३ नम्बर प्रदेशको नाम नेपालमण्डल नै उपयुक्त !

डा. अजय क्रान्ति शाक्य

ऐतिहासिकता
स्वयम्भू पुराणको आधारमा राजा धर्माकरले नियमपूर्वक पालेको (राज्य चलाएको) हुनाले त्यो देशको नाम ‘नेपालमण्डल’ रहन गएको हो भन्ने धारणा छ । ‘नेपालमण्डल’ शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको करिब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इस्वीको तेस्रो शताब्दीतिरको मानिने आर्य महामञ्जुश्री मूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं.५०२÷५०३ मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख भएको छ । यसर्थ ‘नेपालमण्डल’ लिच्छवी राजा मानदेव अघिदेखि नै उल्लेख भएको तथ्य इतिहासको प्रमाणका आधारमा बुझ्न सकिन्छ ।

यस्तै, नेपालमण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको इस्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । पछि ‘नेपालमण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरूमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारी केरुङ (हाल प्राप्त) र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । तसर्थ, वर्तमान संघीय संरचनाअन्तर्गतको प्रदेश ३ मा पर्ने भूगोल ऐतिहासिक हिसाबले पनि नेपालमण्डल नै हो ।

पृथ्वीनारायण शाहले गोरखाराज्य विस्तार गरी अरू राज्य यसमा गाभिँदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेका छन् । उनले र उनका सन्तानले देशको नाम ‘गोरखा’ मानेका छन् र राणाकालसम्म सो नामले औपचारिकता पाइरह्यो । पृथ्वीनारायण शाहको पालामा उनको विस्तारित नेपाल अधिराज्यमा तीनवटा प्रदेश थिए – चौबिसी राज्यका कतिपय भाग, नेपालमण्डल, पूर्व र दक्षिणको सेनराज्य (किराँत) ।भूगोलनेपालमण्डलको उचाइ भूगोलअनुसार हिमाली क्षेत्र (लाङटाङ, जुगल, गणेश हिमाल, गौरीशंकर आदि), पहाडी क्षेत्र (महाभारत पर्वत शृंखला), र भित्री मधेस (चुरेपर्वत शृंखला) सम्मिलित भई विविध वातावरणीय
सम्पदायुक्त छ ।

सोहौं शताब्दीतिर लेखिएको ‘नेपाल महात्मय’ को अध्याय १५ श्लोक ३–५ मा उल्लेख भएअनुसार ‘नेपालमण्डल’ को सिमाना पूर्वमा कौशकी (तामाकोशी, रामेछाप), पश्चिममा त्रिशुलगंगा (त्रिशुली, धादिङ र नुवाकोट), उत्तरमा शिवलुति (गोसाइँकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ । मल्लकालसम्म आउँदा ‘नेपालमण्डल’ भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरू क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् । यी पाँचवटा राज्यभित्र अहिलेको प्रदेश ३ को १३ जिल्लामध्ये १२ जिल्ला पर्छन् । ती १२ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन् र बाँकी चितवन जिल्ला पनि यक्ष मल्लको पालादेखि नेपालमण्डलभित्रै पर्दथ्यो ।

यसरी भूगोलको आधारमा हेर्दा नेपालमण्डल भनेको काठमाडौं उपत्यका मात्र होइन । प्रदेश ३ को सम्पूर्ण भूगोल नै पर्छ । त्यसैले पनि भूगोलको आधारमा ‘नेपालमण्डल’ नाममा सबैको अपनत्व आभास हुन्छ । वास्तवमा नेपालमण्डल भनेको नै प्रदेश ३ हो । त्यसैले म काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायलाई के अनुरोध गर्न चाहन्छु भने, ‘कृपया ‘नेपालमण्डल’ नाम उपत्यकावासीको मात्र हो भनेर भ्रम छर्ने प्रयास नर्गनुस् ।’ यो प्रदेशमा रहेका सम्पूर्ण जनताको साझा नाम हो यो । सबैले अपनत्व पाउन सक्ने नाम नै ‘नेपालमण्डल’ हो ।

