वृहत्त सांस्कृतिक कार्यक्रम स्थगित, अब फागुनमा हुने

विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिडले गर्दा विभिन्न कार्यक्रमहरू स्थगित र रद्द भैरहेको सन्दर्भमा यही माघ १४ र १५ गते निर्धारित “वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम–२०७८” पनि स्थगित भएको छ । नेपाल सांस्कृतिक कला मन्दिरले करीव दुई दशक देखि गर्दै आइरहेको कार्यक्रम यस वर्ष भने कोभिडकै कारण नेपाल सरकारले कुनै पनि कार्यक्रम गर्न निषेध गरेका कारण स्थगित गर्नु परेको आयोजक संस्थाका अध्यक्ष रमेश शाही बताउनुभएको छ ।

उक्त कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं. ९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा गर्ने तय गरिएको थियो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बेला स्थगित गर्नु परे पनि अब उक्त कार्यक्रम यही फागुन २७ र २८ गते सोही स्थानमा गर्ने जनाएको छ । त्यसबेलासम्म कोभिडको त्रास न्यून हुने विश्वास लिई उत्साहका साथ उक्त कार्यक्रम गर्ने अध्यक्ष शाहीले बताउनुभएको छ । कार्यक्रममा विभिन्न जात जातीका प्रस्तुतीहरूका साथै लोकप्रिय गायक गायिकाहरूको समेत प्रस्तुती रहने जनाएको छ ।