Welcome, Guest Log In Sign Up  

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध

rajuby raju
Tue Jan 22, 2008 2:57 pm NST

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको देशव्यापी विरोध भएको छ । काठमाडौंका अधिकांश क्याम्पस अगाडि विद्यार्थीले विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौंको पशुपति अस्कल आरआरलगायतका क्याम्पसमा विद्यार्थीहरुले मूल्यवृद्धिका विरुद्ध नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् । क्याम्पसबाहेक विभिन्न चोकमा पनि प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा केही ठाउँमा विद्यार्थी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

विद्यार्थी मात्र होइन सर्वसाधारण पनि मुल्यवृद्धिको विरोधमा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिरहेका छन् । मूल्यवृद्धिको विरोधमा गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाका यातायात अवरुद्ध भएको छ । काठमाडौंका रत्नपार्कमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले १० राउन्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । पुरानो बसपार्कमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि अश्रुग्यास प्रहार गरिएको हो । प्रदर्शनकारीले चारैतिर प्रहरीलाई घेरा हाली ढुंगाप्रहार गरेका थिए । ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई नियनत्रण गर्न खोजेको थियो । तर नियन्त्रण गर्न सकेन । झडपमा केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।

काठमाडौंको नक्साल हात्तीसार कमलपोखरी पुतलीसडक बागबजारलगायतका क्षेत्रका मुख्य चोकमा प्रदर्शनकारीले मूल्यवृद्धिको बिरोधमा नाराजुलुस गरेका छन् । त्यस्तै पशुपति, अमृत साइन्स, आरआर शंकरदेवलगायतका क्याम्पसका विद्यार्थीहरुले मूल्यवृद्धि विरुद्ध नाराबाजी गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

मूल्यवृद्धिको बिरोध गरिरहेका बेला हात्तीसारमा जलस्रोत मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गाडिलाई प्रहरीले बल प्रयोग गरी स्कर्टिङ गरेपछि प्रदर्शनकारी झनै आक्रमक भएका थिए । सरकारले संविधासभाको चुनाव नजिकिदै गएको बेला मूल्यवृद्धि गरेको भन्दै सरकारले संविधानसभाको चुनाव गर्न नचाहेको प्रदर्शनकारीले आरोप लगाएका छन् । प्रर्दशनकारीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीको राजीनामा माग गर्दै संसद् र सात दलको तीब्र आलोचना गरेका छन् ।

यस्तै बिहानैदेखि चोक गल्लि तथा सडकमा आगो बालेर विद्यार्थी ब्यापारी तथा सर्वसाधारणले मूल्यवृद्धिको बिरोध गरेका छन् । सात राजनीतिक दल नेता तथा सरकार जनताप्रति उत्तरदायि नभएको भन्दै उनीहरुले सरकार विरोधी नारा लगाएका छन् । चुनावको मुखमा सांसदलाई दशलाख बाँड्ने तर जनतालाई मूल्यबृद्धिको भारी बोकाउने सरकार नालायक भएको उनीहरुको भनाइ छ ।

यसैबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विराटनगरका व्यवसायी नागरिक र मजदूरहरुले आज विराटनगर बन्द गरेका छन् । विराटनगरका सर्वसाधारण सडकमा निस्किएर मूल्यवृद्धिको विरोध गरेका छन् । विराटनगरका मुख्य सडक र चोकहरुमा टायर बालेर उनीहरुले यातायातका अवरोध पुर् याएका छन् । यस्तै पाल्पा इटहरी नेपालगन्ज पोखरालगायतका शहरहरुमा पनि विरोध प्रदर्शन भइरहेको स्थानीय सहकर्मीहरुले जनाएका छन् ।

सरकारले गएराति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धि गरेको हो । जस अनुसार डिजेलमा पाँच रुपैयाँ मट्टितेलमा १० रुपैया र ग्याँसमा प्रतिसिलिण्डर एक सय ५० रुपैयाँ मूल्यबृद्धि गरिएको छ । मूल्यवृद्धिअनुसार डिजेल र मट्टितेलको मूल्य एकै बनाइ प्रतिलिटर ६१ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ग्यासको प्रतिसिलिण्डर १२ सय ५० बनाइएको छ । विगत तीन महिनाको अवधिमा सरकारले गरेको यो तेस्रो मूल्यवृद्धि हो ।

इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्न अर्थ मन्त्रालयले ऋण दिँदा मूल्य समायोजन गर्नुपर्ने सर्त राखेकाले मूल्यबृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । उता उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री श्यामसुन्दर गुप्ताले कि आयल निगम बन्द गर्नुपर्ने कि मूल्य समायोजन गर्नुपर्ने विकल्पमध्ये मूल्य समायोजन गर्ने विकल्प रोजिएको बताउनुभयो ।


Post a reply

Recent Features
टेस्टट्युब बेबीका आविष्कारकको निधन
भारतमा बढ्दैछ हिन्दु चरमपन्थीहरु
पश्चिमेली जनता भन्छन् - "सभासद् जी घर फर्क"
देशविदेशका दस जनालाई नइ पुरस्कार
बिष्णु सक्वको निधन


News Feed

Add to Windows LiveAdd to My Yahoo!XML


Archives 2011
Archives 2010
Archives 2009
Archives 2008
Community
Useful Links


Copyright © 2012 by Sanchar Nepal (P) Ltd.
Email: info {at} sancharnepal {dot} com