तावाबाट फुत्केको माछा भुङ्ग्रोमा
(१) गत साउन १९ गते काठमाडौं खड्गभद्रकालीबाट डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गरी १ करोड ३० लाख रकम असुल गर्ने मध्ये नगरकोट गाविस–४ का सिद्धार्थ लामा र राजु लामा पक्राउ। विभिन्न अपराधिक घटनामा संलग्न यी अपहरणकारीहरु मध्ये ४ जना अझै फरार।
(२) गत कार्तिक २९ गते एक महिला सहित ८/९ जनाको समुहले काठमाडौं चुनदेवीबाट टिकाराम राईको अपहरण, साथमा रहेको ७ लाख ५० हजार लुटपाट, ३९ लाख पछि तिर्ने तमसुक बनाई मुक्त। अभियुक्तहरु मध्ये रामेछापका सूर्यबहादुर सुनुवार र भरत कार्की पक्राउ। रामेछापकै गुन्दास सुनुवार, हेटौडाका उर्गेन लामा र कृष्ण लामा, हङकङ बस्ने डम्बरकुमारी राना र डि.बि. चन्द र अन्य २ जना अझै फरार।
(३) काठामाडौं भेडासिंह बस्ने लोकबहादुर नेपालीको साथमा रहेको ३ लाख २५ हजार डकैती गर्ने दोलखाका विष्णु सार्की र भक्तपुरका धनबहादुर तामाङ पक्राउ।
(४) आज बिहान बा१ख ६८२६ नम्बरको कान्तिपुर यातायातको यात्रुहरु लुट्ने प्रयास गरेका लुटेराहरुलाई प्रहरीले पीछा गर्दा फायर गर्दै भाग्न खोजेकाले महाराजगञ्ज तिर्लिङटारमा प्रहरीद्वारा जवाफी फायर। लुटेराहरु मध्ये रामेछापका रामबहादुर गदाली र भक्तपुरका महेश्वर गौतम घाइते अवस्थामा पक्राउ। अन्य ४ जना लुटेराहरु हतियार सहित फरार।
(५) काठमाडौं सामाखुसी बस्ने गणेश अधिकारीको २ लाख २० हजार लुटेर भाग्दै गरेका भारत रक्सौल घर बताउने अमर दासलाई त्रिपुरेश्वरका स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीलाई बुझाए।
(६) गत राती सौच गर्न घर बाहिर निस्केका सिरहा जिल्ला राधोपुर–६ का विजय यादवलाई मुखमा पट्टी बाँधेका ७/८ जना हतियारधारी समुहले कुटपिट गर्दा होहल्ला भए पछि त्यसको प्रतिकारमा उत्रेका स्थानीयवासी माथि सो समुहद्वारा गोली प्रहार हुँदा सोही ठाउँ बस्ने रामबहादुर यादवको मृत्यु।
(७) हिजो अपरिचित व्यक्तिहरुले नुवाकोट घर भई काठमाडौं मनमैजु बस्ने राजकुमार तामाङ माथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते।
(८) गत राती सौच गर्न घर बाहिर निस्केका रुपन्देही जिल्ला बोधबार गाविस बस्ने गंगा चौधरी माथि अज्ञात समुहले गोली प्रहार गर्दा घाइते।
(९) गोरखा बगुवाका सुजनबाबु श्रेष्ठको काठमाडौं खुसिबुँ स्थित पसलबाट नगद, घडी, मेमोरी कार्ड, मोबाइल सेट लगायत ८ लाख भन्दा बडीको धनमाल चोरी।
(१०) दैलेख जिल्ला बडाभैरब गाविस खोरगाउँ स्थित खानेपानीको धारामा बेवारिसे बम बिस्फोट हुँदा ११ वर्षीय मानबहादुर नेपाली गम्भीर घाइते।
(११) पाल्पा तानसेनबाट करिब ५० किमि पूर्व पर्ने खालिवन–६ का लेखबहादुर मार्फाक र उनकी श्रीमती खगिसराको आफ्नै गोठमा अज्ञात हत्याराद्वारा धारिलो हतियार प्रहार गरी हत्या।
