देश र दशैं
देशको अत्यन्त ठूलो जनसंख्याले बडो उल्लासका साथ मनाउने बडादशैं चाड सकेर अर्को त्यत्तिकै उल्लासका साथ मनाइने तिहार शुरु हुन २ दिन मात्र बाँकी भएको बेला दशैंको प्रसंग धेरैका लागि अप्रसांगिक हुन सक्छ। तर विगतको मुल्यांकन गरी त्यसको आधारमा आगतको योजना बनाउनु सबैका लागि श्रेयस्कर नै हुन्छ। दशैं के हो? दशैं किन मनाइन्छ? यसका धार्मिक र सामाजिक महत्व र पक्षहरु के के हुन्? भनी सोधखोज गर्नु भन्दा देश भरखर वैधानिक रुपले धर्म निरपेक्ष लोकतान्त्रिक गणतन्त्र बनेको छ। यस नवीन परिप्रेक्ष्यमा त्यसलाई देशवासीले यस पालीको दशै कसरि मनाए? दशै सम्बन्धमा राज्यको पछिल्लो भूमिका कस्तो रह्यो भन्ने आदि विषय बारे राजनीतिक र सामाजिक दृष्टिकोणबाट समीक्षा गरी आगामी दिनमा दशै कसरि मनाउने? त्यसमा राज्यको भूमिका कस्तो हुनु उचित हुन्छ भन्ने बारे विवेचना गर्नु प्रस्तुत लेखको उद्देश्य हो।
पशुबली सम्बन्धमा
संचार प्रविधिको अभुतपूर्व विकास र सर्वसाधारण नागरिकको त्यसमा सहज पहुँचको कारणले होला यस पालीको दशै शुरु हुनु निकै दिन अघिदेखि दशैमा पशु बली बन्द गर्नु पर्ने सम्बन्धमा धेरैले आवाज उठाए। हुन पनि निरीह पशुपंछीको घाँटी त्रू्करतापूर्वक रेटेर त्यसबाट निस्केको तातो रातो रगत देवी देवताको मूर्तिमा छर्केर धर्म कमाइन्छ भन्ने कुरामा एक्काइसौं शताव्दीका नेपाली जनताको विश्वास घट्दै गएको छ। अन्धविश्वासबाट मुक्त हुने यो साकारात्मक सामाजिक पक्ष हो। कथित जनयुद्ध र त्यसको उपज स्वरुप आजसम्म कायम हिंसा र हत्या देखेर पनि मानिसको मन अहिंसा तर्फ उन्मुख भएको हुन सक्छ। तसर्थ कतिपयले पशुपंछी भोग दिनुको सट्टा नरीवल अथवा कुभिण्डो काटेर बली दिने कुराको विकल्प अपनाए। कतिपयले मासुको ठाउँमा च्याउले काम चलाए। अरु बेला सरदर डेढसय रुपिया प्रति किलो पाइने च्याउ दशैं ताका ५ सयदेखि ६ सयसम्म पुगेकोबाट यस कुराको पुष्टि हुन्छ। पंक्तिकार पनि दशै मनाउने परिवारको सदस्य हो। उसको घरमा पनि यस पाली पोहर परार जस्तो पशुपंछीको बली दिइएन। धार्नीका धार्नी मासु पकाइएन। थोरै मासुका साथै केहि किलो च्याउ पनि पकाइयो र खाइयो। तीन दिन लगातार चिउरा खानुपर्ने परम्परा पनि तोडियो। आफन्तजन कहाँ टीका लाउन वा पाहुना लाग्न जाँदा पनि धेरै ठाउँमा चिउराको सट्टा सादा पुलाउ खाइयो। यसले स्वास्थ्यलाई पनि फाइदै गर्यो।
