Welcome, Guest Log In Sign Up  

फेरि झापड हान्न नपरोस्

श्याम शंकर जोशी

'कसैले तिमिलाई गालामा थप्पड हिर्काए अर्को गाला पनि थापिदिनु, त्यो थप्पड हान्ने मान्छे लज्जित भई अर्को गालामा हिर्काउने छैन ।' यो महात्मा गान्धीको अर्ति उपदेश हो । यही उपदेशको अनुसरण गरी हिन्दी फिल्म 'लगे रहो मुन्नाभाई'मा नायकको गालामा झापड हिर्काउँदा नायकले अर्को गाला पनि थापिदिए । तर त्यो हान्ने मान्छे लज्जित नभई नायकको अर्को गालामा पनि हानिदिए । नायक एकछिन असमंजसमा परे । अर्को गालामा पनि हिर्काए के गर्ने भनी महात्मा गान्धीले त केही भनेको छैन । त्यसपछि नायकले आफूलाई हान्ने मान्छेलाई 'दे-दनादन' पिटे ।
गत माघ ६ गते सुनसरीको इटहरी बजारमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सार्वजनिक कार्यक्रमअनुसार पार्टी प्रवेशीहरुलाई अविर दल्दै थिए । टीका थाप्न अगाडि बढेका सुनसरी भरौल-१ का देवी प्रसाद रेग्मिले टीका नथापी हजारौं दर्शकको भीडमाझ अध्यक्ष खनालको गालामा जमाएर एक झापड हाने । त्यसबेला अध्यक्ष खनाल अलमलमा परे । गान्धीको अर्ति सम्झना भएन होला । उहाँले अर्को गालामा पनि हिर्काऊ भनी अर्को गाला थाप्नु भएन । 'लगे रहो मुन्नाभाई' सिनेमा पनि हेर्नु भएको थिएन होला । त्यस्तो हृष्टपुष्ट खनालजीले त्यो सुकुटे देवी प्रसाद रेग्मिलाई समातेर पिट्नु पनि भएन ।

यो झापड काण्ड सार्वभौमसत्ता सम्पन्न तथा राजकीय अधिकार प्राप्त भनिएका जनता नेताहरुसंग कति पीडित र रुष्ट छन् भन्ने कुराको प्रमाण हो । शान्ति समावेशी र लोकतन्त्रको नाममा जहिले पनि मीठा र चिप्ला कुरा गर्ने तर कहिल्यै भोग्नु नपरेको दुःख भोग्न बाध्य आम नेपालीको पीडा नदेख्ने नेताहरुको व्यवहारबाट वाक्कदिक्क भई एक प्रकारले असामान्य मानसिकताबाट गुज्रिरहेका जनताले नेतृत्वप्रति प्रकट गरेको असन्तुष्टि हो यो झापड प्रकरण । यस घटनालाई नेताहरुप्रति जनतामा विकसित भइरहेको चरम जनआक्रोशको अभिब्यक्तिका रुपमा बुझेर सवै नेताले यसलाई आफ्नै गालामा लागेको झापडका रुपमा लिन सक्नु पर्छ ।

प्रधानमन्त्री बन्नका लागि आफ्नै पार्टीलाई समेत जानकारी नदिई एमाओवादीका अध्यक्ष प्रचण्डसंग सात बुँदे गोप्य सहमति गरेर अध्यक्ष खनालले हदै सम्मको आफ्नो पदलोलुप चरित्र उजागर गरेका छन् । राष्ट्रिय सहमतिको सरकारको राग अलापने र कम्तिमा पनि संविधान पारित गर्नका लागि दुई तिहाइको सरकार चाहिने सूत्र निकाली अरुलाई बहुमतको सरकार बन्न नदिई सात महिनासम्म मुलुकलाई सरकारविहीन बनाउने अध्यक्ष खनाल आज देश र जनता तथा आफ्नै पार्टीलाई गुमराहमा राखी आफू बहुमतको प्रधानमन्त्री बन्दा उहाँलाई पटक्कै लाजशरम लागेन । उहाँको यस्तो अनैतिक र अलोकतान्त्रिक शैलीका बारे एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल लेख्नु हुन्छ -'आफूलाई प्रधानमन्त्री बनाउने आफ्नै पार्टीसंग लुकाएर माओवादीसंग सम्झौता गरेर खनालजीले आफूलाई पार्टीको आँखाबाट तल झार्नु भयो । स्थायी कमिटीमा उहाँले आत्मालोचना गर्नु त भो । … लुकाएर गरिने सम्झौताको जग आधारभूत रुपमा षड्यन्त्र नै हुन्छ । यस्तो काम पार्टीको अध्यक्ष जस्तो मान्छेले गर्नै हुँदैनथ्यो ।'