(१२) जुम्लाबाट सुर्खेत आउँदै गरेको लु१च २४१३ नम्बरको यात्रुबाहक जीप कर्णाली राजमार्ग नाउले जंगलमा मुढा तेर्स्याएर बसेका ४ जना लुटेराहरुले जीप रोकी यात्रुहरुबाट २ लाख रुपिया लुटे।
(१३) गत शनिवार आगो ताप्ने कुरालाई लिएर स्थानीय वासिन्दासंग झगडा गरेका नेपाल सदभावना पार्टीका संविधान सभासद खोभरी रायले हिजो राती मादक पदार्थ सेवन गरेर आई स्वयम्भू ठूलो भर्याङ स्थित आफ्नै निवास अघिल्तिर अन्धाधन्ध गोली प्रहार।
(१४) गए राति प्रहरी चेकिङमा त्रिचन्द्र क्याम्पस स्ववियु सदस्य पुरुषोत्तम महत र अनिल थापा हतियार सहित पक्राउ परेकोमा उनीहरुको रिहाईको माग गर्दै क्याम्पस विद्यार्थीहरुद्वारा यातायात अवरुद्ध।
(१५) काठमाडौं सामाखुसिका एकजना स्थानीय व्यक्तिलाई आक्रमण गर्न आएका वाइसिएल नेता मिलन लामा स्थानीय वासिन्दाको प्रतिकारमा घाइते, निजमाथि कार्वाहीको माग गर्दै टायर बालेर यातायात अवरुद्ध।
(१६) गत शनिवार पिकनिक मनाएर फर्किरहेका कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरु चढेको गाडीले ट्राफिक नियम उल्लंघन गरेको भनी प्रहरीले चालकको लाईसेन्स खोसेको विवादमा उत्रेका केहि विद्यार्थीलाई नियन्त्रणमा लिएको विरोधमा विद्यार्थीहरुद्वारा महाराजगञ्जमा आधा दर्जन गाडी तोडफोड।
(१७) मोरङ कटहरी–७ बस्ने मालिकचन्द पासवान, तिलक पासवान र हरेराम पासवान गत ७ गते कटुवा पेस्तोल र एसएलआर गोली सहित पक्राउ।
(१८) पेशेवर लुटेरा बताइने सिन्धुपाल्चोक थाङपालधाप–९ घर भएका विजयकुमार स्याङतान सहित ३ जना गत ७ गते काठमाडौं जोरपाटी–६ अत्तरखेल स्थित मेडिकल कलेज अगाडि धारिलो हतियार सहित शंकास्पद तरिकाले हिंडिरहेको अवस्थामा पक्राउ।
(१९) अज्ञात व्यक्तिबाट अपहरित ओमप्रकाश चौधरी हिजो बिहान सवा ८ बजे बाराको छातापिपरास्थित मलैही खोलाको पूर्वपट्टि चौरमा टाउको र पिठ्युमा गोली प्रहार गरी हत्या गरेको अवस्थामा फेला। ..... आदि इत्यादि।
माथि उल्लेखित विवरण २०६५ मंसीर १० गते पंक्तिकारले पढ्न पाएको केहि अपराध सम्बन्धि मंसीर ९ गतेको समाचार सार हो। आलोचना र विरोधमा धेरै कुरा गरियो, धेरै कुरा लेखियो, अब सकारात्मक पक्षमा बढी कलम चलाउँ भन्ने ईच्छा सहित “नयाँ नेपाल : नौलो तिहार” र “पूँजी निर्माणको एउटा अर्को स्रोत” शीर्षक दुई वटा लेख लेखेको लगत्तै काठमाडौं सिउचाटारका दुई होनहार युवकहरु पुष्कर डंगोल र निर्मल पन्तको झण्डै महिना दिन अघि धादिङमा भएको अपहरण र बेपत्ता पछि विभत्स हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा लास भेटिएको समाचारले मेरो दिमाग स्तव्ध भयो, मुटु छियाछिया भयो। त्यस पछि