नेपालमण्डल भनेको एउटा सभ्यता हो। यसले व्यापक अर्थमा अधिकांश विषयको प्रतिनिधित्व गर्छ। त्यसैले पनि वर्तमान प्रदेश ३ को नाम व्यापक अर्थबोध गर्ने ‘नेपालमण्डल प्रदेश’ नाम छ“दाछ“दै बाग्मती प्रदेश तथा अन्य अञ्चलको नाम राख्नु खासै उपयुक्त हु“दैन

जनसंख्या
नेपालमण्डल वर्तमान प्रदेश ३ मा बसोबास गर्ने परम्परागत जाति विशेषको आदि थलो हो । यहाँ चारैतिरबाट आई बसेर एक अर्को जाति द्रवित (मेल्टेड) भएका एक बेग्लै नेवार समुदाय बन्यो । लिच्छविकालमा तिब्बतको चाङ प्रदेशबाट आई नेपालमण्डलको वरिपरि रहेकाहरू संज र संजबाट अप्रभंश भई पछि नेवारी भाषामा ‘सँय’ भन्ने गरियो र चाङ प्रदेशबाट आएकाहरू आफंैले भने ताङ र पछि तामाङ भन्ने गरियो । तामाङहरू झन्डै १५ सय वर्ष अघिदेखि नेपालमण्डलमा बसोबास गर्दै आइरहेका आदिवासी हुन् ।

नेपालमण्डलका नेवार र तामाङबाहेक मल्लकालमा नेपालमण्डल आई बसेका खस आर्य, ब्राह्मणहरू पनि यहाँका आदिवासी हुन् । यस्तै, दोलखाका थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँका आदिवासी हुन् । यस्तै शाह, राणालगायत ५ सय वर्षअघि यहाँ बसोबास गर्दै आइरहेका मुसलमान समुदाय पनि यहाँका आदिवासी हुन् । वर्तमान समयसम्म आउँदा यहाँ सयौं वर्षदेखि बसोबास गर्दै आइरहेका विभिन्न जातजातिका मानिसहरू सबै यहाँका सम्मानित नागरिक हुन् ।

पहिचान
‘नेपालमण्डल’ नामले वहुपहिचान स्थल भन्ने पनि बुझाउँछ । यहाँ रहेका मानिसहरूको सभ्यता भनेको नै नेपालमण्डलको सभ्यताको रूपमा रहेको छ । नेपालको धेरैजसो धार्मिक–सांस्कृतिक पूजाआजा गर्दा ‘नेपालमण्डल’ को उच्चारण गर्ने गरिन्छ । नेपालमण्डलमा कुनै पनि व्यक्तिको चिना लेख्दा ‘आर्यावत्र्त हिमवत्खण्ड्य नेपालमण्डल देशीय ..’ भनेर लेख्ने गरेको पाइन्छ । ‘नेपालमण्डल’ शब्द सामाजिक सांस्कृतिक क्रियाकलापमा उल्लेख गरेको पाइएकाले नेपालमण्डल शब्दले यहाँको जनताको सामाजिक सांस्कृतिक पहिचान बोकेको स्पष्ट हुन्छ ।

बज्राचार्यहरूले नेपालमण्डलभित्र तीन चक्र (चित्तचक्र, वाकचक्र र कायचक्र) भित्रको २४ पीठ रहेको विश्वास गरी बज्राचार्यत्व प्राप्तिका लागि एक वर्षसम्म पीठसेवा जाने परम्परा अद्यापि कायमै छ । ती तीनवटा चक्रहरू जुन संगठित रूपमा हेर्ने हो भने एउटा वृहत् ‘मण्डल’को स्वरूप तयार भएको देख्न सकिन्छ । इन्द्रचोकको आकाश भैरव अगाडि रहेको कान्तेश्वरलाई मध्यभाग मानी नेपालमण्डललाई तीनवटा चक्रसहितको मण्डल आकारमा नेपालमण्डलको भूगोल बनाएको पाइन्छ र ती २४ पीठमध्ये अन्तिम आठवटा पीठले ‘नेपालमण्डल’ को चार सिमानालाई किटान गरेको देखिन्छ ।