संसारमा शाकाहारी भन्दा माँसाहारी मानिसको संख्या धेरै छ। मानिसको उपभोगका लागि ठूला ठूला लाइभस्टक, माछा तथा पौल्ट्री फार्महरु संचालित छन्। दैनिक करोडौंको संख्यामा गाई, राँगा, सुंगुर, माछा, हाँस, कुखुरा र अन्य पशुपंछी काटिन्छन्। कल्पना गरौं त, सबै मानिस शाकाहारी भए, पशुपंछीको बध रोकिए यो संसार कस्तो होला ? लाइभस्टक, माछा तथा पौल्ट्री फार्महरु त बन्द हुने नै छन्, त्यसमा कार्यरत करोडौं कामदारहरुले बैकल्पिक रोजगारी खोज्नु पर्ने त छँदैछ, खाद्यान्न र तरकारी फलफूलको भाउ अक्कासिएर दुर्लभ वस्तुमा परिणत हुने छन्। करोडौं करोड पशुपंछीको बध नगरिए पछि तिनको खानाको लागि पनि घाँसपातको व्यवस्था हुनै पर्यो। मानिसले जस्तै पशुपंछीले परिवार नियोजन गर्दैनन्। उनीहरुको संख्या दिन दुगुना रात चौगुना बढ्छ। मानिसले आफ्नै लागि दुर्लभ भएको खाद्यान्न र सागापत पशुपंछीको आहारका लागि दिन सक्ने छैन। तसर्थ पशुहरु जंगलको झारपात सखाप पार्न र वन विनास गर्न पट्टि लाग्ने छन्। यसले पानी पर्ने प्रकृयामा संसार भर ठूलो गडबड हुनेछ, कतै अति वृष्टि कतै अल्प वृष्टि कतै भयंकर बाढी पैरोले कृषि उत्पादन ठप्प प्रायः हुनेछ। खाद्यवस्तुको लागि मानिस र पशुपंछी बीच मात्र होइन, मानिस मानिस बीच नै लडाई हुनेछ। प्राणी र प्रकृति बीचको यस भयंकर असन्तुलनले ल्याउने प्रलयले पृथ्वीबाट जीवनकै अस्तित्व समाप्त हुन सक्छ। अनि ?
कुनै पनि प्राणी निर्जीव वस्तु खाएर बाँच्न सक्तैन। जीवित रहनको लागि एउटा प्राणीले अर्को प्राणी खानै पर्छ। यो प्रकृतिको नियम नै हो जसलाई कुनै पनि प्राणीले तोड्न सक्तैन। शाकाहारी भन्नेले खाने अन्न, सागपात र कन्दमूल पनि प्राणी नै त हुन्। हामीले जन्मना साथ पिउने आमाको दुध पनि आमाको सेतो रगत नै त हो। जब हामी आफूलाई जन्म दिने आमाकै रगत पिउँछौं, प्राणयुक्त खाद्यान्न सागपात फलफूल खान्छौ भने पशुपंछी माछामासु खान किन नहुने ? यहाँ कुरा शाकाहारी र माँसाहारीको भन्दा प्राणी र प्रकृति बीचको सन्तुलन प्रमुख विषय हो। शरद ऋतुमा मनग्य पाइने घाँसपात खाएर वस्तुभाउ मोटाघाटा हुने र केहि नयाँ बाली पनि भित्रीसक्ने हुँदा तिनलाई दशैंपर्व मनाएर खाने गरिएको हो। तर मानिस आफै पनि पशुपंछी पालक भएकोले उनीहरु प्रति उसको दयामाया पनि रहेकै हुन्छ। त्यसैले पछि आफैले पकाएर खाने भए तापनि उसले आफ्नै आँखा अगाडि पशुपंछीको घाँटी रेटी रेटी विभत्स हत्या गरेको देख्न पनि सक्तैन। सबै मानिस जन्मदा शरीरसंगै लिएर आउने यौनाङ्ग र युवतीको जवानी छढे पछि बढ्ने स्तन छोप्नु लुकाउनु मानिसको स्वभाव हो। त्यसैले देवी देवतालाई खुसी पार्ने र धर्म कमाउने नाममा चाडबाडमा खुलेआम पशुबली दिनुको सट्टा आधुनिक बधशालामा उपभोक्ताले नदेख्ने गरी काटिएको स्वस्थ मासु खाँदा मानिस लगायत संसारका सबै प्राणीको हित नै हुनेछ।