सुदूरपश्चिममा किसानहरुले घाम पानी नभनी पसिना काढेर दुखः गरी फलाएको धान संगठित डाँकाहरुले लुटेको, काठमाडौं पुतलीसडक स्थित पारागन स्कूल बन्द गर्न असल नागरिक उत्पादन गर्ने दायित्व बोकेका बन्द पक्षधर शिक्षहरुले ढुंगामुढा गरी स्कूलको भौतिक सम्पति तोडफोड गरेको, बन्द बारे अनभिज्ञ पठन–पाठनमा व्यस्त शिक्षक–विद्यार्थीलाई घाइते पारेको समाचारले मन झनै अशान्त भयो र मेरो नियमित लेख्ने दिन शुक्रबार मंसीर ६ गते केहि लेख्न सकिंन।
हो, सबै चीज गतिशील हुन्छ। मानव समाज पनि गतिशील हुन्छ। त्यसैले नेपाली समाज पनि गतिशील छ। त्यसकोे स्वाभाविक गतिलाई कसैले रोक्न सक्तैन। तर त्यो गतिशील मात्र भएर हुँदैन। त्यो सहि दिशा तर्फ बढीरहेको छ कि गलत दिशा तर्फ ? यो प्रश्नको उत्तर अहम महत्वको हुन्छ। अहिले हाम्रो समाजमा अकल्पनीय अराजकता, मारकाट, लुटपाट र चरम दण्डहीनताको अवस्था व्याप्त छ। शासकहरु यस स्थितिलाई नियन्त्रण गरेर आफ्नो कर्तव्य पालन गर्नु र नागरिकहरुलाई शान्ति सुरक्षा र राहत प्रदान गर्नुको सट्टा त्यसैलाई राजनीतिक मुद्दा बनाएर आआफ्नो अस्तित्व जोगाउने, वर्चस्व बढाउने, राज्यसत्तामा कब्जा जमाउने र अनेक बहाना गरी जनताको पसिनाबाट निर्मित राज्यकोष लुँड्याउने काममा मात्र तल्लिन छन्। सामाजिक सम्बन्ध, मूल्य, मान्यता र नैतिकताको स्तर यति तल गिरिसक्यो कि त्यसले मानिसलाई हदै दर्जाको स्वार्थी, सम्वेदनहीन र अपराधिक बनाउँदै लगेको छ। मानिसहरुमा छिमेकीसंगको सानोतिनो झगडामा समेत मारकाट गर्ने, गुण्डा लगाउने, निर्दोष बालबच्चा अपहरण गर्ने वा हत्या समेत गर्ने सम्मको जघन्य अपराधिक मानसिकता विकास भएको छ।
नेपालमा अहिले अत्यावश्यक सबै कुराको अभाव छ, अनियन्त्रित महंगी व्याप्त छ। जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक भनिने हाम्रो देशमा प्रशस्त वर्षापछि पनि दिनको १० घण्टा लोडशेडिङ भइरहेको छ। लामो समय अघिदेखिको खानेपानीको हाहाकार यथावत कायमै छ। विश्व बजारमा प्रचलित मूल्य भन्दा दोब्बर महंगो पेट्रोल डिजेल पनि सजिलै किन्न पाईंदैन, पाइए पनि मिसावटले गर्दा जनता मारमा परिरहेकै छन्। खाद्यवस्तु यति महंगो छ कि सर्वसाधारणको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ। स्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँच भन्दा धेरै टाढाको कुरा बनेको छ। कुनै कडा रोगको उपचार गर्नु भनेको सम्पूर्ण परिवार माथि आर्थिक दुर्भाग्यको पहाड खस्नु जत्तिकै छ। कहाँ कहिले कसले के कारण बजार बन्द गर्ने हो, यातायात अवरुद्ध गर्ने हो, कसैलाई थाहा पत्तो हुन्न। काम गर्छु भन्दा पनि सुख छैन। कसले कति बेला आएर लुट्ने हो ठेगान छैन। यस्तो दुरावस्थाबाट दिक्क भएर आफ्नो पौरखमा बाँचन चाहने सबै तह र तप्काका स्वाभिमानी मानिसहरुको विदेश पलायन तीब्र भएको छ। देशमा बालबच्चा, बुढाखाडा, चोरडाँका, लुच्चालफंगा, जालीफटाहा, लुटेराहत्याराको जनसंख्या बढ्दो छ।
