Welcome, Guest Log In Sign Up  

संविधान निर्माण नै शहीद दिवसको सार्थकता

श्याम शंकर जोशी

प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि शहीद सप्ताहका रुपमा सप्ताहब्यापि कार्यक्रम आयोजना गरी १६ गतेका दिन 'शहीद दिवस' मनाउने चलन रहिआएको छ । औपचारिक रुपमा प्रथम शहीद भनी घोषणा नभए पनि तानाशाही राणा शासनविरुद्ध लड्दा वि.सं.१९३३ मा मारिएका पहिलो शहीद लखन थापामगर थिए । मुलुकमा स्वतन्त्रता मानवअधिकार र प्रजातन्त्रबहालीका लागि जहाँनिया राणा शासनको विरोधमा लागेका कारण वि.सं.१९९७ माघमा शुक्रराज शास्त्री र धर्ममक्त माथेमालाई भुण्ड्याएर मारेका थिए भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी मारियो । टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राम्हण भएकाले मृत्युदण्ड नदिई चारपाटा मुडेर नेल सिक्रीसहित आजीवन काराबासको सजाँय दिइएको थियो । जन्मकैद र सर्वस्वहरण सजाँय् पाउनु भएका गणेशमान सिंह भने २००१ सालमा भद्रगोल जेलबाट भागेर भारत पुग्न सफल हुनुभएको थियो ।

राणाहरुको यही क्रुर कुकृत्यको कारण २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल पार्न पृष्ठभूमि तयार भयो । सशत्र क्रान्ति गर्ने उद्देश्यले थीरबम मल्लको नेतृत्वमा मुक्ति सेना गठन भयो । बीरगंजबाट शुरु भएको सशस्त्र क्रान्ति देशभरि फैलियो । यसै क्रममा थीरबम मल्लले बीरगंजमा बीरगति प्राप्त गरे । सात सालको आन्दोलनबाटै एक सय चार वर्षसम्मको तानाशाही एकतन्त्रीय राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भयो ।

संसारमा असंख्य मानिस जन्मेका छन् र मरेका छन् । ती सबैको नाम विश्वको इतिहासमा लेखिएको छैन । इतिहासमा त्यस्ता मानिसको नाममात्र लेखिन्छ जसले जन्मभूमिको स्वतन्त्रताको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्दछन् । त्यसैगरी जसले प्रजातन्त्र मानवअधिकार र राष्ट्रका लागि सहादत प्राप्त गर्छन् तिनको नाम अमर हुन्छ । ती मरेर पनि तिनको नाम तिनको काम तिनले गरेको योगदानले अमर हुन्छन् । तिनको सम्झनामा राज्यले नै सम्मान व्यक्त गर्दछ । नेपालको सन्दर्भमा ती चार बीर पुरुषले अमरत्व प्राप्त गरेको ७० वर्ष वितिसकेको छ । त्यस पछि २००७, २०४६, दश वर्षे जनयुद्ध र ०६२/६३ को क्रान्ति तथा आन्दोलनका क्रममा शहीद हुनेहरुको पंक्तिमा ज्ञात-अज्ञात रुपमा हजारौं लाखौं लामबद्ध भइसकेका छन् ।

माओवादीले जनयुद्धमा मारिएका १० हजारलाई शहीदको सूचीमा राखेका छ । जनआन्दोलन २०६२/०६३ मा मारिएका २५ जना र तराई मधेस आन्दोलनमा मारिएका २४ जनालाई शहीद घोषणा गरिएको छ । त्यस्तै कर्मचारी शहीद १७ जना, धार्मिक शहीद २ जना र पत्रकार शहीद २ जनाको पनि सूची राखिएको छ । समाज राजनीति र राष्ट्रको व्यवस्था परिवर्तनका लागि लड्ने भन्दा पनि सडकमा विरोध गर्ने क्रममा मारिएका र जुनसुकै सानातिना घटनामा मर्नेहरुका परिवारलाई १० लाख क्षतिपूर्ति दिने र मृतकलाई शहीद मान्न थालेपछि शहीदको संख्या बढीरहेको छ भने शहीदको सम्मान र मूल्य घट्दै छ । राजनीतिक नेतृत्व जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेकाले आन्दोलन र विरोध मत्थर पार्न शहीदलाई सस्तो बनाइएको छ । शहीद शब्दकै अपमान हुने गरी जुनसुकै दुर्घटनामा मरेको व्यक्तिलाई पार्टीको झण्डा ओढाई क्षतिपूर्ति सहित शहीद घोषणा गर्ने संस्कार प्रोत्साहित गर्दै सरकारले आधिकारिक रुपमै ६ हजार ३ सय ४४ जनालाई शहीद घोषणा गरिसकेको छ । यसरी शहीदको विषयमा संकीर्ण र अभद्र राजनीति गर्नु सांस्कृतिक दरिद्रताको पहिचान हो ।

शहीदहरुले परिकल्पना गरेका शोषणरहित समाज र आजको हाम्रो समाजको तुलना गर्ने हो भने आजको समाज विभिन्न किसिमका विकृति र बिसंगतिले भरिएको देखिन्छ । व्यक्तिगत र दलगत स्वार्थका कारण हाम्रो समाज एक अर्काप्रति उत्तरदायित्वविहीन बन्दै गइरहेको छ । व्यक्तिको आचरण र मानवीय मूल्य र मान्यताको दिनप्रतिदिन अवमूल्यन हुँदै गइरहेको छ । प्रजातान्त्रिक राजनीतिमा आस्था र विश्वास राख्ने राजनीतिक दलहरुमा अप्रजातान्त्रिक तथा दलीय स्वार्थको संस्कार धनिभूत हुँदै गएको छ । जसको परिणामस्वरुप देशमा विभिन्न किसिमका अस्थिरता अन्योल र अनिश्चितताको वातावरण व्याप्त हुँदै गएको छ ।

यस्ता बिसंगति अवरोध र अस्वच्छ खेलमा नअलमलिई २०६२/०६३ को जनआन्दोलनको उपलब्धि लोकतन्त्रको रक्षा गर्ने र राष्ट्र राष्ट्रियता तथा जनहित जस्ता विषयमा ध्यान दिनुपर्ने आजको आवश्यकता हो । ती वीर शहीदहरुले हामीलाई फोहोरी राजनीतिक खेल खेल्नका लागि रगत बगाएका होइनन् । लोकतन्त्रको स्थापनाका लागि जीवनको आहुति दिन पछि नपरी राष्ट्रियता र लोकतन्त्रका पक्षमा लडाईं लड्ने ती वीरयोद्धाहरु आज यस धरतीमा नरहे तापनि उनीहरुको अमिट छाप कसैले पनि कहिल्यै बिर्सनु हुँदैन । देश र जनताका लागि प्राणाहुति दिने शहीदहरुको ऋण चुकाउन अब सार्वभौमसत्ता जनतामानिहित संविधान निर्माण गर्नु सबै राजनीतिक दलको नैतिक दायित्व हो । वास्तवमा यो नै राष्ट्रिय सरोकारको विषय भएकाले शहीदहरुले देखाएका मार्गलाई आत्मसम्मानका साथ अवलम्बन गर्नुमा नै शहीद दिवसको सार्थकता रहने छ । साथै लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गरी इमानदारीका साथ कार्यान्वयन पक्षतर्फ लागेमा नै शहीदहरु प्रति हार्दिक श्रद्धांजली अर्पण गरेको ठहरिने छ ।


Post a reply

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com