सरकार र दशैखर्च
ईन्द्रजात्रा मनाउने क्रममा परम्परादेखि चलिआएको पशुबलीका लागि सरकारले जाबो १५ हजार रुपिया नदिने निर्णय गरेर जुन मूर्खता प्रदर्शन गर्यो, त्यसले जसरी काठमाडौंका वासिन्दाहरुलाई आन्दोलनमा उत्रन वाध्य पार्यो र त्यसका लागि अर्थमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक रुपमा माफि माग्नु पर्यो, त्यसको दुई साता नबित्दै गृह मन्त्रालयले ३ लाख भन्दा बढी रुपिया सर्वसाधारणलाई दशै खर्च भनेर बाँडिसकेको र दशै खर्च माग्नेहरुको निवदेनको पहाड देखेर गृहमन्त्री बामदेव गौतम लुक्दै हिंडेको खबरले राज्यको धर्म निरपेक्षताको अवज्ञा र उपहास मात्र गरेन, यसले अरु बढी जटील समस्या खडा गर्ने सम्भावनालाई पनि उजागर गरिदिएको छ।
यहाँ शुरुमै एउटा के कुरा बुझ्न अत्यन्त जरुरी छ भने ईन्द्रजात्रा परम्परा शुरु हुँदा ताका स्थानीय जनताले हजारौं रोपनी निजी जग्गा ईन्दजात्रा गुठीलाई दान गरी उक्त जात्रा मनाउन आवश्यक खर्च जुटाउँदै आएकोमा पंचायत कालमा देशभरका गुठी जग्गा व्यवस्थित गर्ने भनी गुठी संस्थान खडा गरियो, स्थानीय गुठियारहरुको भूमिकालाई समाप्त पारियो र त्यस्ता जग्गाको बदलामा सरकारले जात्राखर्च दिने व्यवस्था गरियो। त्यही व्यवस्था अनुसार सरकारले ईन्द्रजात्रामा पशुबलीका लागि १५ हजार रुपिया दिंदैआएको हो। त्यसैले सरकारले ईन्द्रजात्रामा दिने गरेको जात्राखर्च उसको कर्तव्य हो भने सर्वसाधारणलाई दिने गरेको दशैंखर्च एक प्रकारको दान हो।
पर्सीबाट तिहार पर्व शुरु हुँदैछ। त्यसका लागि कसैले तिहार खर्च माग्न आएमा सरकारले त्यस्तो खर्च दिने कि नदिने ? यसै महिना छठ पर्व र गुरु नानक जयन्ती पनि पर्दछ। त्यसै गरी अर्को महिना बक्र इद, योमरी पुन्हि, उधौली पर्व आउँदैछन्। त्यस पछि पनि संस्कृतिका धनी नेपाली जनताका अन्य असंख्य चाडपर्वको ताँती छँदैछ। यी चाडपर्व मनाउनेहरु सबैले चाडपर्व खर्च माग्न आएमा सरकारले दिने कि नदिने ? नदिने भने किन नदिने ? के यो देश र सरकार दशै मनाउनेहरुको मात्र हो ? होइन, यो देश र यसको सरकार जुनसुकै धार्मिक आस्था राख्ने र जुनसुकै चाडपर्व मनाउने सम्पूर्ण जनसमुदायको हो भने सबैलाई चाडपर्व किन नदिने ?
