Welcome, Guest Log In Sign Up  

आज उपत्यका बन्द

rnby rn
Wed May 21, 2008 2:40 pm NST

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै आज उपत्यका बन्द गरिएको छ । हत्याविरुद्ध गठन गरिएको संघर्ष समितिले आह्वान गरेको बन्दका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण आज विहानैदेखी उपत्यकाको यातायात ठप्प भएको छ । विद्यालय र बजार पनि खुलेको छैन । बन्दका क्रममा ठाउँठाउँमा यातायात अवरुद्ध पारिएको छ भने सर्वसाधारण हिँडेरै कार्यालय गएका थिए । त्यस्तै राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रको टोली घटनाको सत्यतथ्य बुझ्न माओवादी सैन्य शिविर चितवनको जुटपानी गएको छ । आज माओवादी जनसेनाको शिविरमा पुगेर घटनाबारे जानकारी लिने केन्द्रका अध्यक्ष मुक्ति प्रधानले जानकारी दिएका छन् । मुक्ति प्रधानको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष बोर्णबहादुर कार्कीलगायत छन् । अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरिने केन्द्रले जनाएको छ ।

यसैबीच वाईसिलको गतिविधि सुधार्नु पर्ने माग गर्दै पाल्पामा नेविसंघ र एमाले निकट अनेरास्ववियु सम्वद्ध युवा बिद्यार्थीले आज चक्काजाम गरेका छन् । विद्यार्थीले त्रिभुवन क्याम्पस अगाडि गाडी तेस्र्याएकाले तानसेन तम्घास सडक खण्डमा एक घण्टा गाडी ठप्प भएको थियो ।

अनमिनका गाडी पनि चलेनन्
व्यवसायी रामहरि श्रेष्ठको हत्याको विरोधमा आह्वान गरिएको उपत्यका बन्दका क्रममा पहिलो पटक नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका गाडी पनि रोकिएका छन् । प्रदर्शनकारीले अनमिनको निगरानीमा रहेको माओवादी सेनाको शिविरमै सर्वसाधारणलाई यातना र हत्या हुँदा समेत केही नगरेको भन्दै आक्रोश पोखेका छन् । अनेरास्ववियुका अध्यक्ष ठाकुर गैरेले अनमिनले शान्ति सम्झौताको पालना गराउन नसकेको आरोप लगाएका छन् । अनमिनका गाडी मात्र होइन प्रदर्शनकारीले सार्वजनिक भाडाका सबै यातायातका साधनलाई रोकेका छन् ।

बन्दको असर
उपत्यका बन्दको क्रममा प्रदर्शनकारीहरुले विभिन्न ठाउँमा टायर बालेर सडक अबरुद्ध गर्नुका साथै सञ्चार माध्यमका गाडीलाई पनि परिचय पत्र हेरेर मात्र जान दिएका थिए । अत्यावश्यक सेवाका प्रहरी एम्बुलेन्स, पर्यटक वाहन लगायतका गाडीलाई भने यथावत रुपमा साचालन हुन दिइएको छ ।

उपत्यका बन्दको असर भक्तपुर जिल्लामा पनि परेको छ । भक्तपुरमा फाट्टफुट्ट मोटरसाईकल गुडेका छन् भने सडक सुनसान देखिन्छ । सर्वसाधारण पैदलै आफ्नो गन्तव्यमा जान बाध्य बनेका छन् । भक्तपुरको गठ्ठाघर कौशलटार लगायतका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध पार्ने प्रयास गरेका थिए । कोटेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच भनाभन समेत भएको थियो । उपत्यका बन्दका क्रममा शहरका भित्री भागमा रहेका पसल यथावत रुपमा खुले पनि मुख्य सडक किनाराका पसल भने बन्द छन् । उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनकारीहरुले जुलुस निकाल्ने क्रम जारी छ । बन्दको समर्थनमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विरोध जुलुस निकाल्ने योजना बनाएको छ । दुबै विद्यार्थी संगठनका समर्थकहरु पनि प्रदर्शनका क्रममा विभिन्न ठाउँमा खटिएका छन् । प्रदर्शनकारीहरुले श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै यो विषयमा माओवादी नेतृत्वले माफी माग्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रचण्डको आव्हान
यसैबीच नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रामहरि श्रेष्ठको हत्याको विरोधमा आव्हान गरिएको उपत्यका बन्द फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले आज अपील जारी गर्दै हत्यामा पार्टीको संस्थागत संलग्नता नरहे पनि हत्याको नैतिक जिम्मेवारी माओवादीले लिने प्रष्ट पारेका छन् । उनले हत्यारालाई कारवाही गर्ने अठोट पनि ब्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले संविधानसभा वैठकका लागि सहज वातावरण बनाउनका लागि हडतालका कार्यक्रम फिर्ता लिन अनुरोध गरेका छन् । समस्या समाधानका लागि माओवादीले गम्भिरता देखाउँदा देखाउँदै पनि नियोजित र संगठित रुपमा पार्टीविरुद्ध आन्दोलन भएको बताउँदै उनले गणतन्त्र कार्यान्वयनमा कतैबाट व्यवधान आउन नदिने तर्फ सचेत रहन आग्रह गरेका छन् । हत्यारामाथि अनुशासन र कानुनी कारवाहीको कठोर नीति अपनाईने प्रष्ट पार्दै उनले मृतकका परिवारसँग बसेर छलफल गर्न चाहेको बताएका छन् । हत्यारालाई कार्वाही गर्ने र छानविनका लागि आयोग बनाउनेतर्फ पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मानवअधिकारकर्मीको आरोप
व्यापारी रामहरि श्रेष्ठको हत्याबारे चौतर्फी विरोध भइरहेको बेला मानवअधिकारवादीले पनि घटनाबारे स्पष्ट पार्न माओवादी नेतृत्वलाई संझाएका छन् । आज काठमाडौमा गरिएको कार्यक्रमका सहभागीले पार्टी पंत्तीको निर्देशन अनुसार नै श्रेष्ठको हत्या भएको दावी गरे । हत्याको जिम्मेवारी लिन आग्रह गर्दै मानवअधिकारकर्मीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्र समेत लेखेका छन् । ठुलो दलको हैंसेत देखाएर सरकार बनाउने मुडमा रहेको माओवादीको व्यवहारबाट आमजनता र मानवअधिकारवादीको मन कुंडिएको मानवअधीकारकर्मी सुशील प्याकुरेलले बताउनुभयो । राजाको प्रत्यक्ष शासनकालमा समेत घटनाको तथ्य बाहिर ल्याएको स्मरण गराउँदै प्याकुरेलले अहिले पनि आफुहरु सत्य खोज्न लागीपरेको बताए । हत्यामा संलग्न अपराधीलाई लुकाउने काम माओवादी नेतृत्वबाटै भइरहेको कार्यक्रमका सहभागीले बताए । प्रतिश्पर्धात्मक राजनितिमा आइसकेपछि पनि युद्धकालको जस्तै व्यवहार माओवादीले देखाएको मानवअधिकारकर्मीको आरोप छ ।


Post a reply

Related Stories
व्यवसायी श्रेष्ठको हत्या प्रतिवेदन सार्वजनिक
रामहरी श्रेष्ठको हत्याको सर्वत्र निन्दा

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com