लकडाउन उल्लंघन रोक्न भैरहवामा सेना परिचालन

सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्नेहरु बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेनाको परिचालन गरिएको हो।

यसअघि सेनाले सहरको मुख्य बजार क्षेत्रमा गएर पसल बन्द गर्न भनिएको थियो । विशेष गरी साँझ र बिहान भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक लगायत क्षेत्रमा लकडाउनको समयमा अवज्ञा बढी हुने गरेको र बजारमा पुग्नेहरुले सामाजिक दूरीसमेत कायम नगरी हिंडेको पाइएको छ । नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ। भारतीय बजार सुनौली लगायत खुल्ला सिमानाका कारण रुपन्देही कोरोना भाइसरका कारण जोखिममा रहेको छ।