Welcome, Guest Log In Sign Up  

होचा नेता, होचा सोच र होचिएको राजनीति

श्याम शंकर जोशी

नेपाल अब विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथा भएको देशको नामबाट मात्र होइन विश्वका दुई सय भन्दा धेरै मुलुकको सूचीमा सबैभन्दा होचा व्यक्ति भएको मुलुकको नामबाट समेत चिनिएका छन् । बागलुङ्गका खगेन्द्र थापामगरले जसको उचाइ ६७.०८ सेन्टिमिटर मात्र छ विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । होचा व्यक्तिको मुलुक भएकाले होला यहाँका नेताहरुको शारीरिक बनावट मोटाघाटा भए पनि उनीहरुका सोच होचा छन् । सहमति गर्नुपर्ने कुरा सुनाउँछन् । जनताले सहमति गर्ने होइन सहमति उनीहरुले गर्ने हो तर सहमतिमा उनीहरु पुग्न सक्दैनन् । सहमति गरी मुलुकलाई निकास दिने नाममा तीन ठूला दलका ठूलाठूला नेताहरु गोप्य वार्तामा बस्छन् । पत्रकारहरुलाई समाचार संकलन गर्न निषेध गर्छन् । टिभीबाट हाइलाइट गरिएको समाचार आउँछ 'छलफल सकारात्मक तर निर्णयविहीन ।' के भनेको यो सहमतिबाट को प्रधानमन्त्री हुने मन्त्रिपरिषद् कस्तो बन्ने भन्ने खाका तयार भएपछि बाधक बन्दिन भन्ने माधवकुमार नेपाललाई राजीनामा दिएको दुई घण्टाभित्र समस्या हल हुन्छ भनिएको थियो । असार १६ गते राजिनामा दिई स्वीकृत भइसकेको प्रधानमन्त्री नेपालको सरकारले काम चलाउ भई काम गरिरहेको ६ महिना नाघिसक्यो तर व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री निर्वाचन गर्न सकेन ।

साधारणतया खेलको मैदानबाट खेल छाडेर खेलाडी बाहिरिन्छ भने रेपि्रुले मैदानमा खेल्न बसेका एक्लो खेलाडीलाई निर्विरोध विजेता घोषित गर्छ । तर संसदका रेपि्रु सभामुख सुवास नेम्वाङ्गले बाँकी रहेका एक्ला प्रधानमन्त्रीका उम्मेदार रामचन्द्र पौडेललाई विजेता घोषित गर्न सकेन । परिणामविहीन निर्वाचनको कुनै अर्थ हुँदैन आफ्नो उम्मेदारी फिर्ता लिनुस् भनी पौडेललाई फिर्ता गराउन पनि सक्नु भएन । आफू संसदको सभामुख मात्र होइन संविधानसभाका अध्यक्ष पनि भएकाले संविधान निर्माण गर्ने काम पनि गर्नुपर्छ । तसर्थ प्रमुख दलहरुबीच सहमति नभएसम्मका लागि भनी एक्ला उम्मेदवारको निर्वाचन स्थगित राख्न पनि सक्नु भएन । उल्टै एक दुई दिन बिराएर १६ पटकसम्म परिणामविहीन गाईजात्रे निर्वाचन गराइ रहनु भयो । संसदको नियमावलीअनुसार आफूले केही गर्न नमिल्ने भनी लाचारी व्यक्त गर्दै १७ औँ पटकको प्रधानमन्त्रीको निर्वाचन मंसिर १६ गतेलाई तोकियो । तर बजेट प्रकरणमा प्रधानमन्त्रीले मंसिर ३ गते नै संसदको अधिवेशन अन्त्य गराइदिनुभयो । सारा नेपालीको प्रतिनिधित्व गर्ने ६ सय जना संसदको सभामुखले संसद सचिवालयका कर्मचारीले तयार पारिदिएको विवरण पढेर निर्णय सुनाउने मात्र हो भने त्यत्रो पढेलेखेका कानुनका ज्ञाता ठूला व्यक्ति सभामुखको कुर्सिमा बस्नुको कुनै महत्व देखिएन । तसर्थ खगेन्द्र थापामगर जस्ता होचा व्यक्तिलाई त्यस कुर्सिमा राखिदिए पनि काम चल्ने देखियो ।

