हुने गर्छ । तर, सांस्कृतिक फाँटमा बाहुबल र बहुमतको हुँकार नाजीहरुको विशुद्ध नश्लसहित युद्धघोषको पुनरावृत्तिबाहेक अरु के ठहरिन्छ ? सामाजिक बहुलतामा एकल संस्कृतिको कोचाइले प्रजातन्त्रलाई बिझाउने कुरा त छँदैछ यसको साथसाथै यसबाट चेचन्या, बोसनिया र कोसोभोको सीमारेखा कोर्दै जाने भयावह स्थिति पनि उत्तिकै छ । साँझ बिहान प्रजातन्त्रको अंशियार बन्ने र मध्यरातमा एकल संस्कृतिको जप गर्ने द्वैध मानसिकतामा राष्ट्रले सही गन्तव्य ठम्याउन सक्दैन ।

प्रजातान्त्रिक शासन प्रणालीले संगालेको बहुलवादी आदेशले राजनीतिको संघारलाई नाघेर कला, संस्कृति, परम्परा, भाषा, साहित्यपर्यन्त मानवीय जीवनको यावत पक्षहरुलाई छिचोल्छ । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणाहरुमा पनि यी कुराहरुको खुलस्त निर्देशहरु नभएको होइनन् । न्याय, समानता र स्वतन्त्रताजस्ता प्रजातन्त्रका न्यूनतम पक्षका अधिकारहरु प्रत्याभूति सामाजिक, राजनीतिक वा अन्य कुनै बहुलताका कारण भिन्न हुन नपर्ने ती अन्तर्राष्ट्रिय मान्यताद्वारा निर्दिष्ट कुरा हुन् । तर पनि प्रजातन्त्र र मानवाधिकारका पक्षपातीहरुको घुइँचो लागेको अहिलेको नेपाली मौसममा सांस्कृतिक बहुलतासँगको जम्काभेटलाई अपाच्य र अरुचिकर संजोगका अर्थका वितृष्णाका डकार हाल्ने प्रचलनमा ह्रास आउन सकेको छैन । नेपाल संवत्को भिंतुनामा होस् वा किराँतहरुको चण्डीनाचमा सजिलोसँग साम्प्रदायिकताको टिको लगाएर राष्ट्रिय विखण्डनका पृष्ठपोषकहरुको खेमामा निसंकोच ठेल्दै गरेको छ । यी हाम्रो प्रजातन्त्रको परिपक्वताविहीन अल्लारे स्वभावभन्दा पनि बहुल संस्कृतिका सम्बन्धका प्रतिबद्धताका गैरचाहनाको परिचायक हुन् । प्रजातान्त्रिक मूल्य र मान्यता बर्खिलापका यी चरित्र शासन व्यवस्थाकै लागि वनमारा झारभन्दा केही होइनन् । यस अतिरिक्त मुलुकभित्र मुलुककै सांस्कृतिक बहुलताका लागि उर्वरभूमिको अभावमा यो देश स्वदेश हो भन्ने अनुभूतिसमेत नपाउन सक्छ । नागरिकविहीन माटो, पाखा, पर्वत, हिमाल, खोलानाला र जंगलले राष्ट्रको बास्ना छर्न सक्दैन । यिनीहरुका हातबाट बज्ने नौमति, खैजडी, कर्नाल, दमाह, डम्पूm, ढोलक, धिमे र मादल अनि तराई, उपत्यका, पहाड र हिमालमा जम्जमाउने पर्व, मेला, चाडले रंगाउने सांस्कृतिक रंगमा सघन हुने हो हाम्रो राष्ट्रियता । हाम्रा राष्ट्रियताका पक्ष हुन् यी सब ।

नेपाल राष्ट्रको स्वतन्त्र पहिचानको एउटा ऐतिहासिक आधारशिला हो नेपाल संवत् । नेपालीहरुको आर्थिक दासताबाट मुक्ति पाएको एउटा मुक्ति दिवस हो– नेपाल संवत्को संवत्सर । एघार सय वर्षपश्चात् पुनः स्मृतिपटलमा आएर बसेको छ शंखधर साख्वाः । पूर्खाको रुपमा नेपालीहरुले गौरव गर्न सक्ने एक अर्को व्यक्तित्व † सांस्कृतिक रुपमा मुलुकको एउटा ठूलो जनसमुदायले शताब्दीऔंदेखि आफ्नो जीवन व्यवहारसँगसँगै डोहो¥याउँदै ल्याएका एउटा सम्पदा हो नेपाल संवत् । यसमा ऐतिहासिक महत्वका पक्ष त छँदैछन् यस अतिरिक्त मानवीय संवेदनाको जोखिमपूर्ण पक्ष पनि त्यत्तिकै । यस संवत्का प्रणेता शंखधर साख्वालाई राष्ट्रिय विभूतिको सरकारी घोषणा सम्भवत यी पक्षहरुको सरकारी मूल्यांकन थिए । राष्ट्रको सांस्कृतिक बहुलतालाई आत्मसात गर्ने एउटा सही जमर्को थियो त्यो घोषणा । तर, मानवीय अन्तरमनका सचेतनासँग जोडिएका यस्ता प्रसंगहरुले भने केबल सरकारी औपचारिकतामा मात्र पूर्णता हासिल गर्न सक्दैन । निश्चय पनि यी पद्धतिसम्मत पक्षका कुरा भए तर, यस्तोमा अपेक्षा हुने कुरा भनेको पद्धतिगत औपचारिकताभन्दा समाजिक प्रवृत्तिको हो । जुन कुरा अझै पनि हामीमा अभाव छन् । सांस्कृतिक विभेद वा सामाजिक भिन्नताका कारण समाजको एक पक्षको सुखदुःखमा सहभागी हुने मानवीय भावनालाई अर्को पक्षमा कुण्ठित हुनु किञ्चित अर्थमा सकारात्मक ठहरिन्न । तर, एकल संस्कृतिको मझेरीमा सबैलाई थचार्ने चाहनाबाट अभिशप्त अवशेषबाट अझै हामी मुक्त हुन सकेको छैनौं । सम्भवतः त्यसैले नेपाल संवत्को भिंतुनाको शुभेच्छामा आज पनि कतिको मन चस्कन्छ होला । आगन्तुक क्षणहरुले हाम्रा यी संकुचनलाई नाघ्ने संघारहरु खोल्नेछन् । सांस्कृतिक बहुलतालाई अंगिकार गर्ने प्रवृत्ति कायम होस् हामीमा ।

(तश्वीर - रेखा शाक्य)