अब लसुन रोप्न आउन्नँ

डिल्ली आचार्य

तस्बिर इन्द्रचोककी प्राणमाया महर्जन (८७) को हो । हालैको एउटा मध्याह्न १२ सन्तानमध्ये बाँचेका पाँचमा पनि कान्छो मुकुन्दको स्कुटर चडेर प्रधान न्यायालय (हालको सर्वोच्च अदातल) मा भेटिइन् । उद्देश्य थियो कुनैबेला आफूले लसुन, मकै र प्याज रोप्ने बारीको निरीक्षण गर्नु । अदालत छिर्दा ७० वर्षअघिजस्तो त्यहाँ लसुन, प्याज र मकैका बोट भेटिएनन् । भेटिए त केवल बढेमानका भवन र सुकिला तर एकैनासका लुगा लगाएका मान्छे ।

प्राणमायले एक घन्टापछि कुरा बुझिन्, आफ्नो मकैबारीभित्र छिर्न रोक्ने एकनासे सुकिला पोसाकका मान्छै त प्रहरी पो रहेछन् । त्रत्रत्र नेपाली राम्रोसँग बुझ्न नसक्ने प्राणमाया सुकिला मान्छेको झन्झटिलो चेकजाँचपछि मकैबारीभित्र छिरिन् । एक टकले मकैबारी नियालिन् । एकाएक बुढ्यौलीका कारण भित्र छिरिसकेका आँखाबाट आँसु रसाएर आए । संयोगवश लेखकको आँखा बूढीआमाको आँसुमा पुग्छ । ‘किन रुनुभएको आमा ? मुद्दा हार्नुभयो कि के हो ?’ प्रश्नलगत्तै नजिक रहेका छोरासँग खासखुस गरिन् । छोराले भने, ‘आमाले भनेको बसेर कुरा गरौं रे †’ कान्छो छोरा मुकुन्दको साथमा प्राणमाया सर्वोच्च अदालतस्थित पत्रकार कक्षमा टुसुक्क बसिन्, छेवैमा रहेको बोतलबाट अलिकति पानी पिइन् । अनि सुरु भयो, उनकोे कथा । त्रत्रत्र इन्द्रचोककी स्थायी बासिन्दा प्राणमाया हालको सर्वोच्च अदालत रहेको जग्गामा ७० वर्षअघि आफ्नी आमासँग मकै, प्याज, लसुनलगायतका बाली उठाउन इन्द्रचोकबाट आउँदिरहिछन् । हाल सर्वोच्च अदालत भवन रहेकै ठाउँमा उनको दुई रोपनी पुख्र्यौली जग्गा रहेछ । नेपाल बार रहेको, महान्यायाधिवक्ताको कार्यालय रहेको जग्गा भने उनकै दाजुभाइ खलकका । ‘त्यसबेला बाबु यहाँ कति मकै फल्थे,’ छोराको सहारामा उनले बेलिविस्तार लगाइन् ।