यहाँ कुनै कुरा सुलभ छ भने त्यो हतियार हो। त्यसका लागि आवश्यक गोलीगट्ठा हो। सत्तासीन राजनीतिक शक्तिहरुकै भातृ–भगिनी संगठन र सशस्त्र समूहहरुका लागि चाहिने भएको हुँदा त्यसका लागि आयात ईजाजत लिनु पर्दैन, भंसार महसुल तिर्नु पर्दैन। घरेलु उत्पादन हो भने निर्माण स्वीकृति लिनु पर्दैन, अन्तशुल्क तिर्नु पनि पर्दैन। त्यसैले आजकाल हिजोका चवन्नी पाकेटमारहरु पनि पेस्तोल भिरेर हिंड्ने, खुल्लमखुल्ला दिउँसै डकैती गर्ने, तिनको प्रतिकारमा उत्रनेलाई गोलीले भुट्दै मार्दै हिंड्ने भएका छन्। यहाँ कुनै कुरा सस्तो भएको छ भने त्यो मानिसको ज्यान हो। त्यसैले पुष्कर डंगोल र निर्मल पन्तको निर्मम हत्या प्रसंग सेलाउन नपाउँदै काठमाडौं ताहाचलका २ किशोरहरु रितेश रौनियार र आशिष मानन्धरको लास अत्यन्त क्रूरतापूर्वक हत्या गरी काठामाडौं थानकोट नजिकको जंगलमा फालिएको अवस्थामा भेटिएका छन्। यी कल्कलाउँदा सुकोमल किशोरहरुलाई कसले किन मार्यो कसैलाई थाहा हुन सकेको छैन। सोखका लागि स्वीकृति लिएर जंगलमा जनावरको शिकार गर्नुको सट्टा गाउँ–वस्ती, शहर–बजारमै "मानिस"ले मानिसको मनपरी शिकार गर्ने हत्यारो संस्कार विकास भएको छ।
हिजोका ट्यापे, झ्यापे र टापटिपेहरु, जताततै उधारो खाएर पैसा कहिंकतै नतिर्नेहरु, जोसंग पनि सापटी लिएर कहिल्यै नफर्काउनेहरु, राम्रो घरघडेरी दिलाई दिन्छु भनी बैना पचाउनेहरु, वैदेशिक रोजगारीमा लगाई दिन्छु भनी सोझा मानिसहरुसंग मोटो रकम लिएर दिल्ली बम्बैमा अलपत्र छोडेर आउनेहरु, सिधासादा युवतीहरुलाई राम्रो काममा लगाई दिन्छु भनी विदेशका बेश्यालयमा बेच्न लानेहरु, एकान्त दोबाटो कुरेर यात्रु-बटुवा लुट्नेहरु, ट्याक्सी चढेर उल्टै चालकलाई लुट्नेहरु, भ्रष्टाचारको अभियोगमा नोकरीबाट बर्खास्त भएकाहरु, अनेक अपराधको आरोपमा प्रहरीको कालोसूचीमा परेकाहरु, एक ठाउँमा आफ्नो घरखेत हुँदाहुँदै अर्को ठाउँमा सुकुम्बासी बन्न जानेहरु, अर्काको सम्पति कब्जा गर्नेहरु, तर्साएर धम्क्याएर जबरजस्ती चन्दा र कर असुल्नेहरु, किसानले दुख गरी फलाएको अन्नपात लुट्नेहरु, अर्थात यावत किसिमका लुच्चालफंगा, जालीफटाहा, चोरडाँका, लुटेराहत्याराहरुले राजनीतिक संरक्षण, पहिचान र हैसियत पाए पछि, हिजो जनताको छातिमा गोली दाग्ने र त्यसो गर्न आदेश दिनेहरु आज राज्यको सम्मानित नीति निर्माता र सरकारका वरीष्ठ सल्लाहकार बने पछि सर्वसाधारण जनताले कुकुरले नपाएको दुख पाउनु बाहेक अरु के नै बाकि रह्यो र ?
