Welcome, Guest Log In Sign Up  

नेपाली मुन्नाभाई एमबिबिएस

m-shresthaby m-shrestha
Thu Jul 17, 2008 12:07 pm NST

पंक्तिकार बसेको बस्तीबाट राजधानी काठमाडौं र ललितपुरका कतिपय शैक्षिक संस्थाहरु, व्यापारिक केन्द्रहरु तथा सरकारी कार्यालयहरुमा पैदल हिंडेरै पनि पुगिने भएर होला उसको छिमेकका घरहरुमा थुप्रै कर्मचारी तथा विद्यार्थीहरु कोठा भाडामा लिएर बस्ने गर्दछन्। धेरै जसो घरधनीहरुले पनि कोठा भाडामा दिने हिसाबले नै आफ्ना घरहरु निर्माण गरेका छन्। एकजना घरधनीले त जम्मा तीन आना जग्गामा २४ वटा कोठा भएको चार तले घर बनाएर भाडामा लगाएका छन्। तलै पिच्छे एक–एक वटा साझा चर्पी र प्रत्येक कोठामा धारो तथा निकासको थप सुविधा व्यवस्था गरिएकोले बहाल केहि महँगो भए तापनि त्यस घरमा भाडामा बस्नेहरुको अकसर भीड नै लाग्ने गर्दछ। छिमेकका मानिसहरु त्यस घरलाई भाडामा बस्नेहरुको ब्यारेक भन्ने गर्दछन्।

छिमेकीहरुले ब्यारेक भन्ने गरे तापनि भाडामा बस्नेहरु अधिकाँश विद्यार्थी नै हुने गरेकोले त्यो घर एक किसिमको होस्टेल झैं लाग्दछ। बाबुआमा–अभिभावकको रेखदेख–नियन्त्रणबाट टाढा स्कूल–कलेजको होस्टेलमा बस्ने विद्यार्थीहरु कति उन्मुक्त जीवन बिताउँछन् भन्ने कुरा होस्टेल जीवन बिताएका भुक्तभोगीहरुलाई बताइरहन पर्दैन। त्यस माथि “सुपरिन्टेन्डेट” विहीन त्यस “होस्टेल” मा बस्ने विद्यार्थीहरु कति बढी उन्मुक्त होलान्, सजिलै अनुमान गर्न सकिन्छ। बिहान चर्पीमा दिशा बस्नेहरुको लाइन र चर्पी भित्र पस्न भ्याएकोले गर्ने युवा–सुलभ बदमासी नै पनि एक प्रकारले रमाइलै हुन्छ। साँझको समय उनीहरुको सामुहिक गानाबजाना, वादविवाद, र छेडछाड जस्ता कृयाकलापले संधियार र छिमेकका घरहरुलाई समेत जीवन्त बनाइरहेको हुन्छ।

एसएलसी लगायत उच्च शिक्षाका विभिन्न तहको परीक्षाफल निस्केको अहिले केहि हप्ता वा महिना दिन जति भएको छ। त्यसैले केहि पुराना बहालवाला विद्यार्थीहरु त्यस घरबाट विदा भएका छन् भने केहि नयाँ अनुहार थपिएका छन्। तर त्यस घरमा हुने साँझको रमझम र रौनकमा केहि कमी भएको थिएन। अस्ति मात्रैको कुरा हो। केहि विद्यार्थीहरु राती अबेरसम्म गानाबजाना सहित रमाइलो गरिरहेका थिए। सायद पुरानाले नयाँलाई र नयाँले पुरानाहरुलाई “टि्रट” गरिरहेका थिए। तर त्यस रमाइलो वातावरणले अकस्मात चर्को विवादको रुप लिएछ र मुक्कालातको स्थितिसम्म पुगेछ। त्यस क्रममा केहि दिन अघि मात्र भाडामा बस्न आएको एकजना नयाँ ज्याङ्गो विद्यार्थीले अर्को विद्यार्थीको नाकै पच्काई दिएछ। त्यस पछि त्यो घर अहिलेसम्म शान्त छ।