एक दिनको कुरा हो रे - प्राणमाया बारीमा काम गर्दै थिइन् । हालको सिंहदरबार मूलगेटबाट सांग्लोले बाँधेको एउटा मान्छेलाइ प्राणमायाको बारीतिर लिएर आएछन्, केही हतियार बोकेका व्यक्तिले । ‘एकछिन बारीमा हराएर निस्किएपछि यसो हेरको त गणेशमान सिंहलाई पाखा बसाउन (दिसा गराउन) पो लिएर आएका रहेछन् ।’ प्राणमायामा इतिहास सुनाउँदा हर्षले अनुहारमा थोरै मुस्कान देखियो । छेवैमा रहेका केही वकिल र पत्रकारले चासो देखाएपछि प्राणमाया थप हौसिइन् । त्रत्रत्र इन्द्रचोक, खिचापोखरी हुँदै हाल प्राणमायाको स्थायी बसोबास कलंकीमा छ ।
उनी कलंकी कसरी पुगिन्, त्यो कथा छाडेर एकछिन उनका श्रीमान्को बहादुरीतर्फ लागौं । ‘बुझ्नुभयो, युवराज ज्ञानेन्द्र (पूर्वराजा) को पास्नीमा हाम्रा बूढाले बग्गी चलाएर दुई मोहोर पाएका थिए ।’ अन्ततः त्यही दरबार र राणाकै कारण प्राणमायाले प्राणभन्दा प्यारो लसुनबारी सरकारलाई सुम्पनुपरेछ । श्रीमान्को दरबारियासँगको संगतकै कारण तत्कालीन शासकको आँखा उनको रामशाह पथस्थित दुई रोपनी जग्गामा परेछ । सुुन्दर जग्गामा तत्कालीन शासकले कुनै कार्यालय स्थापना गर्न सोचे होलान्, त्यसैले प्राणमायाको परिवारले थाहै नपाई जग्गा अधिग्रहण गरिएछ ।
त्रत्रत्र एक दिन सधैंजस्तो तरकारीबारीमा आउँदा ७० वर्षपछि जसरी प्राणमायाको चेकजाँच भयो ‘शासकहरू’ ले त्यसरी नै सहजै बारीमा जान दिएनछन् । ‘बुझ्दै जाँदा थाहा भयो, हाम्रा बारी त राणा सा’पहरूले लगिसकेछन् ।’ प्राणमाया भन्छिन्, ‘अनि हामी त त्यहीं बसेर रुन पो थाल्यो ।’ प्राणमायाको परिवार रोएको देखेपछि मोहनशमशेर आएर जग्गाको २ सय रुपैयाँ दिने वचन दिएछन् । चित्त नबुझी–नबुझी राणासा’पको वचनमा त्यही वर्षदेखि उनीहरूले लसुन, प्याज र मकै रोप्न छाडिदिए । तर, अचम्म त्यो रकम प्राणमायाले अहिलेसम्म पाइनछन् । मोहनशमशेर हुँदै उनका नाति राप्रपा नेता पशुतिशमरशेरसम्मकोमा धाउँदा पनि रकम नपाएपछि प्राणमाया अहिले मोहनशमशेरदेखि पशुपतिशमशेरसम्मको नाम सुन्न रुचाउँदिनन् । छोराका अनुसार प्राणमाया हरेक महिना सर्वोच्च अदालत बसेको जग्गा सम्झँदै रुन्छिन् रे † ‘मैले आमालाई सम्झाउन कति पटक त पैसा दिएँ होला नि आमा तपाईंले बिर्सनुभयो ? भन्दै सम्झाउँछु आमा माने पो †’ मुकुन्द भन्छन् । २००७ सालमा प्रधानन्यायालय हालको सर्वोच्च अदालत स्थापना गर्नुअघि नै तत्कालीन राणा शासकहरूले प्राणमायाजस्ता थुप्रै रैतीको जग्गा अधिग्रहण गरेका रहेछन्, अधिग्रहणबापत प्राणमायाका ससुरा (गुरुचा) सँग बसेर कागज पनि गरियो तर रकम आएन ।

रकम नआए पनि प्राणमायामा जग्गाप्रतिको मोह मरेको छैन, त्यसैलै ८७ वर्षको उमेरमा पनि उनी आफ्नो जग्गा हेर्न सर्वोच्च अदालत परिसर आइन् । प्राणमायाको कुरा सुन्ने वकिल ओमप्रकाश अर्यालले ‘अब माया मार्नुहोस् आमा’ भनेपछि उनी सरासर ढोकाबाट बाहिरिइन् । बाहिरने क्रममा उनले यति मात्र भनिन्, ‘अन्याय गरेर हडपेको जग्गाबाट धेरैले न्याय पाइरहेका रहेछन्, अब चंै फर्केर लसुन रोप्न आउन्नँ ।’