Welcome, Guest Log In Sign Up  

मृगौला व्यापारी डा. अमित प्रहरी फन्दामा

dineshby dinesh
Fri Feb 8, 2008 7:24 pm NST

झन्डै डेढ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित कुख्यात मृगौला व्यापारी डा. अमितकुमारलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । निजलाई प्रहरीले चितवनको एक होटलबाट बिहीबार पक्राउ गरेको थियो ।

भारतमा रेडकर्नर नोटिस जारी भइ भारतीय प्रहरीले खोजी गर्न थालेपछि उनी क्यानाडा गएको र जनवरी २६ मा क्यानाडाबाट काठमाडौं आई र्‍याडीसन होटलमा बसेका उनी आफ्नो बारेमा समाचार आउन थालेपछि ५ फेब्रुअरीमा चितवन गएपछि त्यहाँ खोजी गरी प्रहरीले उनलाई एक होटलमा पक्रेका हुन् ।

उनले भारतमा मृगौला करिब चारदेखि आठ लाख भारतीय रुपैयाँमा मृगौला बेच्ने गरेको र तीन सय मृगौला प्रत्यारोपण गरी सकेको संलग्न प्रहरी अधिकारीले जनाए पनि डा. अमितले यसलाई अस्वीकार गर्दै भने- 'यो गलत हो, मैले कुनै अपराध गरेको छैन ।'

उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी अनुसन्धान महाशाखाले जनाएको छ । पक्राउ अभियुक्त डा. अमितमाथि विदेशी मुद्रा विनिमय ऐन, इन्टरपोलद्वारा जारी रेर्डकर्नर नोटिस अर्न्तर्गतको कानुनी प्रक्रिया र मानव अङ्ग प्रत्यारोपण ऐनबमोजिन कारबाही दाबी गर्दै आइतबार अदालतमा पेस गर्ने जनाएको छ ।



यसरी फन्दामा परे डक्टर किड्नी

सुरक्षित हुन चितवनको सौराहा आएका डा.अमितकुमार उनकै हिसाबले नजानिँदो पाराले प्रहरीको फन्दामा परे।

मृगौला प्रत्यारोपण कार्यमा संलग्न भएको आरोपमा भारत सरकारले रेड कर्नर नोटिस जारी गरेपछि उनले देश छाडेका थिए। भारतबाट क्यानडा पुगेका डा. अमित गतहप्ता मात्र साउदी अरेबिया हुँदै नेपालको राजधानी काठमाडौँ आइपुगेका हुन्।

काठमाडौँका विभिन्न होटल हुँदै बुधवार अपराहृन ४ बजे उनी चितवनको सौराहा आइपुगे। सौराहाका विभिन्न होटल चाहार्दै सा“झपख उनी जङ्गल क्याम्प रिसोर्टमा पुगे। रिसोर्टका वेटर रामचन्द्र नेपालसँग भेटघाट गरेपछि लगेज कोठामा राखी आडैको होटलमा खाना खान पुगे। भारतीय खाना खाई एक हजार सात सय पचास रुपैयाँ तिरेर पुनः लजमा पुगे। राती ८ बजे होटलबाहिर सार्वजनिक टेलिफोनबाट विराटनगरमा डा.अमितले फोन गरे।

व्यवसायीका अनुसार २३ मिनेटसम्म उनले कुराकानी गरेका थिए। कुराकानीका क्रममा डा. अमितले भारतमा भन्दा नेपालमा सुरक्षा व्यवस्था अझ कडा भएको जनाएका थिए। उनले नेपालमा आफू धेरै समय रहननसक्ने पनि जनाएका थिए।

उनी बसेको लजमा टेलिभिजन नभएपछि भोलिपल्ट साथी मनिषसँगै नजिकैको अर्को होटलमा सर्ने निर्णय गरे। बिहीवार बिहान साढे ६ बजे साथीसँगै डा.अमित नजिकैको वाइल्डलाइफ क्याम्पमा पुगे। होटलका कर्मचारी महेश्वर रेग्मीका अनुसार उनीहरु फरक ठेगाना लेखाएर लजमा बसेका थिए।

डा.अमितले सुरेश रेग्मी नाम लेखाई काठमाडौँ कुपण्डोल-३ सानेपा ठेगाना दिए। विदेशी पर्यटकका लागि महङ्गो भाडा पर्ने भएपछि आफूलाई नेपाली बताई एकदिनको आठ सयका दरले लजको कोठा नं. ६ बुक गरे। विदेशीका लागि सो कोठाको प्रतिदिन रु.१६ हजार २०० लाग्ने गर्छ।

कोठामा पुग्नुअघि डा.अमित रिसेप्सनभित्र छिरे। रिसेप्सनमा रहेका महेश्वर रेग्मीसँग कलम मागे, महेश्वरले कलम दिएपछि अलि राम्रो कलम उनले मागे। महेश्वरले त्यहाँ कलम नभएको जनाएपछि अन्यत्रबाट ल्याइदिन आग्रह गरे। वेटरले अर्को पसलबाट १२ रुपैयाँ पर्ने डटपेन किनेर ल्याइदिए, तर डा. अमितले सो कलमका लागि वेटरलाई ४५ रुपैयाँ थमाइदिए।