यस्तै, नेपालमण्डललाई धार्मिक हिसाबले शैवहरूले हिमवतखण्डमा चतुष्ठी शिवलिंग स्नानयात्रा गर्दा नेपालमण्डलको आठवटा जिल्ला परिक्रमा गर्छन् । यस्तै, शाक्तहरूले २७ ‘नेपालमण्डली पीठ’ को चार आवरण (मण्डल)मा आवद्ध गरिएको छ । यसरी धार्मिक सांस्कृतिक रूपमा पनि नेपालमण्डलले यहाँभित्र रहेको हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पहिचान गाँंसिएको छ । यसैले बाग्मती प्रदेश, नेवा–ताम्सालिङ प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, नारायणी प्रदेश तथा अन्य नामभन्दा प्रदेश ३ को नाम ‘नेपालमण्डल प्रदेश’ नै उत्कृष्ट हो ।

बाग्मती र नारायणी प्रदेशको सन्दर्भमा
बाग्मती नदीको उद्गमस्थल वागद्वार शिवपुरी डाँडा हो भने यो नदी कुरुवा (नेपाल भाषामा) दक्षिणकालीको पछाडिसम्म मात्र बाग्मती नदीका रूपमा रहेको छ । काठमाडौंमा बाग्मती मात्र होइन, विष्णुमती नदी पनि छन् । यस अलावा अन्य नाम गरेको विभिन्न प्रख्यात नदीहरू छन् । त्यसैले पनि बाग्मती नदीको नाममा प्रदेशको नाम राख्दा यसले सबैको अपनत्व महसुस गर्न सक्दैन । यो नामले अधिकांश जनताको भूगोल, इतिहास, पहिचान समेट्न सक्दैन । पञ्चायतकालीन १४ अञ्चलमध्ये एउटा अञ्चल बाग्मती हो । बाग्मती अञ्चलमा जम्मा आठवटा जिल्लामात्र पर्छन् । यसबाहेक यहाँ रहेका अन्य जिल्ला नारायणी अञ्चलमा पनि पर्छन् । तसर्थ, नारायणी प्रदेश किन नराख्ने ? भनेर पनि प्रश्न उठ्न सक्छ । त्यसैले सबै प्रदेशहरू नै अञ्चलको नाममा राख्ने कुरालाई विज्ञहरूले तथा त्यहाँका जनताले रुचाउँछन् जस्तो लाग्दैन ।

नारायणी प्रदेशले मकवानपुर, चितवन जिल्लाहरू मात्र समेट्छ अरू जिल्लाहरू अरू नै प्रदेशमा पर्दछन् त्यसैले पनि यो नाम सबैको स्वीकार्य नाम हुन सक्दैन । नेपालमण्डल भनेको एउटा सभ्यता हो । यसले व्यापक अर्थमा अधिकांश विषयको प्रतिनिधित्व गर्छ । त्यसैले पनि वर्तमान प्रदेश ३ को नाम व्यापक अर्थबोध गर्ने ‘नेपालमण्डल प्रदेश’ नाम छँदाछँदै बाग्मती प्रदेश तथा अन्य अञ्चलको नाम राख्नु खासै उपयुक्त हुँदैन ।

अन्य नामावलीको सन्दर्भमा
प्रदेश ३ को नाम नेवा–ताम्सालिङ प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्रीपत्तन प्रदेश, काष्ठमण्डप प्रदेश, नारायणी प्रदेश आदि जे राखे पनि ती नामहरूले ‘नेपालमण्डल प्रदेश’ नामले जति ऐतिहासिकता, भूगोल पहिचान, जनसंख्याको प्रतिनिधित्व गर्न सक्दैन । ‘नेपालमण्डल प्रदेश’ सबैलाई चित्त बुझाउन सक्ने नाम बन्न सक्छ किन कि यो नाम मध्यमार्गी नाम हो । नेपालमण्डल प्रदेश नाम हुँदा यसले १३ जिल्लाको जनताले अपनत्व बोध गर्न सक्ने हुन्छ । उनीहरूको धार्मिक–सांस्कृतिक–सामाजिक पहिचानको सम्बोधन गर्दछ । सम्पूर्ण प्रदेशका जनताको भूगोलको प्रतिनिधित्व गर्दछ । पौराणिक कालदेखि वर्तमान समयसम्मको ऐतिहासिक गरिमाको उजागर गर्दछ । तसर्थ, पनि प्रदेश ३ को नाम ‘नेपालमण्डल प्रदेश’ सबैभन्दा उपयुक्त र उत्कृष्ट नाम हुन सक्छ । राजधानी दैनिकबाट