सत्तासीनहरु भन्ने गर्छन् सामन्ती तानाशाहीलाई परास्त गरी देशमा लोकतन्त्र आएको छ, निरंकुश राजतन्त्रलाई पराजित गरी मुलुकमा गणतन्त्र आएको छ र हामी नेपाली समाजको आमूल रुपान्तरण गरी समृद्ध र समुन्नत नयाँ नेपाल बनाउन लागिपरेका छौं। तर खै सर्वसाधारण नेपाली जनताले लोकतन्त्र र गणतन्त्र आएको अनुभूति गर्न पाएको ? लोकतन्त्र र गणतन्त्र त सत्तासीनहरु र तिनका नन्दीभृंगीहरुलाई मात्र आएको छ। जनताको भागमा लोकतन्त्र होइन ठोकतन्त्रको वित्यास परेको छ, गणतन्त्र होइन गुण्डातन्त्रको अत्यास परेको छ। हिजो निरंकुश राजतन्त्रको तातो तावामा छटपटाएका नेपाली जनता आज ठोकतान्त्रिक गुण्डातन्त्रको भुंग्रोमा छटपटाइरहेका छन्। त्यसबाट मुक्ति पाउन समग्र नेपाली समाजको आमूल रुपान्तरण भन्दा बढी काम नगरी लुटेर खान पल्केकाहरु र तिनको पक्षपोषण गर्ने, आफ्नो विचारसंग असहमतको भौतिक अस्तित्व नै स्वीकार नगर्ने ठोकतान्त्रिक गुण्डातन्त्रका हिमायतीहरु, गुमस्ताहरु र सरदारहरुको वास्तविक रुप, सार र उद्देश्यलाई बुझेर उनीहरुलाई यथोचित स्थानमा ल्याउन र सभ्य समाजको मूल्य, मान्यता, संस्कार र सहअस्तित्वको पाठ सिकाई सभ्य नागरिकमा रुपान्तर गर्न अत्यन्त जरुरी भएको छ। अन्यथा देशलाई बोकासा, पोलपोट अथवा इदिअमिनको शासन भोग्नु पर्ने स्तिथि तर्फ उन्मुख हुनबाट रोक्न सकिने छैन। अस्तु। Comments
 | by prosi Wed Nov 4, 2009 2:06 am NST | Do you think out politicians don't know that? They know as good as we do. All we have to do is change ourselves. We don't know what it's like to be patriotic yet because no country has ever made us their slave. Do you know what I'm saying??? To develop a nation, one must love it first and I don't think they (politicians) and we (all ) love our nation. But this is just about our country.
So the crime rates are up and you are trying to blame these politicians again? Think about it. Why really? We knew they were crooked way back after 1st so called "JAN ANDOLAN" but we still voted them and put them on power. We VOTED THEM!!!!! We could have and should have not! okay! It's out fault that this country is where it is now and the crime figures are up. It's us. We are the one who doesn't help one another and doesn't care about one another. We are all like that and I think it's sad that we are blaming these politicians only. If you / us want to change this nation then revolt once more and choose uncorrupted person to run this country. Not these blood sucking animals and lets behave like humans. lets help other people and call the police/ambulance when someone infront of you needs help, not just stand there and watch. ok. Your article is very nice but it lacks you commitment and it doesn't say what you can do. So what you can do? Just write about it? If you want to change the world then begin from yourself and others will follow you sooner or later. :)
If you want to discuss more then you can always send me mails.
|
Post a reply
Recent News संसदमा लैजाने साझा संकल्प प्रस्ताव तयार गर्न सहमत
हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु
गाउँले कुटपिट गरी एक सुराकीलाई मारेपछि प्रहरीको गोली लागी दुईको मृत्यु
जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले सुरु गर्यो हत्याको सिलसिला
गृहमन्त्रीले उपल्लो मुस्ताङमा पुगि सुरक्षास्थितिबारे जानकारी लिए
Recent Features आज मार्च ८ तारीख अर्थात अन्तराष्ट्रिय श्रमीक महिला दिवस
मारियो फेरि अर्को चितुवा
चौंरी गाईको आलो रगत पिउने मेला सुरु
आज श्रीपंचमी पर्व- राष्ट्रपतिवाट बसन्तश्रवण
कास्कीको सराङ्गकोटमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ४२ जना घाइते
|