Welcome, Guest Log In Sign Up  

भाषा बाँचे जाति बाँच्छ

श्रीकृष्ण सुलु

नेवारहरु तामाङ, गुरुङ्ग, राई, लिम्बु, थारु आदिझैं एक नश्ल वा साझा रगतका मानिसहरु सम्मिलित जाति होइनन् । नश्लका दृष्टिले नेवारहरुमा आर्यमूल, मंगोलमूल र अष्ट्रोड्रबिड मूलका मानिसहरु छन् । त्यस्तै, धर्मका हिसाबले बौद्घ, हिन्दु नेवार छन् र पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका नजितेसम्म इस्लाम र ईशाई नेवारहरु पनि थिए । नेवार भनी पहिचान हुने साझा आधार भाषा हो । नेपाल भाषा मातृभाषा हुनेहरु नै नेवार जातिका हुन् । एक समय नेपाल मण्डल खासगरी, काठमाडौं उपत्यकामा जो आए पनि यहाँका कला, संस्कृति र भाषाका प्रभावले नेवार भइजान्थे । यहाँ आएका बाहुन, क्षेत्री, मधेसी, कुमाले आदि सबै नेवार भएर गएको प्रमाण छ । त्यसैले नेवारहरु Ethnic Community होइन Linguistic Community मानिन्छ । यही यथार्थ बुझेर नेवारहरुले विशेषगरी नेपाल भाषाका महाकवि सिद्घिदास महाजुले “भाषा म्वाःसा जाति म्वाइ” अर्थात भाषा बाँचे जाति बाँच्छ भन्नु भएको हो ।

“भाषा म्वाःसा जाति म्वाइ” विराट नेपाल भाषा सम्मेलनको मौलिक नारा होइन । महाकवि सिद्घिदास महाजुको भनाइ हो । यही सच्चा नबुझेर यो विराटको नारा हो भन्ठानेर विरोधको लागि विरोध गर्नेहरुले ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात जनता बाँचे भाषा बाँच्छ नारा ल्याएको आरोप छ । त्यसो त ‘जनता म्वाःसा भाषा म्वाई’ वस्तुसंगत पनि देखिदैंन, यो यथार्थभन्दा धेरै पर छ । जनता बाँच्दैमा भाषा स्वतः बाँच्दैन । संसारमा हरेक दोश्रो साता एक एकवटा भन्दा भाषा लोप हुँदैछ, जनता बाँच्दा बाँच्दै पनि । नेपालमा पनि कति भाषा लोप भइसके, कति लोप हुने खतरामा छ, जनता बाँचेर पनि । जतिसुकै गलत कुरा पनि नेताले भनेकोले सही हुन्छ भन्नु पाखण्डी र सामन्ती विचार हो । सिपाहीले भन्दा अर्थ न वर्थको हुने र राजाले भन्दा महावाणी हुने सामन्ती प्रथा हो । यो प्रथा कमसेकम गणतन्त्र नेपालमा अन्त्य हुनुपर्छ ।

जातीय संघराज्यका बारे पनि धेरै चर्चा हुने गरेको छ । जातीय संघ राज्य भनेकै बहुजातीय र बहुभाषिक देशमा हुने हो । एउटै जाति र भाषा भएको देशमा हुने होइन । एउटै जाति र भाषा भएको देश जापान, कोरियामा जाति र भाषाका आधारमा संघ राज्य आवश्यक छैन र बन्दैन पनि । तर बहुभाषिक, बहुजातीय देशमा जातीय राज्य हुँदैन भन्नु कस्तो देशमा जातीय संघ राज्य हुन्छ भन्ने नबुझ्नु अज्ञानताकै परिणाम हो । संयुक्त राष्ट्रसंघले पनि जातीय अधिकार र स्वशासनको अधिकारलाई मान्यता दिएको छ । तर, देश टुक्र्याउने अधिकार दिएको छैन र दिनु पनि हुँदैन ।

जातीय संघराज्य भए पनि मुद्रा, रक्षा, यातायात, परराष्ट्र, जलविद्युत, हवाइसेवा, ठूल–ठूला सिँचाइ तथा राष्ट्रिय योजनाहरुमा केन्द्रीय राज्यकै अधिकार रहने हुनाले जातीय द्वन्द्व, आवतजावतमा खतरा आदि समस्या हुुँदैन । बरु स्थानीय स्रोत, साधनको राम्रो परिचालन, कला, संस्कृतिको संरक्षण र सम्बद्र्घन हुन्छ । अहिलेजस्तो “एक घर, दुई दलाल” र “पुर्खाले सिर्जेको सम्पत्ती, मुठीभरको डलर खेती” रोकिन्छ । कागजी प्रमाण हुँदैमा जग्गा जमिन मेरो हो भन्ने भावनाको अन्त्य हुन्छ ।

जातीय अधिकारसँगसँगै भाषिक समानता आवश्यक छ । भाषा आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले भन्नु भएको थियो, “आन्दोलनको क्रममा म समातिएँ । हिरासतमा मेरी आमा भेट्न आउनुभयो । मेरी आमाले कुरा गर्न के थाल्नुभयो, प्रहरीले रोके, र भने– कुरा गर्ने भए नेपालीमा गर नत्र फर्की जा । मेरी आमा नेपाली जान्नु हुन्न । फेरि म आमासँग मातृभाषा बाहेक अरु भाषामा कुरा गर्न सक्दिन । आखिर आमा केही नबोली आँखावाट आँसु खसाले फर्किनुभयो ।” भाषिक समानता र जातीय अधिकार भएको भए यस्तो हुने थिएन ।

समाज वर्गीय छ । त्यसैले, साहित्य पनि वर्गीय हुन्छ भन्ने तः मुंज्याको मान्यता सही छ । तर, तःमुंज्याकै मञ्चमा राजावादी, सामन्तवादी र भाषा विरोधी साहित्यकारहरु वर्षेनी देखिनु ठूलो पहेंली बनेको छ । भाषा आन्दोलनका अगुवाहरु र प्रगतिशील लेखक, कवि, कलाकारहरु त्यति नदेखिनु अत्यन्त दुखद छ । कतै हामी भाइ फुटे गवार लुटे त भइरहेका छैनौ ? फुट गर या राज गर भन्ने र गर्नेहरु पनि जीवितै छन् । जातीय अधिकार र भाषिक समानताका लागि एक जुट भई लडौं ।


Post a reply

More Stories Like this
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
होचा नेता, होचा सोच र होचिएको राजनीति

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com