संसदबाट प्रधानमन्त्रीको चयन हुन नसक्नुको मुख्य कारण तीन ठूला दलबाट को प्रधानमन्त्री बन्ने भन्ने नै हो । सहमतिका कुरा गर्नेहरुले एउटालाई प्रधानमन्त्री बनाउने सहमति गर् यो भने त कुनै समस्या नै छैन । तर तीन वटै दलले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने त्यसमा अरुले सहमति गरिदिनुपर्ने अडानका कारण सहमतिको बिचल्ली भएको हो । जेष्ठ १४ गतेको राती संविधानसभाको म्याद थप गर्दा भएको तीन बुँदे सहमतिमा दुईवटा बुँदा पूरा भयो तर माओवादीले पूरा गर्नुपर्ने बुँदा सात महिना बितिसक्दा पनि बाँकी नै छ । अब त्यो बुँदा पूरा नगरीकनै प्रचण्डलाई प्रधानमन्त्री बनाउने हो भने त्यो तीन बुँदे सहमतिको अर्थ नै के रह्यो तसर्थ काँग्रेस र एमालेले जबसम्म लडाकु समायोजनको काम हुँदैन र हतियार त्याग गर्दैन तबसम्म माओवादीको नेतृत्व स्विकार्य छैन भनि आएका छन् ।

तसर्थ माओवादीको सरकार त बन्ने नै भएन । एमाले अध्यक्ष झलनाथ खनाललाई जब आफू प्रधानमन्त्री बन्ने रहर थियो भने उनले उम्मेदारी दिनुभन्दा पहिले नै काँग्रेससँग छलफल गरी सहमति गर्नुपर्ने थियो । किनभने त्रिशंकु संसद भएकाले बहुमतबाट निर्वाचित हुनका लागि एकले अर्कोलाई सर्मथन गर्नुपर्ने अवस्थामा काँग्रेसले पनि उम्मेदारी दिएपछि दुई तिहाइको पासो थापेर एमाले अध्यक्ष खनाल निर्वाचनको प्रतिस्पर्धाबाट अलग्गिनु भयो । यही रिस साध्न एमालेले मतदानमा भाग नलिई तटस्थ बसिदिएकाले लोकतन्त्रमा संसदीय निर्वाचन प्रणाली परिणामविहीन बन्न गएकाले विश्वकोसामु नेपाल उपहासको पात्र बन्न पुग्यो ।

यसरी सात महिनादेखि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन नसक्दा वा अध्यक्ष खनाल प्रधानमन्त्री हुन नसके पनि एमालेकै माधवकुमार नेपालले काम चलाउ भए पनि काम चलाइराखेकाले एमाले पार्टीको दुवै हातमा लड्डू छ । त्यस्तै कामचलाउ प्रधानमन्त्री भएको हुँदा आफूलाई मन नपर्ने र आफ्नो स्वार्थसिद्ध नहुने काम भएपछि काम चलाउको कारण देखाई नगरे पनि हुन्छ । दलगत र व्यक्तिगत स्वार्थ पूर्ति हुने भए जे गरे पनि बाध्यतावश गर्नु परेको जवाफ दिन पाइएकाले उनको पनि दुवै हातमा लड्डु नै लड्डु छ । उदाहरणका लागि मुलुकको संवेदनशील अवस्थालाई विचार नगरी राष्ट्रपति सभामुख दलका नेताहरु र सभासदका आग्रहलाई बेवास्ता गरेर काम चलाउ प्रधानमन्त्री सरकारी खर्चमा एसियाली राष्ट्रका राजनीतिक दलको सम्मेलनमा एमालेको तर्फबाट कम्बोडियामा भाग लिन जानु भयो ।