आज बिहान पंक्तिकार चिया नास्ता समेत पाइने नजिकको एउटा सानो किराना पसलमा चिया पिइरहेको थियो। माथि वर्णित “होस्टेल” मा बस्ने एकजना पुरानो परिचत विद्यार्थी त्यहि पसलमा केहि चिज किन्न आएको बेला पंक्तिकारले उसलाई चिया पिउने निम्ता सहित संगै बसाएर अस्ति रातीको घटना बारे जान्न खोज्दा पहिले त उसले “खासै त्यस्तो केहि भएको होइन, सामान्य विवाद मात्र भएको हो। अहिले सब ठीकठाक छ” भनी पन्छिन खोजेको थियो। “अनि किन तेत्रो कोलाहल र डाङडुङ मच्चेको त? किन त्यति टाढा बस्ने घरधनीले त्यस रात प्रहरी नै ल्याएर हस्तक्षेप गर्न परेको नि? हेर भाई, म तिमीहरुको छिमेकी हुँ। भोली त्यस्तै घटना घट्यो भने छिमेकीहरुले समेत हस्तक्षेप गर्नु पर्ने हुन्छ कि के थाहा! त्यसैले सबै कुरा मलाई खुलस्त भन।”

पंक्तिकारको दवावलाई उसले अरु टार्न सकेन र घटना बारे बताउन राजी भयो। उ समेत चारजना पुराना विद्यार्थी र विभिन्न जिल्लाबाट आएका अरु चारजना विद्यार्थी गरी आठजनाले अस्ति साँझ कोठामै रमझम सहित खानपिन कार्यक्रम आयोजना गरेका रहेछन्। कोहि भर्खरका शिकारु, कोहि कहिल्यै थोपो नपिएका। केहि छिनको गफगाफ पछि विजुली पानीले आफ्नो करामत देखाउन शुरु गरी हालेछ। गफगाफकै क्रममा एकजना विद्यार्थीले माथि उल्लेखित ज्याङ्गो विद्यार्थीलाई “नेपालको मुन्नाभाई एमबिबिएस” भनी गिज्याउन थालेछ। त्यसरि नगिज्याउन धेरै पटक भन्दा भन्दै पनि गिज्याइरहेकोले ज्याङ्गोले गिज्याउने साथीको नाकमा पच्काएर नाथ्री नै फुटाइ दिएछ, मुखमा पच्काएर दुई वटा दाँत पनि हल्लाइ दिएछ र बवाल मच्चिएको रहेछ।

“मुन्नाभाई एमबिबिएस” एउटा चर्चित हिन्दी फिल्मको नाम हो जसमा खुंखार गुण्डाको रुपमा बदनाम नायक सञ्जय दत्तले एउटा मेडिकल कलेजमा भर्ना हुनका लागि त्यहि कलेजको एकजना डाक्टरलाई मार्ने धम्की दिएर आफ्नो नामबाट प्रवेश परीक्षा दिन लगाई उत्तीर्ण भएको, उसका अन्तरंग साथीहरुले मोबाइल फोनबाट पठाएको चोरी उत्तर सार्दै अरु परीक्षा दिएको देखाइएको छ। यस लेखमा उल्लेखित ज्याङ्गो विद्यार्थी पात्र फिल्मको नायक सञ्जय दत्त जस्तो गुण्डा त थिएन, तर हालै उसले पास गरेको एसएलसी परीक्षामा जेजे भयो, जस्तो परीक्षाफल निस्क्यो र उसका अभिभावकहरुले जे पढाउने आकाँक्षा सहित उसलाई राजधानी पठाए, त्यसको सार सन्दर्भको आधारमा साथीहरुले उसलाई “नेपालको मुन्नाभाई एमबिबिएस” भनी जिस्क्याएका रहेछन्।

