गोरखापत्र दैनिकका प्रधान सम्पादकमा माथेमा

गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको प्रधान सम्पादकको जिम्मेवारी वरिष्ठ पत्रकार पुष्कर माथेमालाई दिएको छ । पुस २० गते सोमबारबाट लागू हुने गरी उहाँलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिइएको हो ।

गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका कमल रिजाललाई संस्थानको मधुपर्क मासिकको सम्पादकको जिम्मेवारी दिइएको छ ।

यसैगरी सोही दैनिकको प्रवन्ध सम्पादकको जिम्मेवारी अर्का वरिष्ठ पत्रकार श्रीओमप्रसाद श्रेष्ठलाई दिइएको छ । उहाँलाई पनि पुस २० गतेबाट लागू हुने गरी उक्त जिम्मेवारी दिइएको संस्थान व्यवस्थापनले जनाएको छ ।

प्रधान सम्पादकको जिम्मेवारी पाउनुपूर्व गोरखापत्र अनलाइनको प्रमुखका रूपमा कार्यरत माथेमाले यस अघि पनि गोरखापत्र दैनिक र दि राइजिङ नेपालको प्रधान सम्पादकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । माथेमा गोरखापत्रको सह–प्रकाशन युवामञ्च मासिकको सम्पादकसमेत भइसक्नुभएको छ ।

विगत ३० वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील माथेमा २०४५ साल जेठ १८ गते गोरखापत्र संस्थानको नेपाली समूहमा उप–सम्पादक पदबाट सेवा प्रवेश गर्नुभएको हो ।

जर्मनीस्थित इण्टरनेशनल इन्स्टिच्यूट अफ जर्नलिज्म, डेनिस स्कुल अफ जर्नलिज्म र नेपाल प्रेस इन्स्टिच्यूटबाट पत्रकारिता प्रशिक्षण प्राप्त गर्नुभएका माथेमा पत्रकारिता प्रशिक्षण कार्यमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँले वातावरण पत्रकारिता पुरस्कारका साथै रङ्गमञ्च र साहित्यसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।

उहाँले गोरखापत्र दैनिकको नेतृत्वका लागि पुनः प्राप्त जिम्मेवारीलाई सार्थक पत्रकारिताका लागि एक अवसरका रूपमा प्रयोग गर्दै नेपाली जनतालाई सुसूचित गर्ने आफ्नो साधनालाई इमानदारी एवं कर्तव्यनिष्ठताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निमित्त प्रवन्ध सम्पादकको जिम्मेवारी पाउनुभएका श्रेष्ठ नेपाली साहित्यको क्षेत्रमा श्रीओम श्रेष्ठ ‘रोदन’को नामबाट परिचित हुनुहुन्छ ।
उहाँले यस अघि मधुपर्क मासिकको सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

उहाँ वि.सं. २०४८ साल फागुन १२ गतेबाट संस्थानको नेपाली समूहको उप–सम्पादक पदबाट सेवा प्रवेश गर्नुभएको हो ।
साहित्यिक क्षेत्रमा उहाँका निवन्ध, नियात्रा र लघुकथा गरी १० वटा कृति प्रकाशित छन् । उहाँ लघुकथा समाजको अध्यक्षसमेत हुनुहुन्छ ।
कोरिया र तत्कालीन चेकोस्लाभाकियाबाट पत्रकारितासम्बन्धी तालिम लिनुभएका श्रेष्ठले प्रेस काउन्सिल पुरस्कारसहित विभिन्न आठ वटा राष्ट्रिय पुरस्कार पाउनुभएको छ ।