"शंखधरया बाखं" को म्यूजिक भिडियो नेपाल, अमेरिका र बेलायतबाट सार्वजनिक

नेपालको पहिलो एनिमेशन चलचित्र शंखधरया बाखं (शंखधरको कथा) को म्यूजिक भिडियो नेपाल, अमेरिका र बेलायतबाट एकैसाथ सार्वजनिक गरिएको छ ।

आइतवार काठमाडौंको माइक्रोसफ्ट इनोभेनशन सेन्टरमा चलचित्र लेखक र निर्देशक संयुक्त श्रेष्ठका पिता शम्भु श्रेष्ठबाट म्यूजिक भिडियो सार्वजनिक भएको थियो । कार्यक्रममा बोल्नु हुँदै शताव्दी पुरुष डा. सत्यमोहन जोशीले चलचित्रको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा नेपालभाषा मंकाः खलःका सचिव नरेशवीर शाक्य, माइक्रोसफ्ट इनोभेशन सेन्टरका एलेन वैलोचन तुलाधर, चलचित्रका एनिमेटर नियुक्त श्रेष्ठ, कलाकार मदनदास श्रेष्ठ, दर्शनवीर शाक्य, रमेशकुमार श्रेष्ठ, निशा देसार, रत्नकाजी महर्जन, पुष्कर माथेमा, श्यामकृष्ण मानन्धर, हरिकृष्ण श्रेष्ठ र जुजुकाजी रञ्जितले आआफ्नो विचार पोख्नु भएको थियो । चलचित्रका लेखक र निर्देशक बेलायतका संयुक्त श्रेष्ठसँग प्रत्यक्ष अन्तरक्रिया पनि सम्पन्न भएको उक्त कार्यक्रम पवित्र कसाःले संचालन गर्नुभएको थियो ।

shankhadhar-music-video-release-uk

बेलायतको लण्डनमा किङस कलेजमा पासा पुचः गुथि यूकेको आयोजनामा भएको कार्यक्रममा नेवारहरुको अग्रज संस्था च्वसापासाका सत्यभामा माथेमाले म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको थियो । चलचित्रका लेखक र निर्देशक बेलायतका संयुक्त श्रेष्ठले चलचित्र निर्माणबारे आफ्नो मन्तव्य राख्नु भएको कार्यक्रममा मतिना फाउण्डेशनका शशि महाजु, प्रो डेभिड गेल्नर, पासा पुचः गुथि यूकेका बोर्ड अध्यक्ष महन्त श्रेष्ठ, गुथिका उपाध्यक्ष ओजेश सिंह र सहसचिव प्रीति कक्षपतिले आआफ्नो विचार राख्नुभएको थियो ।

shankhadhar-music-video-release-us

संयुक्त राज्य अमेरिका वाशिङटन डिसीको आर्लिङटन लाइब्रेरीमा नेवाः अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा सम्पन्न कार्यक्रममा अर्गनाइजेशनका संस्थापक सदस्य हरिमान श्रेष्ठले शंखधर र नेपाल संवतका विषयमा प्रकाश पार्नुभएको थियो । अर्गनाइजेशनका अध्यक्ष रामलाल श्रेष्ठ र सचिव पुष्कर प्रजापतिलगायतका वक्ताहरुले बोल्नुभएको उक्त कार्यक्रममा निर्देशक संयुक्त श्रेष्ठसँग प्रत्यक्ष अन्तरक्रिया पनि सम्पन्न भएको थियो ।

यस म्यूजिक भिडियोको विश्वव्यापी सार्वजनिकीकरण इम्प्याक्ट प्रडक्सनका आलोकसिद्धि तुलाधर (नेपाल), पासा पुचः गुथि यूकेको ओजश सिंह, नेवाः अर्गनाइजेशन अफ अमेरिकाका डा. रोशनलाल श्रेष्ठ र पुष्कर प्रजापतिको संयोजनमा सम्पन्न भएको बताइएको छ । नेपाली र नेपालभाषामा निर्माण भएरहेको यस चलचित्रमा अंग्रेजी सबटाइटल सहित नेपाल संवत् ११३७ नव वर्षमा सार्वजनिक हुने भएको छ । संयुक्त श्रेष्ठको लेखन, निर्देशन, निर्माण र एनिमेशन रहेको यस चलचित्रमा अञ्जना श्रेष्ठ, नियुक्त श्रेष्ठ, विज्ञान प्रजापति, प्राञ्जल कक्षपतिको एनिमेशन देख्न सकिन्छ । विश्व शाही र गंगा थापाको संगीत, निशा देसारको श्वर रहेको चलचित्रको गीतमा लेखन संयुक्त श्रेष्ठ स्वयंको रहेको छ । चलचित्रमा नृत्य निर्देशन सुनिता राजभण्डारी 'जुनु' को रहेको छ भने सुभाषराम प्रजापति र सुनिता जुनु भाषिक परामर्षदाताका रुपमा रहेका छन् ।

सार्वजनिक म्यूजिक भिडियो