राज्यले आफूलाई धर्म निरपेक्ष भएको घोषणा गर्छ तर सरकार भने एकथरी धर्मावलम्बीलाई काखी च्यापेर आधिकारिक परिचय नभएकाहरुलाई समेत दशैंखर्च बाँडेर एक किसिमले राज्यकोषमा लूट मच्चाइरहेको छ, मच्चाउन दिइरहेको छ। कर्मचारीहरुलाई एक महिना तलब बराबर दशैखर्च र लामो बिदा समेत दिन्छ। अरुलाई एक एक दिन बिदा दिने गरिए तापनि पर्वखर्च भने कौडी पनि दिंदैन। यो ठाडो धार्मिक विभेद र सामाजिक अन्याय हो। होइन, धर्म निरपेक्ष राज्यले धार्मिक मामलामा हात हाल्ने नै किन ? सरकारको यस्तो काम सरासर गलत छ, धर्मनिरपेक्षताको भावना र सिद्धान्त विपरित छ। अब आइन्दा सरकारले गुठीका सबै जग्गा स्थानीय सरोकारवाला व्यवस्थापनलाई फिर्ता गरेर आफूलाई कुनै पनि धार्मिक कार्यबाट अलग राख्नु पर्छ।
दशैंमा डण्डाको उपहार
दशैं महाअष्टमीको दिन ललितपुर पुलचोक स्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा आफ्नो दुखेसो पोख्न र ज्ञापनपत्र बुझाउन गएका सय डेढ सय जति माओवादी पीडित तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरुको आफन्त परिवारजनले दुखेसो पोख्न र ज्ञापनपत्र बुझाउन पाए कि पाएनन् पंक्तिकारलाई त्यसको जानकारी हुन सकेन। उसलाई त्यसको जानकारी हुनु र नहुनुले समाजका लागि कुनै महत्व पनि राख्दैन। तर सोही दिन बेलुका टेलिभिजन समाचार हेर्दा ती निरीह, निहत्था, दुखित र पीडितहरु माथि नागरिकहरुको जीउधनको सुरक्षाको जिम्मा लिएर बसेको राज्यका सुरक्षाकर्मीहरुले जस्तो निर्दयी तरिकाले डण्डा बर्साए, एक एकलाई घेरामा पारेर मुसा चुटे झैं निर्घात चुटे, कतिपयको रक्ताम्य हुने गरी टाउको फोडेर लघारे, त्यो देखेर पंक्तिकारको मन सार्है खिन्न भयो। समाचार सकिए पछि भोज खान बसेको बेला पनि कुनै रमाइलो महसुस गर्न सकिएन, क्रूर साम्प्रदायिक दंगा जस्तो लाग्ने ती दृष्यहरुले उसको मुटुलाई पटक पटक चिमोटी रह्यो, पटक पटक झस्काई रह्यो।
नयाँ भनिएको नेपालमा पनि आखिर राज्यले दिने सुरक्षा भनेको बलिया र धनाढ्यका लागि मात्र रहेछ। देशभर लुटेरा र हत्याराहरुको आतंक छ, सरकारले त्यसको एउटा गतिलो माखो मार्न सकेको छैन। अपराधिक समुहका मोष्ट वान्टेड व्यक्ति र डनहरु शहर बजारमा शानका साथ छाति खोलेर हिंडिरहेका छन्, सरकार र उसको सुरक्षा निकायले तिनलाई देख्दैनन्। जसको कारण माथि उल्लेखित दुखीहरुले आफन्त गुमाए वा जसका आफन्त बेपत्ता पारिए, जस्को कारण माथि उल्लेखित पीडितहरु आफ्नै घरखेतबाट बेदखल भएर आफ्नै देशमा शरणार्थी हुन परेको छ, त्यही सरकारको मुखिया बने पछि ती कर्मखोट्टाहरुको गुनासो सुन्ने र उनीहरुलाई सुरक्षा गर्ने बाकी रह्यो नै को र ? विश्व मानव अधिकार घोषणा जारी गर्ने संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयको प्रवेश द्वारकै अगाडि र दशैंको लामो विदामा पनि कार्यालय खोलेर बसेको राष्ट्रिय मानव अधिकार आयोगको हरिहर भवन स्थित कार्यालयबाट डेढ दुई सय मिटर अगाडि नै यस्तो दुर्दान्त घटना घट्नु वास्तवमा मानव अधिकारकै घोर उपहास होइन र ? वास्तविक नयाँ नेपाल कहिले बन्ने र मानव अधिकारको सच्चा सम्मान कहिले हुने हो कुन्नि !