आफ्नो पदीय दायित्व सुविधा हक प्रतिष्ठाको बदनियत तरिकाले प्रयोग गरी फाइदा लिनु राजश्वमा हानी पुर् याउनु जस्ता कार्यलाई भ्रष्टाचार भनिन्छ । तसर्थ एमाले नेताका रुपमा आमन्त्रण गरेको पार्टीको कार्यक्रममा प्रधानमन्त्रीले सरकारी ढुकुटीको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यस्तो निकृष्ट अपवित्र दूषित दुश्चरित्र कार्य गर्नेहरु भ्रष्टाचारी हुन्छन् । मुलुकको भाग्य र भविष्यबारे चिन्तित हुनुपर्ने प्रधानमन्त्रीले देश र जनताको हितका लागि होइन नितान्त दलगत तथा व्यक्तिगत स्वार्थबाट प्रेरित भई विदेश भ्रमण गर्दा पनि कसैले केही गर्न सक्दैन । यस्तै दूषित वातावरणका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै अख्तियारको दुरुपयोग गर्दैछन् । वर्तमान प्रधानमन्त्रीले जति भ्रष्टाचार गरे पनि हुन्छ किनभने 'भ्रष्टाचारी प्रधानमन्त्री राजीनामा देऊ' भनी बन्द हडताल गर्न पनि व्यर्थै छ किनभने उनी राजीनामा स्वीकृत गराईबसेका प्रधानमन्त्री हुनुहुन्छ ।

१२ बुँदे समझदारीअनुसार संविधानसभाको निर्वाचन सम्पन्न भइसकेकाले माओवादीको सशस्त्र शक्ति र नेपाल सेनालाई राष्ट्रसंघको सुपरीवेक्षणमा राख्नुपर्ने औचित्य समाप्त भएकाले नेपाल सरकारलगायत सबै राजनीतिक दलले पुस मसान्तपछि अनमिनको म्याद नथप्ने निर्णय गरी राष्ट्रसंघलाई जानकारी गराइसकेको अवस्थामा पनि माओवादी नेताहरु म्याद थपका लागि राष्ट्रसंघमा पत्र पठाए । त्यस्तै माओवादीले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गरेमा अनमिनको म्याद थप गर्न काँग्रेस तयार भएको बताए । कस्तो होला ! पौडेललाई प्रधानमन्त्री बनाए अनमिनको म्याद थप्न हुने अन्यथा नहुने !

संसदमा झण्डै छ महिनादेखि जारी प्रधानमन्त्रीको निर्वाचन प्रकि्रया सत्रौं पटकमा आइपुग्दा प्रधानमन्त्री माधवकुमार नेपालको अनुरोधमा रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता भएपछि प्रधानमन्त्रीको चयन नै नगरी पुष २८ गतेदेखि अन्त्य भयो । अब प्रधानमन्त्रीको निर्वाचन नयाँ प्रक्रियामा प्रवेश गरेपछि फेरि राष्ट्रपतिले संविधानको धारा ३८ (१) बमोजिम सहमतिको सरकार निर्माण गर्न दलहरुलाई आह्वान गर्नु भएकॊ छ । यसरी मुलुक फेरि छ महिना पछाडि साउन ५ गतेकै अवस्थामा फर्केको छ । साथै तीनै दलका नेताहरुको आ-आफ्नो अडान पनि यथावत् नै रहेकाले फेरि पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउनेमा अन्योल देखिएको छ । यी होचा नेताहरुका होचा सोच र क्रियाकलापका कारण मुलुकको राजनीति नै होचिएकाले देश संकटग्रस्ट अवस्थामा छ ।


Post a reply

Related Stories
होचा नेता, होचा सोच र होचिएको राजनीति

More Stories Like this
ट्राफिक प्रशासनको ज्यादतिपुर्ण ब्यवहार
भाषा बाँचे जाति बाँच्छ
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेवारभाषामा संवोधन
१२ बुँदे समझदारीको मूल्याङ्कन
फेरि झापड हान्न नपरोस्

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com