Welcome, Guest Log In Sign Up  

राष्ट्रपति पदको उपहास

m-shresthaby m-shrestha
Sun Jun 15, 2008 10:24 pm NST

नेपालको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य र गणतन्त्र कार्यान्वयनको घोषणासँगै मुलुकको राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति रहने व्यवस्था गरेको पनि आज १९ दिन पुगेको छ। तर संविधानसभा निर्वाचनमा कुनै पनि दलले सामान्य बहुमत हासिल गर्न नसकेको कारण अन्तरिम राष्ट्रपति को हुने भन्ने विषयमा दलहरु बीच सहमति हुन सकिरहेको छैन।

यसै बीच सबभन्दा ठूलो दल बन्न सफल नेकपा माओवादीले शुरुमा राष्ट्रपति र सरकार प्रमुख अर्थात प्रधानमन्त्री दुबै पद दावी गर्दै आएकोमा सो दावी सम्भव नभए पछि राष्ट्रपति पदको दावीलाई त्यागेर नागरिक समाजको प्रतिनिधिलाई राष्ट्रपति बनाउनु पर्छ भनी राखेको प्रस्ताव वा फालेको पासाले केहि मानिसहरुमा राष्ट्रपति पदप्रति अनावश्यक आसा, आकाँक्षा र महत्वाकाँक्षा जगाइदिएको छ र उनीहरुले आफूलाई मनपरेको व्यक्तिलाई विभिन्न माध्यमबाट नेपालको प्रथम राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव र प्रचार गर्न थालेका छन्।

राष्ट्रपति पदका लागि राजनीतिक क्षेत्र र नागरिक स्तरबाट प्रस्तावित नाम मध्ये नव जनवादी मोर्चाका अध्यक्ष रामराजा प्रसाद सिंह, नेकपा एमालेका पूर्व महासचिव माधवकुमार नेपाल तथा स्थायी समिति सदस्य सहाना प्रधान, नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नागरिक समाजका पद्मरत्न तुलाधर तथा देवेन्द्रराज पाण्डे, विदेशमा कार्यरत रहेका वा रहिसकेका कुलचन्द्र गौतम तथा प्रा.डा. सूर्यप्रसाद सुवेदी रहेका छन् भने दलितहरुको एउटा संस्थाले दलितलाई राष्ट्रपति बनाउनु पर्ने माग गरेको छ।

तर राष्ट्रपति जस्तो राष्ट्र प्रमुखको पदपूर्ती सम्बन्धमा जुन अत्यन्त हल्का र सतही कुरा नागरिक समाज र राजनीतिक क्षेत्र दुबै वृत्तबाट आइरहेको छ, त्यो एकदमै खेदजनक छ। राजनीतिक क्षेत्रबाट आउने कुरालाई त राजनीतिक दाउपेचकै रुपमा लिन सकिन्छ। तर नागरिक स्तरबाट आएको प्रस्ताव र प्रचारले राष्ट्रपति पदको यति धेरै उपहास, अपमान र अवमूल्यन भएको छ कि हास्यव्यंग्य टेलिसिरियल तितोसत्यमा त्यस पदलाई केहि नबोल्ने, कतै नचल्ने गरी भुईंमा गाडिएको बिजुलीको लट्ठासंग दाँज्न सम्म भ्याए।

जतिसुकै सेरेमोनियल भनिए तापनि राष्ट्रपतिमा कुनै अधिकार हुँदैन भन्ने कुरा बिलकुल वाहियात हो। अन्यथा राष्ट्रपति नामको एउटा रबर स्ट्याम्प बनाएर कुर्सीमा राख्दा भई हाल्थ्यो। मन्त्रीपरिषदको सिफारिसमा हुने भए तापनि राष्ट्रपतिमा संकटकाल घोषणा गर्ने र संविधानमा स्पष्ट व्यवस्था हुन नसकेको अवशिष्ट अधिकार रहन्छ। यस्तो गरिमामय पदका लागि कुनै दल विशेषले गैर पार्टी व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा उठायो भन्दैमा लब्ध प्रतिष्ठित व्यक्तिहरुको नाम जथाभावी प्रस्ताव र प्रचार गर्नु गराउनु दुखको कुरा हो।

राष्ट्रपति भनेको कसैलाई दयामाया वा पुरस्कारको रुपमा दिइने पद होइन। राजनीतिक क्रान्ति, चुनावी प्रतिस्पर्धा, राजनीतिक गठवन्धन वा शक्ति सन्तुलनको आधारमा प्राप्त हुने मुलुकको सर्वोच्च पद हो। संक्रमण काल समाप्त भइनसकेको नेपालमा अब्दुल कलाम वा हमिद कार्जाइ जन्मिने अवस्था छैन। अहिले प्रस्तावित राष्ट्रपतिको रुपमा प्रचारित गैरपार्टी व्यक्तिहरुको मौनव्रतले उनीहरुभित्र पनपिरहेका राष्ट्रपति बन्ने आकाँक्षालाई प्रकट गरिरहेको छ। यसले उनीहरुको प्रतिष्ठाको उचाईलाई त घटाउँछ नै, हास्यको पात्र समेत बनाउने छ।

प्रचारमा आएको राजनीतिक व्यक्तित्वहरुको नाम मध्ये रामराजा प्रसाद सिंहलाई दलहरुले जोकर बनाउने निश्चित छ। माधवकुमार नेपालको नाम प्रचारमा आउनु राजनीतिक सौदावाजीको लागि मात्र हो। माओवादीले सहाना प्रधानको नामै किटेर राष्ट्रपति प्रस्ताव गर्नु उसले एमालेमा ल्याउन खोजेको विभाजन प्रयासको अभिव्यक्ति हो। हालै माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई–तिहाईको बहुमत देखाइदिन्छु भन्नु पनि काँग्रेसलाई तर्साउने त्यस्तै एउटा अभिव्यक्ति हो। राजनीतिमा यस्ता कार्यहरुलाई अस्वाभाविक मानिंदैन।

नेपाली जनताको सयौं वर्षदेखिको कठीन संघर्ष र हजारौं सपुतहरुको बलिदानबाट प्राप्त गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदको जागिर खान लक्ष्मण खड्काहरुलाई दरखास्त हाल्न वाध्य नपारियोस्। सबैलाई चेतना भया।।


Post a reply

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com