दशैंको बली, दलितले घिच
तराईका डोमहरुले सिनु खान वा फाल्न नमानेको कारण कथित उच्च जातिका मानिसहरुबाट निर्घात कुटपिट हुने गरेको, सामाजिक वहिस्कार गरिएको र पूरा वस्तीमा नै आगो लगाएर गाउँबाट धपाइएको दुखद घटना बराबर घट्ने गरेको सुनदै र पढ्दै आइएको हो। तर सुदूर पश्चिम पहाडी भेगका दलितहरुले भोग्न परिरहेको दुख र पीडा रुपमा डोमहरुले भोग्न परिरहेको दुख र पीडा भन्दा केहि फरक र नरम देखिए तापनि सारमा उनीहरुले भोग्न परिरहेको सामाजिक अपमान र उत्पीडनमा केहि भिन्नता छैन भन्ने कुरा यस पालीको दशैंमा त्यस क्षेत्रका उच्च जातिकाले मन्दीरमा बलीभोग दिएको राँगा दलितलाई खान दवाव दिइएको र खान नमाने कार्वाहीमा उत्रने धम्कीबाट प्रमाणित हुन्छ। उच्च जातिकाहरु राँगाको बली दिन्छन् तर आफै त्यसको मासु खाँदैनन्। दलितहरुले राँगाको मासु खान्छन्, यो सत्य हो। तर दलित भनी हेपेर उनीहरुको ईच्छा विपरित जवरजस्ती मासु खान वाध्य पार्नु, नखाए भौतिक कार्वाही गर्ने धम्की दिनु भनेको मानव अधिकारको घोर उल्लंघन हो, सामाजिक अपराध हो।
देशलाई जातीय भेदभाव मुक्त घोषणा गरिएको छ। तर त्यो कागजमा मात्र सिमित छ। त्यसले मूर्तरुप लिन अझै समय लाग्नेछ। किनकि मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेर के फरक पर्छ र ? राज्यसत्तामा कथित उच्च जातिका तिनै ठालूहरुको हालिमुहालि कायम छ। उनीहरुको त्यस बर्चस्वलाई ध्वस्त गरेर राज्यको नीति निर्माण तथा कार्यान्वन गर्ने सबै अंगमा सम्पूर्ण उत्पीडित जातजातिको समानुपातिक पहुँच, प्रतिनिधित्व र सहभागिता कायम भए पछि मात्र दलितहरुले पनि सच्चा मुक्ति पाउने छन्। त्यस बीचको संक्रमण कालमा दलितहरुले पनि एउटा जुक्ति अपनाउनु पर्छ। उनीहरुले अब एउटाको ठाउँमा जोडी राँगा पाए मात्रै स्वीकार गर्ने, एउटा मात्र भए सशक्त बहिस्कार गर्ने नीति अपनाउनु पर्छ। त्यसरि प्राप्त राँगाको मासुलाई त्यस्तो मासु खाने क्षेत्रमा बिक्रीका लागि पठाउनु पर्छ। बली चढाएको राँगाको मासुको व्यापारबाट आम्दानी पनि हुने दोहोरो आर्थिक भारबाट मुक्त पनि हुने देखे पछि द्रव्य पिचास ठालूहरु आफै त्यस्तो व्यवसायमा लाग्ने छन्।
राष्ट्रपति र दशैंटीका
यस पालीको दशैंमा राष्ट्रपति र पूर्वराजा दुबैको हातबाट सर्वसाधारणलाई टीका लगाइदिने काम सम्पन्न भयो। पूर्वराजाले टीका लगाइदिनु र उनीकहाँ उनका धुपौरेहरु टीका लगाउन जानुलाई अस्वाभाविक मान्न पर्दैन। यो उनीहरुको निजी मामला हो। तर राष्ट्रपतिले सर्वसाधारणलाई दशैंटीका लगाउने कार्यलाई आलोचनात्मक रुपले लिनै पर्ने भएको छ। राष्ट्रपति डा. रामवरण यादवले सर्वसाधारणलाई दशैंटीका लगाइदिने ईच्छा गर्नुले केहि गंभीर शंका र प्रश्न खडा गरिदिएको छ। डा. रामवरण यादवबाट व्यक्तिगत रुपमा सर्वसाधारणलाई दशैंटीका लगाउने कार्य भएको भए त्यसमा कसैले चासो राख्नु पर्ने अथवा टीका टिप्पणी गर्नु पर्ने विषय बन्ने थिएन। तर उनले त्यो काम राष्ट्रपतिको हैसियतले गरेको हुँदा यी शंका र प्रश्न खडा भएका हुन्।