विद्यार्थीहरुले आफ्नो एकजना साथीलाई “मुन्नाभाई” उपनाम दिएर हँसिमजाक उडाएको कुरा बाहिरबाट हेर्दा जति सामान्य र रमाइलो लाग्छ, त्यससंग सम्बन्धित अन्तरंग कथा त्यो भन्दा निकै गंभीर र सोचनीय छ। लेखको विद्यार्थी पात्र ज्याङ्गोका शिक्षक, अभिभावक र उ स्वयमले यस पालीको एसएलसी परीक्षामा दोस्रो श्रेणी भन्दा माथिको फल आशा गरेका थिएनन्। ज्याङ्गो परीक्षा दिन बसेको केन्द्र रहेको क्षेत्रमा कृयाशील सशस्त्र “विद्रोही” समुहले केन्द्राध्यक्षलाई पहिले धम्क्याएर पछि २० प्र.श. भागवण्डा दिने भनी मनाएर प्रत्येक परीक्षार्थीबाट पाँच हजार रुपिया “चन्दा” असुलेर आफ्ना जातिका परीक्षार्थीहरुलाई किताबबाट खुल्लमखुल्ला उत्तर सार्न दिएका रहेछन्। यही चमत्कारले गर्दा ज्याङ्गो परीक्षामा ८८ प्र.श. अंक ल्याउन सफल भएको रहेछ।

देशभरको नतिजा करीब ६४ प्र.श. मात्र छ। समाचार अनुसार दुर्गम जिल्लाहरु मनाङबाट ९० प्र.श., खोटाङबाट ७२.१ प्र.श., उदयपुरबाट ६८.७६ प्र.श., ओखलढुंगाबाट ६७.७४ प्र.श., सोलुखुम्बुबाट ६२.०५ प्र.श. र ताप्लेजुङबाट ५६.३१ प्र.श. विद्यार्थी पास भएका छन् भने तुलनात्मक रुपले सुगम तथा सुविधा सम्पन्न पहाडी जिल्लाहरु पानथरबाट २४.९९ प्र.श., इलामबाट ३०.६६ प्र.श. र धनकुटाबाट ३६.३४ प्र.श. विद्यार्थी मात्र पास भएका छन्। पोहर साल मनाङबाट पास हुने विद्यार्थीको संख्या १४ प्र.श. मात्र थियो। त्यसै गरी तराईको सप्तरीबाट सबभन्दा बढी ८२.७७ प्र.श. र सुनसरीबाट ७०.१६ प्र.श. विद्यार्थी पास भएका छन् जबकि ती दुबै जिल्ला भन्दा तुलनात्मक रुपले विकसित मोरङबाट ५१ प्र.श. विद्यार्थी मात्र पास भएका छन्।

माथिको विवरणबाट के पुष्टी हुन्छ भने जुन जुन जिल्ला वा क्षेत्रमा सशस्त्र वा निशस्त्र विद्रोही समुहहरु सकृय छन् वा उनीहरुको प्रभाव छ, तत् तत् जिल्ला वा क्षेत्रमा अप्रत्यासित रुपले बढी संख्यामा विद्यार्थीहरु पास भएका छन्। संघीयताको आधारमा नेपाल राज्यको पुनर्संरचना हुँदैछ। यसैलाई सन्दर्भ बनाएर आगामी वर्षदेखि एसएलसी परीक्षा प्रादेशिक स्तरमा संचालन हुने कुरा पनि सुन्नमा आइसकेको छ। यदि विभिन्न प्रदेशहरुमा संचालन हुने भावी परीक्षाको रुप र परीक्षाफलको रंग यस्तै हुने हो भने एउटा प्रदेशमा हासिल गरेको शैक्षिक प्रमाणपत्रलाई अर्को प्रदेशले मान्न सकिने अवस्था सिर्जना हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ। देशका नीति निर्माताहरुले यस पालीको एसएलसी परीक्षा र परीक्षाफल उपर गम्भीर समीक्षा गर्नु अत्यावश्यक भएको छ।


Comments

prosiby prosi
Wed Nov 4, 2009 1:53 am NST
Very original and truthful. Keep up the good work.



Post a reply

Related Stories
ओझेलमा परिन सिल्भीया
२०६३ सालको एसएलसीमा विद्यार्थी संख्या शून्य ?
एसएलसी नतिजा सार्वजनिक
एसएलसी शुरु
एसएलसी चैत ४ देखि : तयारी पूरा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com