व्यवस्थापिका संसद्भित्र गत माघ २० गते प्रधानमन्त्री निर्वाचन प्रक्रिया शुरु हुनु अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकाध ठाउँमा नेताहरुलाई झापड हान्न थालिसकेको सन्दर्भमा अब पनि नयाँ प्रधानमन्त्री चयन गरी सरकार बनाउन नसकेको खण्डमा जनताले नेताहरुलाई जुत्ताले हान्न सक्ने सम्भावना देखेर आफ्नो पार्टी ठूलो पार्टी भएकाले ठूलै त्याग गरेको बताउनु भयो । उहाँले उम्मेदवारी फिर्ता लिई झलनाथ खनाललाई समर्थन गरी उहाँलाई बहुमतबाट नयाँ प्रधानमन्त्री निर्वाचित गर्नुभयो । सबैलाई आश्चर्य लाग्यो अध्यक्ष प्रचण्डले ठूलै त्याग गर् यो भनेर । तर जब एमाले र माओवादीका दुई अध्यक्षबीच आन्तरिक संविधान र विस्तृत शान्ति सम्झौताको परिभाषा मर्म र भावनासंग कतै मेल नखाएको सातबुँदे गोप्य सहमति प्रकाशमा आयो अनि मात्र अध्यक्ष प्रचण्डले गरेको ठूलो त्यागको पर्दाफास भयो ।

आफू प्रधानमन्त्री बनिसकेको दुई सातासम्म पनि मन्त्रीपरिषद्लाई पूर्ण आकार दिन नसकेपछि विरोधाभास सातबुँदे सहमतिलाई परिमार्जित रुपमा फेरि दुवै अध्यक्षले संयुक्त हस्ताक्षर गरी प्रकाशमा ल्यायो । तर मन्त्रीपरिषद् गठन गर्न नसकेको मूल मुद्दालाई ओझेलमा राखी ल्याइएको सो परिमार्जित वक्तब्यलाई एमालेकै नेताहरुले अर्को जालझेल तथा थप जालझेल भएको टिप्पणी गरे । सात महिना लामो काम चलाउ सरकार पछि बल्ल मुलुकले नयाँ प्रधानमन्त्री पाए पनि ठीक एक महिना पछि यहि फागुण २० गते बल्ल ८ जनाको मन्त्रीपरिषद् बनेको छ । अहिले सम्म मन्त्रीपरिषद्ले पूर्ण आकार प्राप्त गर्न सकेको छैन । संविधान लेख्न थपिएको एक वर्षको अवधि त्यतिकै खेरो गइरहेको छ । तीन महिना पनि समय बाँकि नभएको यस्तो अवस्थामा अव यी नेताहरुले संविधान बनाई हाल्ला भन्ने विश्वास गर्न सकिने वातावरण देखिंदैन । तसर्थ एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आउँदो जेठ १४ गतेसम्म पनि संविधान बनाउन नसके जनताले यत्रो बलिदान गरेर ल्याएको गणतन्त्र गुम्न सक्ने अवस्था भएकाले सभासद् र नेताहरुको गालामा चड्कन हान्न जनतालाई छुट भएको बताउनु हुन्छ । तर जनता नेताहरुलाई फेरि झापड हान्न नपरोस् र उनीहरुको घैंटोमा घाम लागोस् भन्ने चाहन्छन् ।


Post a reply

Related Stories
संविधान निर्माण नै शहीद दिवसको सार्थकता
होचा नेता, होचा सोच र होचिएको राजनीति
होचा नेता, होचा सोच र होचिएको राजनीति

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
संविधान निर्माण नै शहीद दिवसको सार्थकता

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com