यता डा. अमितकुमार सौराहा पुगेको सुइँको पाएपछि वरिष्ठ प्रहरी उपरीक्षक उपेन्द्रकान्त अर्यालको आदेशअनुसार चितवनका प्रहरी निरीक्षक पुष्कलराज रेग्मीको निर्देशनमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब निरीक्षक राजु शर्मा सोही कार्यालयको बा.१.ज. ७४३१ नम्बरको गाडी लिएर प्रहरीचौकी बछ्यौली पुगेका थिए। आफ्ना सहकर्मीलाई चौकीमै छाडेर शर्मा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चिमबहादुर तामाङलाई मात्र लिएर सिभिल ड्रेसमा सौराहा पुगेका थिए।

भारतीय अतिथि कुन होटलमा छन् भनेर अधिकांश होटल चहार्दा समेत आफूहरु असफल भएको नायब निरीक्षक शर्माको भनाइ छ। सोपश्चात् प्रहरी अपराध अनुसन्धान महाशाखामा खबर गरेपछि डा. अमितको मेलमार्फत् फोटो उनीहरुले पाए। पुनः फोटोलाई आधार बनाएर लज चाहार्ने काम सुरु भयो। अन्त्यमा बेलुकी पौने ५ बजेतिर वाइल्डलाइफ क्याम्पमा सुरेश रेग्मीका नामबाट बस्ने व्यक्ति डा. अमित भएको उनीहरुलाई पक्कापक्की भयो। नजिकै चौकीमा रहेका प्रहरीलाई खबर गरी उनीहरु डा. अमित बसेको ६ नं. कोठामा पुगे। झण्डै एक घण्टाको कुराकानीपछि अनुसन्धानका लागि भन्दै डा. अमितलाई पक्राउ गर्न उनीहरु सफल भए।

नायब निरीक्षक शर्माका अनुसार छोडिदिए २० लाख रुपैयाँ दिन्छु भन्न सुरु गरेका अमितले त्यहाँबाट भरतपुर ल्याइपुर्‍याउँदा बाटोमा एक करोड रुपैयाँसम्म दिने लोभ देखाएका थिए। राति ८ बजे भरतपुर ल्याइपुर्याइएका डा. अमितले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी र प्रहरी निरीक्षक प्रकाश मल्लसँग बयान दिन हिच्किचाएनन्।

प्रहरी निरीक्षक मल्लका अनुसार विगत १५ बर्षेखि आफूले मृगौलाको कारोवार सुरु गरेको र बढी मात्रामा युरोपेलीलाई बिक्री प्रबन्ध मिलाएको उनले स्वीकारेका छन्। डा. अमितले आफूले बिरामी र दलालका बीचमा सर्म्पर्क मात्र गराएको र एउटा मिर्गौला करिब रु तीन लाखको हाराहारीमा बिक्री गर्ने गरेको पनि उनले स्वीकारे। डा. अमितले गोदावरीमा जग्गा खरिद गरी अस्पताल बनाउने आफनो लक्ष्य रहेको पनि जनाएका थिए।

भारतको नयाँ दिल्ली वि १/५३ दोस्रो तला माल्वियानगर घर भएका डा अमित कुमारबाट चितवन प्रहरीले १ लाख ४५ हजार यूरो, १८ हजार नौ सय अमेरिकी डलर, ट्राभल्स चेक, ९ लाख ७३ हजार ५ सय को भारतीय ड्राफ्टलगायत तीन थान नोकिया मोबाइल टेलिफोन सेट, रोयल बैंक अफ क्यानडाको ०१४ देखि ०२५ सम्मको चेक बुक एक थान तथा क्यानाडा ट्रसको ००२ देखि ०२० सम्मको चेक बुक बरामद गरेको छ।

प्रहरीले यसबाहेक ए.वि.एन.ए. एम. आरको बैंक विरला सन लाइफ इनसुरेन्स कम्पनीको भारतीय रुपैयाँ ४६ हजार २ सय ६० को चेक १ प्रति त्यसैगरी ०४७५३७ नम्बरको भारतीय राहदानी एक थान, हवाई टिकट पाना चार प्रति र पासपोर्ट साइजको फोटो १० प्रति चितवन प्रहरीले बरामद गरेको छ।

नर्सिङ्ग होम खोल्ने सिलसिलामा नेपालमा आएको उनले प्रहरीसमक्ष बयान दिएका छन्। डा. अमितलाई पक्राउपछि गृह प्रशासनले सूचना कसैलाई नदिन ठाडो आदेश दिएको प्रहरीले जनाएको छ। डा. अमितसँगै आएका मनिष सिंहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बयानपश्चात् राती ११ बजे निज अमितलाई काठमाडौंतर्फ लगिएको थियो। (रासस)


Post a reply

Related Stories
नेपालमा मुद्दा नचलाई डा. अमितलाई भारत पठाइयो
डा. किड्नीको भ्यालेन्टाइन कथा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com