एक त राजतन्त्रको बेला हिन्दू देवता विष्णुको अवतार मानिने राजाले गरिआएको सर्वसाधारणलाई दशैंटीका लगाइदिने कामलाई राष्ट्रपतिले पनि अपनाउनु भनेको हिन्दूवादी सामन्ती मानसिकताको प्रदर्शन नै हो। धर्म निरपेक्ष मुलुकको राष्ट्रपति आफले कर्ता बनेर कुनै धर्म विशेषसंग सम्बन्धित अनुष्ठान गर्नाले त्यही धर्मको मात्र पक्षपोषण गरेको ठहरिने छ। यसले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरिए तापनि त्यो घोषणा फगत औपचारिकता मात्र रहेछ, धार्मिक विभेद अझै कायम छ भनेर बुझ्नु पर्ने हुन्छ। भोली कुनै ईसाई, मुस्लिम वा अरु कुनै पनि धर्ममा आस्था राख्ने वा कुनै नास्तिक व्यक्ति नै पनि राष्ट्रपति बन्न सक्छन्। त्यस्तो बेला उनीहरुले सर्वसाधारणलाई दशैंटीका कसरि लगाइदिने ? टीका लगाउने र लगाइदिने दुबै धर्म संकटमा पर्दैनन् र ?
कुनै धार्मिक वा जातीय समुदायको धार्मिक समारोहमा अतिथीको रुपमा राष्ट्रपति सहभागी हुनुले राष्ट्रिय एकता मजबूत पार्न मद्दत पुग्छ। गणतन्त्र नेपालको राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हुनु पर्छ भन्ने कुराको यो पंक्तिकार आफै पनि प्रखर प्रवक्ता हो। यसका लागि सबै जातजाति र धर्मालम्बीहरुको प्रमुख धार्मिक चाडपर्वमा राष्ट्रपतिले अतिथीको रुपमा सहभागी बनेर राष्ट्रपतिको पद भनेको सबै जातजाति र धार्मिक समुदायको साझा संस्था हो, राष्ट्रिय एकताको प्रतिक हो भनेर सन्देश दिनु पर्छ, महसुस गराउनु पर्छ। अक्टोबर २८ तारिखमा नेवारहरुको म्हपूजा हुँदैछ, नोभेम्बर ४ तारिखमा मैथिलहरुको छठ पर्व लाग्दैछ, नोभेम्बर २८ तारिखमा सिखहरुको गुरु नानक जयन्ती पर्छ। यस वर्षका यी अन्तिम प्रमुख धार्मिक चाडमा राष्ट्रपति डा. रामवरण यादव सहभागी भइदिएर समारोहको शोभा बढाउने काम गरुन्। यसले आगामी दिनहरु र भावी राष्ट्रपतिहरुका लागि राष्ट्रपति पदको गरिमा बढाउने र राष्ट्रिय एकता बलियो बनाउने कार्यमा आधारशिलाको काम गर्नेछ। अस्तु।। Post a reply
More Stories Like this भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
Recent Features टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन
|
|
News Feed
Archives 2011
Archives 2010
- January, 2010
- February, 2010
- March, 2010
- April, 2010
- May, 2010
- June, 2010
- July, 2010
- August, 2010
- September, 2010
- October, 2010
- November, 2010
- December, 2010
Archives 2009
- January, 2009
- February, 2009
- March, 2009
- April, 2009
- May, 2009
- June, 2009
- July, 2009
- August, 2009
- September, 2009
- October, 2009
- November, 2009
- December, 2009
Archives 2008
- January, 2008
- February, 2008
- March, 2008
- April, 2008
- May, 2008
- June, 2008
- July, 2008
- August, 2008
- September, 2008
- October, 2008
- November, 2008
- December, 2008
Community
Useful Links
|
|